विप्रेषणभित्रको धमिरा
स्वदेशमा पर्याप्त वा दैनिकी धान्ने रोजगारीको अवसरहरु नहुदा अधिकांश नेपाली युवा युवतीहरु वैदेशिक रोजगारका लागि विदेशिन वाध्य भएका छन् । नेपाली युवाहरु कामदारको रुपमा बिकसित तथा औधोगिक राष्ट्रहरुमा जाने र त्यसबाट कमाएको रकम स्वदेशमा विप्रेषण गर्ने रकम हेर्दा नेपालको अर्थतन्त्रको आधा हिस्सा रेमिटेन्सलाई लिन सकिन्छ । त्यसैले यो बिषय नेपालको एउटा रास्ट्रिय बहसको बिषय हुने पर्ने हो । तर यो बिषयमा राज्यको तर्फबाट खास केहि हुन सकेको छैन । प्रति व्यक्ति आयमा देखिएको बृद्धि, खर्च गर्ने क्षमतामा आएको बृद्धिसँग विप्रेषणले कति योगदान गरेको छ ? यदि योगदान गरेको छ भने त्यो कति स्थाई हुन्छ? त्यसबारे पनि अध्ययन हुन जरुरी छ ।
बैदेशिक रोजगारीमा जानेहरुलाइ बैदेशिक रोजगारीमा जानु पुर्व ,रोजगारीमै हुदाको बेला र स्वदेश फर्के पछी स्वरोजगार बनाउने, रोजगारी सिर्जना गर्ने र आत्मानिर्भर बन्नको लागि कुनै सरकारी नीति योजना र कार्यक्रम प्रभावी देखिएको छैन । विप्रेषणले अर्थतन्त्रमा क्षणिक भए पनि योगदान गर्ला वा केहि सकारामक पनि होला तर विप्रेषणको खातिर बिदेशिएका युवाबिहिन गाउ बस्तिहरुमा परेको सामाजिक असरहरु दीर्घकालसम्म निको नहुने घाउको रुपमा रहने कुरामा दुइ मत नहोला । त्यसैकारणले विप्रेषणको बारेमा कुरा गर्दा मुलत आर्थिक पक्ष र सामाजिक पक्षलाई बहसको बिषय बनाउन जरुरी हुन्छ ।
आर्थिक पक्ष
अल्पकालिक आय:- बैदेशिक रोजगारीबाट कमाउने भनेको कामदारको उमेर स्वास्थ्य र बल वा तन्दुरस्तता हुन्जेल रोजगारदाताले रोजगारी दिने सम्झौता गरेको अबधि सम्म मात्र हुन्छ । त्यो अबधि थोरै हुने हुनाले यो दीर्घकालिन आर्जन गर्ने बिकल्प नहुने नै भयो । अर्को कुरा बैदेशिक रोजगारीबाट फर्कदा युवामा जोश ,जागर र सिर्जनसिलातामा कमि आइसकेको हुने र कतिपय अबस्थामा असक्ततको स्थितीलिएर फर्कने हुदा यसले दिर्घकालसम्म योगदान गर्ने सम्भावना न्यून रहन्छ।
परनिर्भरता:- आफ्नो सिर्जनसिलाता प्रयोग गरेर भन्दा पनि अरुको काम गरेर ज्याला थाप्ने बानि पर्ने हुनाले देशको युवा सिर्जनशिल नहुने ,उत्पादनको क्षेत्रमा युवाहरु आकर्षित नहुने कारणले गर्दा आयात बृद्धि भै देशको व्यापार घाटामा जाने नै भयो ।
सिर्जनशीलतामा क्षयीकरण:- स्वदेशमा गरिने रोजगारी भन्दा बिदेशमा गरिने रोजगारीको ज्याला तुलनात्मक रुपमा बढी हुने हुदा स्वदेश फर्के पछी स्वदेशको रोजगारी गर्न नचाहने र आफै उत्पादनमा लागेर रोजगार हुने तथा रोजगारी सिर्जना गर्ने रिस्क लिन नाचाहने हुदा पुन बैदेशिक रोजगारीमा जाने प्रवृति देखिन्छ ।
