कोरियन लाइफ
‘जन्म, विवाह र मरण माथीबाटै भावीले तय गरेका हुन्छन् । हामीले चाहेर केही हुन्न भाग्यमा जे लेखेको छ त्यहि हुन्छ ।’ म सानै हुदा हजुरआमाको मुखबाट धेरै पटक सुनेकी थिएँ । ‘भगवानले नै जोडी मिलाइदिन्छन् रे ।’ त्यो बेला गाउँघरमा मागी विवाह गर्ने प्रचलनलाई भाग्यसँग दाँजिन्थ्यो । अझै पनि त्यस्तै छ । म मागी विवाहको विरोधी । भन्थें, ‘मत लभ म्यारिज गर्छु ।’ मान्छे गइसकेपछि आमाले रिसाउदै भन्थिन्, ‘अरुको छेउमा त्यस्तो भन्नुहुन्न नराम्रो सोच्छन् ।’ लाग्थ्यो, लभस्टोरी भएको कुनै फिल्म वा उपन्यास जस्तै होस् लाइफ । आफ्नो माया पाउन घरपरिवार र समाजसँग बिद्रोह गर्नुपरोस् । तर सोचे जस्तो कहाँ हुने रहेछ र ?
कहिल्यै नसोचेको कहिल्यै नदेखेको व्यक्तिसँग अचानक विवाह बन्धनमा बाँधिएँ मेरो एक्लो र छिनभरको निर्णयमा त्यो पनि विदेशीसँग । पहिलो पटक आफैले आफैंसँग सम्झौता गरें । न भाषा नै आउथ्यो न कोरियन संस्कार संस्कृतिकै ज्ञान थियो । कोरियनसँग विहे गर्नुको पछाडि कर, रहर वा वाध्यता केही थिएन थियो त खाली भाग्यको खेल । झुण्डिदै भएपनि एमएको पढाई गर्दै थिएँ, प्रतिष्ठित जागिर थियो । नामदामसहितको स्वतन्त्र लाइफ जिएकै थिएँ । किन आउनुपथ्र्यो कोरिया डाँडामाथिको जुन भइसकेकी एक्ली आमालाई छाडेर । उनै भावीको लेखा सम्झेर मन बुझाएँ । आमाले पनि सम्झाइन्, ‘छोरी मान्छेको भाग्य यस्तै हो मेरो चिन्ता नगर तिमारको जिन्दगी राम्रो होस् ।’
फरक भाषा, संस्कृति अनि फरक जीवनशैली र रहनसहन भएको मुलुकमा पहिलो पटक परिचित हुनु मेरो लागि चुनौतीपूर्ण अवश्य थियो । म यीनै चुनौतीहरुको सामना गर्दै नयाँ जिन्दगीको सुरुआत गर्दै थिएँ । अर्थात् मेरो दोस्रो जन्म हुँदै थियो । वास्तवमा हरेक महिलालाई दोस्रो जन्म लिन वाध्य बनाइन्छ । पहिलो जन्म उसको आफ्नो जन्मघर अनि दोस्रो जन्म विवाहपछिको पराइघर अर्थात् कर्मघर ।
सुरुमा भाषाको अभाव र खानपानको तालमेल नमिल्दा धेरै गाह्रो भएको थियो । बिचमा कताकता अंग्रेजी शब्द घुसाएर बोल्ने श्रीमानसँग भाषामा खासै समस्या परेन । तर अरु बोलेको मरे बुझिदन थिएँ । सबै भन्दा गाह्रो बच्चा बिरामी हुँदा हस्पिटलमा हुन्थ्यो । अनि बच्चाको (अरिनीचिब) प्लेग्रुप स्कुलमा । एकदिन बच्चाको स्कुलमा बुझाउनुपर्ने हेल्थरिर्पोटको लागि नजिकैको क्लिनिकमा गएँ । तीन पाना फर्म भर्न दियो । ‘म विदेशी, भाषा बुझिदन श्रीमान काममा जानुभएको छ’, डाक्टरले झर्किदै भन्यो, ‘यस्तो काम आमाले गर्ने हो त्यहि भएर यो अन्तराष्ट्रिय विवाह हुदैन भनेको ।’ पहिलो पटक अशिक्षित महशुस गरें । मन एकतमासले दुख्यो । घरमा आएर बेस्सरी रोएँ । क्यालेन्डरको रातो अंक ख्याल नगरेर स्कुल बिदाको दिन पनि छोरीलाई स्कुल पुर्याउथें ढोका बन्द हुन्थ्यो ।
