नेपालको पहिलो आदिवासी द्यःला
को हुन् द्यःला ?
नेपाल जातीय विविधता र उपजातिहरुको समिश्रण भएको देश हो । त्यसमाथि पनि नेवार समुदायभित्रको जातिगत संरचना र विविधता एकआपसमा जेलिएको छ । नेवारहरु नेपालका आदिवासी-जनजाति हुन् । यही नेवार समुदायकै एक उपजातिका रुपमा द्यःला समुदायको अस्तित्व रहेको छ ।
विगतमा यस समुदायलाई अछुत मानेता पनि त्यही समुदायलाई विभिन्न मन्दिरहरुमा पुजारी वा संरक्षक मानिएको पाइन्छ । विभिन्न मन्दिरमा विनारकम सुँगुर, हाँस, माछालगायत बुझाउनुपर्ने व्यवस्थासँगै जात्रामा लिंगो व्यवस्था गर्ने लगायतका महत्वपूर्ण जिम्मेवारी दिएको बाट यिनीहरुलाई अछुत वा दलित भन्न मिल्ने कुनै आधार देखिँदैन ।
नेवार समुदायमा जातीय विविधता रहेबाट नेपालको इतिहासमा द्यःला जातिहरु कहिलेबाट आए भन्ने कुनै प्रमाण छैन । मानवशास्त्रीका दृष्टिले पहिलो आदिवासीहरु नदी छेउछाउ वा पानीको दायाँ वायाँ बस्ने जाति भनिएको आधारमा आजका द्यःलाहरु नै नेपालको पहिलो वा सबैभन्दा पुरानो आदिवासी जनजाति नेवार भनी मान्न सकिने नेपाल भाषाका प्रध्यापक तथा राश जोशीले आफ्नो पुस्तक ‘नेवाः समाजय् द्योःला’ नामक पुस्तकमा उल्लेख गरेका छन् ।
उसो त चिनियाँ यात्री हुयन साङ, फाहृयान को यात्रा डायरी र कौटिल्यको अर्थशास्त्र मा उल्लेख भएको चाण्डालसँग यिनीहरुको तुलना गरिएता उल्लेखित चाण्डालहरुको जीवन शैली र समाजमा रहेको भूमिकामा आकाश र जमीनको अन्तर पाइन्छ ।
नेवारी समाजमा अहिलेको कथित दलित समुदायसंग द्यःलाहरुको जीवनशैली र भूमिका एक अंश पनि मिल्दैन । द्यःलाहरुले भक्तपुर, बनेपा काठमाडौ पनौति लगायतका स्थानमा विभिन्न मन्दिर तथा पीठहरुमा पुजारी, संरक्षक र देवदेवीका गहनालगायतका सामग्रीहरुलाई स्याहार सम्भार गर्ने जिम्मा पाएबाट हिन्दु धर्म बर्णाश्रमा आधारित ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रको विभाजनमा यिनीहरु नपर्ने आधार प्रशस्त छन् ।
हालको कथित हिन्दु वर्णाश्रममा आधारित दलितले मन्दिरसम्म पनि प्रवेश पाउँदैनन् । अझ द्यःलाहरु र कथित उपल्लो तहका कतिपय मन्दिरका पूजाआजा र गुठीमा द्यःला वा द्यःपालासँग रहने गुठीका नाइकेले एकअर्काको जुठोसमेत खानै पर्ने संस्कार रहेबाट पनि द्यःलाहरु अहिलेको कथित दलित र प्राचीन शुद्र वा चाण्डाल नरहेको पुष्टि हुन्छ ।
जयस्थिति मल्लले असंगठित र अमार्यादित भएको समाजमा थीति बसाल्ने बहानामा पाँच मैथिल ब्राहृमण कीर्तिनाथ उपाध्याय लगायतको सहयोगमा जातीय व्यवस्थाको पुनःशुरुवात गरे । लिक्ष्वीकालमा प्रवेश गरेका ब्राह्मण, डुमलगायतका सनातन धर्म मान्ने जातिहरु नेपाल प्रवेशपछि यिनै द्यःलाहरुमा समागम वा मिश्रित भई कालान्तरमा लिच्छवीहरुसँग प्रवेश गरेका डुमकै श्रेणीमा राखिएको मान्न सकिन्छ । यसका आधारमा द्यःलाहरु यहाँका आदिवासी वा लिच्छवीहरुभन्दा पुराना बासिन्दा हुन् भन्ने आधार प्रशस्तै छ ।
नेवार वास्तु संरचनालाई मनन गर्ने हो भने यी द्यःला जातिहरु हरको सिरान वा छेउमा मूल ढोकाभन्दा बाहिर बसी नगर रक्षकको जिम्मा पाएका लडाकूहरु मानिन्छ । उनीहरुको विगतमा आफ्नै देश, राज्य भएको तर कालान्तरमा अन्य जातिले राज्य जितेपछि नेतृत्वहरुले आत्महत्या गरेको र बाँकी रहेकाले जीवनदान पाई अत्यन्त निम्न स्तरमा राखिएको अध्येताहरु बताउँछन् ।
कालान्तरमा काठमाडौं उपत्यकामा हरेक शासकहरु आउँदा पनि उनीहरुको जीवन शैली र राज्यले गर्ने विभेद तथा व्यवहारका कारण उही दर्जामै सीमित रहनु परेको नेपाल भाषा विज्ञ तथा पत्रकार नरेशवीर शाक्यको भनाइ छ ।
अहिले पनि द्यःलाहरुको जीवनशैली र संस्कारमा खासै परिवर्तन आएको छैन । यिनीहरुका घरझगडादेखिका द्वन्द्व साम्य पार्न पञ्च समुच्यवीच बहस भई न्याय निसाफ गर्ने परम्परा अझै कायम छ । यसलाई उनीहरु आफ्नो राज्यसत्ता गुम्नुअगावैको राजकीय परम्परा संस्कार मान्दछन् ।
भक्तपुर जिल्लाको सूर्यविनायक लगायतका मन्दिरमा द्यःलाहरु द्यपाला रहने परम्परा यद्यपि कायमै छ । काठमाडौमा तखती अजिमा, कंकेश्वरी, मैतीदेवी अनि ललितपुरमा महालक्ष्मी, चामुण्डा लगायतका मन्दिरहरुमा समेत द्यःलाहरु पुजारी हुने परम्परा यथावत छ ।
(लेखक फोनिज काठमाण्डौकी अध्यक्ष हुन , सामाजिक- सांस्कृतिक विषयमा कलम चलाउँछिन् )
लेखकले ६ महिना अध्ययन गरी तयार परिएको प्रतिबेदनबाट उद्रित