अपेक्षाबादी:- बैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई हाम्रो समाजले हेर्ने दृष्टिकोणको कारणले परिवार , आफन्त र साथीहरु महँगो उपहारको अपेक्षा गरेको हुन्छ। जुन कुरा लिने दिने दुबैको लागि उपयुक्त होइन।
सामाजिक पक्ष
चाड पर्व तथा मेला:- एकोहोरो दिनचर्यालाई बिश्राम दिदै बेलाबेलामा मानिने चाड पर्व मेलाहरु आजकल युवा बिहिन बस्तिहरुले नाम मात्रका बनेको छ। चाड पर्व मेलामा खुशी हुने रमाउने हुनु पर्नेमा अहिले चाड पर्वमा आफन्त घरमा नहुदा र घर जान नसक्दा दुखि हुने अबश्था सिर्जना भएको छ । जुन कुराको व्यक्तिको मानसिक स्वास्थ्य संग पनि जोडिएको हुन्छ ।
पारिवारिक सम्बन्ध:- “आए गए माया मोह नआए को हो को हो” भन्ने उक्ति जस्तै एउटा युवा भर्खर विवाह गरेर घरपरिवार धान्नको लागि कमाउन विदेश जान्छ । यता उसको सन्तानको जन्म हुन्छ। सन्तान हुर्कन्छ, बढ्छ । उसले आफ्नो पितालाई पाहुना जस्तै कहिलकाँही मात्र भेटेको हुन्छ । यसले गर्दा सन्तान र अभिभावक बीच जुन स्नेह निकटता हुनु पर्ने हो त्यो नहुन सक्छ । परिवारको सदस्यहरु सधै सुखी र दुखि हुदैनन्। सुखी हुदै संगै रमाउने र दुखि हुदा सहानुभूति दिने दुख बाड्ने गर्दा पारिवारिक समबन्ध बजबुत हुने हुन्छ ।बाल बच्चाहरुमा उचित अभिवाकत्व र निकट रहेर गर्नु पर्ने हेरचाह नपुग्नाले बाल मनोबिज्ञानमा असर पर्न सक्ने हुन्छ ।
अनैतिक सम्बन्ध र अपराध:- सक्रिय प्रजन उमेर वा स्वाभाविक जैविक आवश्यकता परिपूर्ति गर्न दम्पति एकसाथ नरहेको अवस्थामा चाहेर वा नचाहेर अर्कैसँग अनैतिक सम्बन्ध स्थापित हुने जसका कारण कलह हुने। कलहका कारण सम्बन्धहरु टुट्ने। सम्पतिहरुमा विवाद हुने । हत्या जस्ता जघन्य घटनाहरु हुने र भैरहेको कुराहरु हामीले बेला बेलामा सुनी आएकै छौ ।
संकृति र परम्पराको पुस्तान्तरण:- हाम्रो सामाजिक जीवनको अनेकौ पक्षहरु छन । जन्मेदेखि मृत्युसम्म गरिने सस्कारदेखि पर्वहरुको गरिने ब्यबहार लगायतको बिषय अघिलो पुस्ताले पछिल्लो पुस्तालाई व्यवहार गरेर ब्यबहारिक रुपमै सिकाउनु पर्ने सिक्नु पर्ने हुन्छ ।
यो एउटा बिशाल बह्सको बिषय हो । यसका अरु पनि कैयौं पक्षहरु खोतल्नु पर्छ । मैले यो बिषय सार्वजनिक बहसको लागि उठान गरिकी मात्र हु । आगामी दिनमा बिषय बिज्ञहरुको कलम यसमा चलोस र राज्य पक्षले पनि यसमा उपयुक्त ध्यान दियोस भन्ने अपेक्षा गरेकी छु, अलिशा सिंह
(लेखिका प्रवासी नेपाली मंच कोरियाका सल्लाहकार तथा कलाकार हुन् ।)