घरमा भर्खरै सोलारपावर राखेको थियो । दिउँसो श्रीमानले फोन गरेर भन्नुभयो, ‘आज दिउँसो सोलारपावर चेक गर्ने मान्छे आउँछ घरमै बस् है’ एकैछिनमा ढोकामा बेल बज्यो । रजिष्टर्ड चिठि लिएर हुलाके दाईले उभिदै सोध्यो, ‘यो नामको मान्छेसँग तपाईको नाता के पर्छ ?’ मैंले बुझिन बाहिर कौसीमा लगेर सोलार पावर देखाएँ । हुलाकी दाई म अर्कै ग्रहबाट आएझैं गरी एकछिन घुरिरह्यो अनि अलि ठुलो स्वरमा सोध्यो, ‘यो नामको मान्छे को हो ?’ ‘आss मेरो श्रीमान्!’ ङिच्च हाँस्दै भने । उसले चिठी हातमा थमाउदै मेशिनमा साइन गर्न लगायो । एकपटक शिरदेखि पुछारसम्म हेरेर बाटो लाग्यो ।
अँ, एकछिन् है अर्को एउटा घटना पनि छ, म कोरिया आएको केही दिनमै होला घरमा चर्चबाट मान्छे आएका थिए । चाइनिज रेष्टुरेन्टबाट चाचाङम्यङ (कालो सस हालेको चाउमिन) मगाएको थियो । सबैजना खाएर निस्किए खाको प्लेट पनि श्रीमानले बाहिर निकालेर ढोका छेउमा राख्नुभयो । सोचें, फालेको होला हेरें प्लेट राम्रो र नयाँ नै थियो । यति राम्रो प्लेट किन फालेको होला भन्दै भित्र ल्याएर धोएर राखें । खाएको भाँडा लिन रेष्टुरेन्टबाट मान्छे पटकपटक आउदा पनि बाहिर नदेखेपछि फोन गरेछ । श्रीमानको फोन आयो । त्यो मान्छे भाँडा बोकेर र्मुमुरिदै निस्क्यो मैंले केही बुझिन एक्लै हाँसिरहें ।
भाषा नबुझ्दा र आफ्नो मनको कुरा व्यक्त गर्न नसक्दा मनमा गाँठो परेर उकुसमुकुस भए पनि कहिलेकाहीं फाइदा नै हुन्छ । अरुले जे भने पनि गाली गरेपनि नबुझेपछि रिस पनि उठदैन अनि के खाएर झगडा हुनु ? बरु अहिले चाँही अलिलि झगडा हुन्छ है । उखानै छ नि लोग्नेस्वास्नीको झगडा परालको आगो ।
मैंले प्रसंग किन जोड्न खोजें भने म विवाह गरेर कोरिया आउनुभन्दा अगाडिदेखि नै कोरियामा बिहे गरेर आएका नेपाली चेलीहरुले दुःख पाएको खबर नेपाली मिडियामा आइरहन्थ्यो । त्यसैले पनि कोरियनसँग विवाह गर्नेलाई त्यति राम्रो नजरले हेरिदैन थियो । म कोरिया जाने थाहा पाएर आफन्तले सम्झाउन थाले । साथीहरुले कुरा काटे । धुमधामले विहे गर्ने रहर थियो तर लाज शरम या के सोच्लान भन्ने डरले कसैलाई निम्ता गर्न सकिन । कोरिया आएको थाहा पाउनसाथ कोरियामा रहेका साथीभाईहरुले भाग्ने सल्लाह दिए । कोरियनसँग बिहे गरेका केही दिदीबहिनीहरुबाहेक आफ्नै गाउँले र अन्य चिनजानका साथीहरुबाट टाढा रहें कारण त्यहि डर, लाज र हिनताबोध । कहिलेकाही लाग्थ्यौ कोरियनसँग विवाह गरेर ठुलै अपराध पो गरिए छ कि क्या हो ।
