हिउँ र जीवन
माया पोमु लिम्बु
कोरियामा दुई कुराको भर हुन्न । कोरियनको मुड र कोरियाको मौसम । अघिल्लो हप्ता देखि गर्मी सुरु भैसकेको थियो । तर एकाएक आज विहानै देखि हिउँ पर्न थाल्यो । काममा जाने मन नभए पनि पैसा कमाउन आएकी म । जानै पर्यो ।
बाहिर हिउँ परेको परेकै छ । भित्र म काम गरेको गरेकै छु । कम्पनीको झ्याल सिसाको छ । बाहिर हिउँका कणहरु उडि रहेका छन् । म झ्यालकै छेउमा छु । फुरुरु फुरुरु उडि रहेका छन् हिउँहरु । हिउँसँगै मन उडेर कता कता पुग्छ ।
जमाना भौतिकवादी रे । मानिसको ज्ञान र चेतनालाई निर्जिव वस्तुसँग तुलना गरेर विश्वास गर्ने गरिन्छ । मन उडि रहेको बेलामा मलाई पनि लाग्छ निर्जिवतामा पनि जीवन छ । जिन्दगीका अनुभव छन् ।
हात हिजो जसरी चल्नु पर्ने हो चलि रहेकै छ । आँखा भने झ्याल बाहिरको हिउँलाई हेरेको हेर्यै छु । ती उडि रहेका हिउँका टुक्राहरुमा मैले आफैलाई देखि रहेको छु । मान्छेको जिन्दगी जस्तो ।
हिउँलाई पृथ्बीको वलले आफु तिर ताने पछि तँछाड मछाड गर्दै झरि रहन्छ आकाशबाट । मान्छेलाई पनि सुख खुशीको बलले कता कता तान्छ तान्छ । गाउँबाट सहर, सहरबाट झन ठूलो सहर । हिउँ जस्तै त हो मान्छे पनि सफल अबतरणका लागि संघर्ष गरि रहेका ।
यसो हेर्छु हिउँका टुक्रा समान छैनन । केही अलि ठूला छन् केही अति साना । कोही सिधै झरेका छन्, कोही घुमि घुमि । कोही सिधै भुँईमा झरिरहेका छन् कोही आकाशमै फन्को लाउँदै छन् ।
हिउँमा स्वास छैन । ती निर्जिव छन् । तैपनि हिउँको चाला मानिसकै जस्तो लाग्छ । मलाई लाग्छ हिउँको पनि हाम्रो जस्तै चाहना होला । आकाशबाट झरे पछि तिनका भिन्न भिन्न खालका चाहना होलान् । कतिले चाहन्छन् होला फूल माथि पर्न । कतिले चाहन्छन् होला बारेका बार माथि पर्न । हिमतालमा, खोला खोल्सामा पर्न । घरका छाना, सफा र खुल्ला जमिनमा पर्न । ( यस्तैमा भित्ताको बिद्युतीय घडिमा ठूला ठूला अंकहरु देखिन्छन् । घन्टा र मिनेटको वीचमा पिलिक्क पिलिक्क सेकेन्ड जनाउने थोप्लाहरु ।) ती घडि पनि कति धिमा गतिमा चलेको मलाई जस्तै अल्छि पो लागेको छ कि ?
अँ हिउँ हरेर आफैलाई हिउँ सम्झन्छु म । ठ्याक्कै उस्तै । यो दृश्यको सेतो र सफा कपासको मसिना टुक्रा जस्तै । मानौ मान्छेको जीवन पनि कपास जस्तै छ । अर्को मनले भन्छ ह्या हिउँ र मान्छे पनि उस्तै हुन्छ र ? कताको हिउँ कताको मान्छे ? यसरी मनमा द्धन्द्ध चल्दै गर्दा सिसाको झ्याल बाहिर एउटा ठूलो हिउँको टुक्रा पर्छ । तुरुन्तै पानी बन्छ । छिनमा सुक्छ पनि । मान्छेको जिन्दगी पनि यस्तै त हो । दुई दिनको रमाइलो हाँसी खुशी अन्तिम भनेको के छ र ? हराउनु त संसारबाट छदैछ ।