सिमा लामा
कोेरियाको बसाई तीन वर्ष पुग्यो । यो समयमा तीन कम्पनीमा काम गरेँ । ती काम गराईका अनुभव तीन जिन्दगीका अनुभव थिए । तीन जुगको अनुभव । तीन बर्ष अघिका मेरा सोचाइ तीन बर्ष अछि धेरै फेरिए । देश दुनियालाई हेर्ने नजरिया फेरियो । नातासम्वन्ध पनि फेरिए होलान् । कति गासिए पनि । आजकाल मैले त्यस्ता कुराको हिसाव राख्नै छाडेँ । हो, समयले मलाई फेर्यो । म फेरिएँ । कसैको लागि राम्रो भएँ हुँला कसैको लागि नराम्रो । सबै राम्रो त कथामा सुनिने देबीदेबता त हुदैनन् । म नाथे मान्छे कसरी हुन सक्छु र ?
काठमाडौको गल्लिमा कोरियाको कथा मैले पनि सुनेको हुँ । आज पनि उस्तै छ । मेरा कथा पनि कतै भनिदो हो कि ? राम्रै राम्रोको सफलताको कथा ? केही नभएको ‘हरितन्नम’ हामीले पढाउने ठाउँमा गाउँबाट ऋण काढेर पढ्न आयो । दिन भनेन । रात भनेन । कोरियनको कोरियन । पढेको पढेकै । ठ्याक्कै पास गर्यो । कोरिया गयो । पैसा कमायो । सहरमा घर बनायो । राम्रो खानदानीको घरमा नातासाइनो जोड्यो । छोराछोरी जन्मायो । राम्रै राम्रो गर्यो । कथा भन्नेले कहिल्यै मलाई दुःखका कथा सुनाएनन् । कहिल्यै पीडाका कुरा सुनाएनन् । त्यसैले कता कता मनमा कमाउने बिचार आयो । मन न हो । सहरमा केही गरेर देखाउने जाँगर चल्यो । कोरियाको भुत चढ्यो ।
छोरी मान्छेलाई बिदेश अहिले पनि राम्रो मान्दैनन् । घरपरिवार सबैका उस्तै हुन् । चिन्ता गर्छन् । मेरो परिवार पनि त्यही समाजका मान्छे हुन् । मैले परिवारलाई सम्झाएँ । पैसा कमाउछु । पठाउँछु ।
‘दुःख पाउँछेस ।’ बाले भने ।
कुन चाहि देशमा हामीले सुख पाएका छन् र ? अर्कोको देशमा गाह्रो हुन्छ । त्यो त सबैलाई थाहा छ नि । तर कमाउनको लागि केही दुःख त गर्न पर्यो नि । उल्टै मेलै बाआमालाई सँगै राखेर ‘लेक्चर’ दिएँ । शायद बाआमा खुशी भए होलान् । गर्ब नै गरे कि । यस्तो राम्रो छोरी भनेर । बाआमाका हामी दिदी बिहिनी मात्र छौ । घरको भार म थाम्छु । कति न के गरौला भनेर सम्झाएँ । बाआमाले मेरो कुरा पत्याए शायद । पढ्न दिए ।
पहिलो दिन कोरियन पढ्नलाई जाँदा मनको खुट्टा सउल तिर पुगेको थियो । झन इन्स्टिच्युटका भाषा पढाउने सरले थपथाप कथा सुनाए पछि कोरिया पुरै घुमेर काठमाडौको बंगलोमा आनन्दले निदाइरहेको थियो मन । चुलबुले मनलाई भाषा पढ्न लगाएँ । कहिल्यै कतै नसुनेको शब्दअर्थलाई बोल्ने प्रयास गरियो । मुखमा कस्तो असजिलो लाग्ने पटक पटक बोलियो । कहिल्यै नलेखेको भाषा लेखियो ।
पहिलो पल्ट सरले मेरो नाम कोरियन भाषामा लेखेर देकोथेँ । छक्क पर्दै हेरेँ । यस्तो पनि अक्षर होला र ? शंका लागेपनि रटेको रटेकै गरियो । शब्दार्थ पनि त्यस्तै । आफ्नो मनले त्यसको अर्थ अरु नै होला भन्ने लागे पनि रटेको रटेकै गरे पछि हो झै लाग्ने रैछ ।
नाम के हो ?
कति सालमा जन्मेको ?
कुन देशको ?
काम सजिलो छ ?