कोरियन नागरिकसँग विहे गरेर आएका दिदीबहिनीहरुसँग सम्पर्क बढ्दै गयो । भेटघाट गर्ने कुराकानी गर्ने क्रममा त्यस्ता पिडित महिलाहरु एकजना पनि भेटिन । बरु कोरिया आउनसाथ भाग्ने एकदुई जना बहिनीहरुलाई भेटें । कोरियनसँग विवाह गरेर आएका अधिकांश दिदीबहिनीहरु आफ्नो सफल दाम्पत्त जीवन जिउनुका साथै नेपाललाई कोरियामा चिनाउने काम गरिरहेका छन् ।
एकाध महिलाहरुले दुख पाए भन्दैमा हरेक महिलालाई त्यहि रुपले हेरिनु पनि हुन्न । वैवाहिक जीवन सबैको सफल हुन्छ भन्ने पनि छैन । नेपालमै घरजम गर्ने कतिपय महिलाहरु आफ्नै श्रीमान, घरपरिवारबाट पिडित छन् भने फरक भाषा, फरक संस्कृति, फरक रहनसहन, खानपान र जीवनशैली भएको मुलुकमा विवाह गरेर आउदा पक्कै पनि सजिलो हुदैन । भाषा सिक्न, संस्कृति बुझ्न र त्यहि जीवनशैलीमा आफुलाई ढाल्न समय लाग्छ र धर्यता पनि चाहिन्छ । तर टिनएजरका युवतीहरु विदेशमा मोजमस्ती गर्ने सोचले विवाह जस्तो पवित्र सम्वन्धलाई विदेश छिर्ने हतियारको रुपमा प्रयोग गर्ने, कोरिया आएपछि आफु विवाहित भएको जिम्मेवारीलाई भुलेर धनी बाबुकी बिग्रेकी छोरी सरह आफु खुशी गर्दा कुन परिवारले चुपचाप सहेर बस्ला ? यर्थाथ नबुझि एकोहोरो नेपाली महिलाले पाएको दुःख पिँडालाई मात्र ठुलो इस्युको रुपमा लिनु कतिको औचित्य होला ?
कोरियनसँग विवाह गरेर दुःख पाउने नपाउने आफैंमा भर पर्छ । हो, कोरियनहरु अलि रिसाउने स्वभावका हुन्छन् झरंग रिसाउछन् छिनभरमै खुशी हुन्छन् । तर यदि नेपाली महिला साँच्चिकै पिडित छन् घरेलु हिंसामा पिल्सिएका छन् भने ति पिडितको वकालत कोरियन सरकारले निशुल्क गरिदिने ब्यवस्था छ ।
विदेशी बुहारीहरुको लागि भाषाको कक्षादेखि अध्ययन अध्ययापन, विभिन्न सिपमूलक तालिमदेखि अन्याय अत्याचारमा परेकाहरुलाई कानुनी उपचार, परामर्श सेवा दिने जस्ता सुविधाहरु हरेक प्रान्त तथा हरेक जिल्लामा सरकारी निकायबाट संचालित बहुसाँस्कृतिक सहायता केन्द्र(धामुन्ह्वा सेन्टर) छ । त्यसैले कोरियन नागरिकसँग विवाह गरेर आएका नेपाली महिलाको खैरो खन्नु भनेको आफ्नै दिदीबहिनीको बेइजत गर्नु हो । सबैभन्दा ठुलो कुरो मान्छेको सोचाई हो सोचमा परिवर्तन गरौं ।
विवाह गरेर कसैको बुहारी कसैकी श्रीमती वा आमाको भूमिका निभाउदै, घरपरिवार सम्हाल्दै सामाजिक कार्यमा सहभागी हुन त्यति सजिलो अवश्य छैन । यद्यपि, मनमा गर्छु भन्ने भावना, जोश जाँगर र उत्साह लिएर अघि बढे जतिसुकै अप्ठ्यारा चुनौतीलाई सामना गर्न सकिन्छ । त्यसैले हरेक महिला एकजुट भएर अघि बढौं । सके आफैं लागौं नसके गर्नेलाई हौसला दिउँ । सम्पूर्ण दिदीबहिनीलाई अन्तराष्ट्रिय महिला दिवसको शुभकामना !!