कलम समाउने मेरा हातले हतियार खेलाउन पर्ने वाध्यता
सुन्दै एउटा फरक अर्थ बोकेको समग्र मानव शरिरको यस्तो महत्वपुर्ण (अंग) भाग हो हात । जब हातको आबश्यकता र महत्व बुझिन्छ अनी थाहा हुन्छ एउटा ब्यक्ती, घर, टोल, समाज र पुरै देशको लागी हातहरुको सहभागिता किन अनिवार्य छ भनेर । समाज र देशलाई अनिवार्य हुने यस्ता हातहरु अहिले हरेक दिन लाईन लागेर परदेशी भुमीतिर दौडिरहेकाछन, ठुलो सपना लिएर । हातहरु धेरै किसीमका छन, ठुला-साना, निम्न, मध्यम र उच्चस्थरका तर सबैको सपना र उद्देश्य भने प्राय एउटै नै छ । धेरै-भन्दा धेरै पैशा कमाएर भविष्यलाई सुखमय बनाउनु र जिवनलाई आनन्दमय वनाउनकै लागी यी हातहरुको यस्तो दौडधुप हो भन्दा कुनै अन्यथा पनि नहोला । यसरी रोजगारी र अवसरको खोजिमा स्वदेशबाट पलायन भइरहेका हातहरु मध्ये कतिपयले राम्रो प्रगति गरेकाछन् भने कतिपय रोगी, असक्त अनि केही गर्न नपाई मृत अवस्थामा जान पनी वाध्य भएकाछन्। खयर जे होस तर हात भनेको हात नै हो अर्थात हात भनेको जिवन नै हो ।
रोजगारी र अवसरका लागी लाईन लागेका धेरै यी हातहरु मध्ये मेरो हात पनि एउटा हो । सकेसम्म स्वदेशमा नै संघर्ष गर्न खोज्ने यो हात केही नलागेपछी परदेशीन वाध्य भएको अनुमान लगाउन त्यती कठिन छैन । कसैको रहर कसैको शौख त कसैको बाध्यता भएजस्तै मेरो हात चैं बाध्यता अन्तर्गत नै भएको ठानेको छु । त्यसो त स्वदेशमा पनी कुनै कुरामा पछी थिएन संघर्ष कै लाईनमा दौडिएको थियो मेरो हात । दु:ख र संघर्षमा नै रमाउने यो हात जब दक्षिण कोरिया लाग्यो अनि सोचाई र काम गराईको विल्कुलै फरक सन्सारमा प्रवेश गर्यो भन्दा अझ प्रष्ट हुन्छ होला । नत बाजे-बुबाले गरेको, नत समाज र देशले नै गरेको वास्तवमा फरक नै सन्सार, अनुभव, चुनौती, खतरा र सिकाई पनी त्यसतै..त्यस्तै ।
शुरुका दिनहरुमा त वानी वसाउन धेरै कष्ट भयो तर के गर्ने उही वाध्यता विस्तारै सामान्य लिनैपर्ने, ती दिनहरु सम्झदाको क्षण नै वेग्लै । हरेक दिन उही रफ्तार र दौड, उही मेशीन नै साथी जसबाट निस्कने सामान र प्रयोग गरिने हतियार( औजार) को त कुरै नगरौं,धुवाँ-धुलो त झन मेशीन र टाउकै माथी । हातलाई जोगाउने र माया गर्ने त परै जाओस हातको नाम समेत सम्झन नसकिने परिस्थितिमा सानो-तिनो चोटपटकको त मतलव नै नहुने । प्रेसर र तनावको राज्य नै भएको ठाउँमा विस्तारै-विस्तारै फलाम र पित्तल नै नरम बनिसकेको जस्तो आभास अनि हात र पाखुरीको अचम्मको परिवर्तन साँच्चै हेरौं-हेरौं जस्तो लाग्ने ।
फलाम,पित्तल,हलुङ्गे आदी जस्ता धातुहरु टुक्रा पार्ने, काट्ने, पोल्ने,गाँस्ने र टाल्ने त कति-कति !! यसो हेर्छु अनि भन्छु हात त मेरो बहादुर नै हो । संघर्ष गर्ने हात त हुन तर तरिका र गराई फरक, स्वदेशमा हुँदा लाग्दथ्यो कति नरम, कति कोमल तर अहिले हेर्छु लाग्दैन कुनै पहलमानको भन्दा कम । कुनै बेला कलम समातेर संघर्ष गर्ने हात अहिले फलामका हतियार समातेर दौडिरहेका !! साथिभाईले भन्ने गर्दथे आहा कस्तो छुदैं मयाल लाग्ने हात तर अहिले भएकाछन् फलाम छुँदा फलाम नै कुच्चिने ….!! संघर्ष गर्ने हात त हुन तर हेर्दा र अनुभब गर्दा चुपलागेर बस्न मनलागेन यो परिवर्तन भन्नेकुरा बडो अचम्मको, हतियारले कस्तो कब्जा जमाएको !! अभ्यासले हो की वाध्यताले कुरा प्रयोगात्मक र मैदान कै हो, वास्तविक अनुभव र सत्य वोल्दा भन्नै पर्ने हातमा साँचिकै परिवर्तन आएकै हो ।
अब मेरा जस्ता जाँगरिला र बहादुर हातहरु कयौं, हजारौं छन् ती सबै स्वदेश फर्कनुपर्छ, कुनै पहरो र ढुङ्गा मात्र हैन फलाम र पित्तल नै फोर्ने यी हातहरुले स्वदेशमा केही गर्नैपर्छ । वास्तवमा नै पहलमानका जस्ता बनेका ति नरम हातहरुले अब आफ्नै माटोमा पसिना झार्नुपर्छ । हतियारले कब्जा गरेका अनि हतियार खेलाउने यी हातहरुले नेपालमा नै अब रमाउनुपर्छ । त्यस्ता नरम र कोमल हातहरु थाहानै नभई पहलमानका जस्ता हुनु एउटा अचम्म !! कलम खेलाउने हातहरुमा औजार वा हतियारले स्थान लिनु अर्को अचम्म !! हातको परिवर्तन अचम्म नै अचम्म !!!
साँच्चै नै यी परिवर्तित हातहरु छिटो-भन्दा छिटो स्वदेश फर्कनुपर्छ,आफ्नै माटोमा विकास र परिवर्तनका अचम्महरु देखाउनुपर्छ ।
वुसान द.कोरिया