बिमललाई बेल्जियममा अर्को अवसर
राजु घिसिङ
काठमाडौं – बेल्जियमको सर्वाधिक सफल फुटबल क्लब एन्डरलेच्त र गेन्कको एकेडेमीमा दुई–दुई महिना बिताएका यू–१७ का कप्तान विमल घर्तीमगरलाई त्यहाँको फस्ट डिभिजन लिग उपविजेता ‘क्लब ब्रुग केभी’ ले ट्रेनिङका लागि बोलाएको छ । डच क्लब एफसी टेन्टेमा पनि ट्रायल दिएका उनलाई ब्रुगले तीनमहिने ट्रेनिङलाई बोलाएको हो । तर, क्लब ब्रुगले पत्र पठाएको ११ दिन भइसके पनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले जवाफ नदिंदा उनको करिअर संकटमा परेको छ ।
युवा फरवार्ड विमललाई तीनमहिने ट्रेनिङमा बोलाइएकोबारे क्लब ब्रुगले २५ जेठमै एन्फाका महासचिव धीरेन्द्र प्रधानलाई सम्बोधन गर्दै पत्र पठाएको थियो । त्यसको कुनै जवाफ नदिएको भन्दै विमलका एजेन्ट लोइस डे भ्राइजले १ असारमा फेरि एन्फालाई ई–मेल पठाएका थिए । तर, त्यसको पनि जवाफ नपाएको उनीहरूले बताएका छन् ।
यसबीच २९ जेठमा एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको असामयिक निधन भयो र उनको शोकमा १३ दिनसम्म कुनै कार्य नगर्ने एन्फाले सूचना निकाल्यो । ‘९ असारसम्म केही गर्दैनौं । १० गतेपछि के हो हेर्नेछौं,’ एन्फाका महासचिव प्रधानले शुक्रबार भने । तर, उनले विमललाई बोलाउँदै क्लब ब्रुगले ११ दिनअघि पठाएको पत्रबारे भने अनभिज्ञता व्यक्त गरे । ‘मेरोमा हालसम्म केही आएको छैन,’ उनले भने ।
एन्डरलेच्त (३३ पल्टको च्याम्पियन) पछिको सर्वाधिक सफल बेल्जियन क्लब ब्रुग (१३ पल्टको फस्ट डिभिजन लिगविजेता) का अनुसार ट्रेनिङ २२ असारमा सुरु हुनेछ । पहिलो दिन नै ट्रेनिङमा सहभागी नभए विमललाई त्यो अवसर दिलाउन मुस्किल भएको पनि एजेन्ट डे भ्राइजले लेखेका छन् । एन्फाले कुनै जवाफ नदिएको भन्दै यसबारे डच प्रशिक्षक रेने कोस्टरलेसमेत चिन्ता व्यक्त गरेका छन् । उनले नै विमलका लागि फिफा वरीयताको दोस्रो स्थानमा रहेको बेल्जियममा ट्रायल र ट्रेनिङको अवसर दिलाएका थिए ।
काठमाडौंमा दुई वर्षअघि भएको साफ यू–१६ च्याम्पियनसिपमा विमलले भुटानविरुद्ध (७–० को जित) ह्याट्रिकसहित सर्वाधिक ६ गोल गरेका थिए । त्यसमा नेपाल उपविजेता भएको थियो । उनले एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा पनि चार गोल गरे । छनोटमा सफलता हात पारेपछि नेपालले गत वर्ष बैंककमा फाइनल चरण खेलेको थियो । त्यसमा विमलले एक गोल गरेका थिए । साफ यू–१६ मा बंगलादेशका प्रशिक्षक रहेका कोस्टरले मिलाएको अवसरमै विमलले पहिलो डिभिजनको डच क्लब टेन्टेमा मंसिर, २०७० मा दुई साता ट्रायल दिएका थिए । नेदरल्यान्ड्सबाट फर्केपछि उनलाई कोस्टर डे भ्राइजले एन्डरलेच्तको एकेडेमीमा दुई महिना ट्रेनिङ गराए ।
एन्डरलेच्त यू–१७ बाट उनले आम्र्सटर्डम (नेदरल्यान्ड्स) मा भएको एजोन फ्युचर कपमा टर्किस क्लब फेनेरबाचेविरुद्ध एक गोल पनि गरेका थिए । ट्रेनिङपछि एन्डरलेच्तले विमललाई एक सिजन (१६ जुलाई, २०१४ देखि ३१ मे, २०१५) का लागि एकेडेमीमा बोलाएको थियो । तर, उनी दुई महिनाको ट्रेनिङपछि नै एएफसी यू–१६ च्याम्पियनसिप (फाइनल चरण) को तयारीलाई फर्किए । राष्ट्रिय टिम (सिनियर) को मैत्रीपूर्ण खेलहरूमा पनि निरन्तर समावेश गरिएकाले उनलाई एन्डरलेच्तले फेरि बोलाएन ।
तर, भ्राइजले तीनपल्टको बेल्जियन लिग च्याम्पियन गेन्कको एकेडेमीमा तीनमहिने ट्रेनिङको अवसर मिलाइदिए । उनी दुई महिनापछि फागुनमै विश्वकप २०१८ छनोट (भारतविरुद्ध) मा राष्ट्रिय टिममा सहभागी हुन स्वदेश फर्किए । एएफसी यू(२३ च्याम्पियनसिपको छनोट खेल्न इरान पनि पुगेका उनी त्यसयता भुताहा (नवलपरासी) स्थित घरमै छन् ।