गाह्रो छ कि कस्तो छ ? आदिइत्यादी । एक महिनामै कोरियनको सामान्य भाषा बोल्न आयो ।
बाआमाले मैले भाषा पढ्न थाले पछि कहिल्यै कुनै कुरा सोधेनन् । कहिले कही मैले चर्को स्वरमा कोरियन भाषाकको शब्दार्थ घोक्दा आमा अचम्म मानेर हेर्थी । के के पढ्छे यो भनेर होला । पास गरे पनि ठीक नगरे झन ठीक भन्ने थियो बाआमाको चाल ।
……………………
पास भएको पहिलो लटमै उड्नेमा परियो । केटीहरुलाई कोरिया उड्न समय लाग्छ भन्थे । झन मेनुमा पास गर्ने त कहिले हो कहिले ? कति त जानै पाउदैनन् भन्थे । म शायद भाग्यमानी भएँ की ? इपियसको जाकेट टोपि लाएर एयरपोर्टमा पुग्दा धेरै लाज जस्तो डर जस्तो अनुभव भो । पहिलो पल्ट लामो फ्याइटको उत्सहा अर्कै थियो । इपियसबाट कोरिया पुग्नेले जस्तै मैले पनि ट्रेनिङ लिएँ । अझै मनमा डर थियो कम्पनी कस्तो हुने हो । गाह्रो त गाह्रै होला ?
साँघुरो गल्लिबाट यसो छिरेर गए पछि पुगिने पुरानो घरमा कम्पनी रहेछ । काम धोबीको अर्थात लुगा धुनु पर्ने सेथाक्सो । ठूलो मेसिनमा कपडा उचाल्ने, मेसिनै कपडा धुने काम केटाहरुको काम थियो । यता पनि मेरो देशमा झै केटाले गर्ने काम र केटीले गर्ने काम भन्ने चलन रहेछ ।
मेरो काम धोएर निस्किएको कपडालाई आइरन गर्नु, पट्याउनु र प्याक गर्नु थियो । काम यति छिटो गर्नु पर्ने कि सास फेर्ने फुर्सत नहुने । चार पाँच घन्टा काम गरे पछि थाकेर चुर । फिक्स डिउटी छैन । कहिले रातका ११ बज्छ । कहिले सात आठ । सार्बजानिक बिदाको समयमा काम गरेको पैसा पनि नदिने ।
बस्नको लागि पनि राम्रो ब्यवस्था थिएन । म र एक जना दिदी सानो कोठामा बस्थ्यो । ट्वाइलेट तीन तल्ला मुनी थियो । रातमा जान नै डरलाग्दो । तीन महिना कटे पछि कम्पनी छाड्नु पर्यो भन्ने लाग्यो । जता जाला जोगी भातै खाला ।
लेटर दिन गाह्रो माने पनि दियो ।
………………..
दोस्रो कम्पनीको काम ठीकै थियो । होङ माछाको मासु काट्ने । कोरियनका लागि एकदम मिठो परिकार भए पनि काम गर्ने ठाउँमा भने अचम्मको गन्ध आउने । सुरु सुरुमा त टाउकै दुख्ने गरि गन्हाउने । नेपाली दिदी बहिनी पाँच जना थियौ । रमाइलो वातावरण थियो ।
यो कम्पनीमा पनि केटाले र केटीले गर्ने काम छुट्याएको थियो । केटीले माछाको मासु काट्ने, भुँई सफा गर्ने, प्रयोग भएका भाँडाकुँडा सफा गर्ने काम गर्नु पर्ने । केटाहरुले बाहिरबाट आएको माछालाई कम्पनीमा स्टोर गर्ने । बक्साबाट झिकेर काट्नका लागि तयार पर्ने जस्ता काम गर्थे । तिनले गर्ने काम हामीले पनि गर्न सक्थ्यो तै पनि केटाले मात्रै गर्न सक्छ भन्ने चलन रहेछ ।
बजार जाँदा पनि कोरियनले होङको कम्पनीमा काम गर्ने हो ? भनेर सोध्ने । कम्पनी मात्र होइन कम्पनीमै बसे पछि मान्छे, कपडा सबैको गन्ध आउँथ्यो क्यारे ।
……………..
अहिले काम गरि रहेको कम्पनी खिमको कम्पनी हो । कोरियनहरुले भातमा बेरेर खाने खिम । काम सजिलै छ । अर्कै कम्पनीबाट रेडिमेड खिमका रोल आउँछ । मेसिनले नै काटेर सानो साइजमा बनाउँछ । मैले त्यही मेसिनले काटेर आएको साइजलाई मिलाउने बजारमा बिक्रिका लागि प्याक गर्ने ।
यो कम्पनीमा लगभग हामी केटीहरु मात्र छौ । यो काम शायद गाह्रो काममा पर्दैन कि ?
……………………….
यो तीन वर्षको तीन कम्पनीमा काम गरेका अनुभवहरु हुन् । यस्तै अनुवभ तंपाईहरुसँग पनि होलान् । महिला भएकैले कुनै काम गर्न नसक्ने कुनै सक्ने भन्ने हुँदैन । शारीरिक शक्तिले चाहि हुन्छ होला । अरु सबै हिसाबमा बराबरै छन् । आधा आकाशका रुपमा रहेको महिलालाई उचित अवसर प्रदान गर्ने हो भने गर्न नसक्ने केही छैन । गर्न सक्छन् । अन्तराष्ट्रिय महिला दिवसको सबैलाई सुभकामना ।