नेपालमा मर्स छिर्यो भने अर्को दुर्दशा सुरु हुन्छ – डा. रवीन्द्र पाण्डे (समीर)
पेशाले प्रजनन तथा बालस्वास्थ्य बिशेषज्ञ डा. रवीन्द्र पाण्डे (समीर) नेपाली नेपाली साहित्य क्षेत्रमा उत्तिकै सक्रिय स्रष्टा हुन् ।समीरले गत बैशाख १२ आएको विनासकारी भुकम्पले देश तहसनहस भएको बेला गुमनाम तरिकाले आफ्नै व्यक्तिगत पहलमा भूकम्पले प्रभावित दुर्गम गाउहरुमा पुगेर उपचार गर्दै आउनु भएको छ | उसो त समिरको तेश्रो आँखा , पोस्टमार्टम, विकिरण, ईश्वरका कथा, अर्जुनदृष्टि, अणु र पहाड , ब्यङ्गम शरणं गच्छामि र एकलब्य दृष्टि लघुकथा संगह प्रकाशित छन् । यसबाहेक समीरले चाँदीको घेरा मुक्तक तथा गजलसंग्रह र ग्रेटवालको ग्रेट अनुभूति नियात्रा संग्रह पनि प्रकाशित गरेका छन् । समीरले पद्मश्री साहित्य सम्मान, युवाबर्ष मोति पुरस्कार, नेपाल प्रतिभा पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, नेपाल बिध्याभुषण पदक लगायत करिब दुई दर्जन राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरेका छन् | भुकम्प पछि नेपाली साहित्य र आममानिसको जनजीवनमा कस्तो असर परेको छ र अहिले महामारीको रुपमा फैलिरहेको मिडिल इस्ट रेस्पिरेटोरी (मर्स) नेपाल भित्रियो भने कस्तो रुप लिन सक्ला यसै बिषयको सेरोफेरोमा रहेर फोनिजकोरिया संवाददाता निश्चल काउचाले समिरसंग गरेको कुराकानी :-
भुकम्प पिडितलाई निशुल्क शिबिर चलाईरहनु भएको छ | दुर्गम बस्तिहरुमा आममानिसको अवस्था कस्तो छ ?
भूकम्पपिडित जिल्लाका सडक र बजारमा राहत सामग्री थुप्रिएको छ ! पिडित तथा पिडित नभएका समेत मानिसहरुले आफुलाई आवश्यक, अनावश्यक जे पाइन्छ त्यो मागेर संग्रह गरेका छन् ! खेतीपाती स्याहार्न तथा वर्षायामको लागि आफ्नो आवश्यकता अनुसारको बास बनाउन ध्यान नदिएर अधिकांश ठाउँमा आशे, मगन्ते एबम परनिर्भर प्रवृति बिकृतिको रुपमा स्थापित भएको छ ! ति जिल्लाका दुर्गम ठाउँका वास्तविक पिडितहरुले एकदम न्यून राहत पाएका छन् ! अधिकांश राहत वितरण गर्नेहरु हिंड्न चाहादैनन, केवल फलानो जिल्ला गएको भनेर झारा टारिरहेका छन् ! त्यहाँको आवश्यकता पहिचान नगरी मिनरल वाटर, ट्वाइलेट पेपर समेत लिनेदिने काम देखिन्छ | दुर्गमका जनताहरु आफुलाई असहाय, राज्य तथा दाताबाट उपेक्षित अनुभूत गरेका छन् ! भूकम्पले पहाड थर्किएका एबम चर्किएका छन् ! बाढीपहिरोको ठूलो जोखिम छ ! गाउँ नै बगाउने सम्भावना छ ! तसर्थ सरकारले तुरुन्त उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु जरुरी छ | स्वास्थ्य सेवाको स्थिति झन् बिकराल छ ! बिकट बस्तीमा सिटामोल, जीवनजल पनि छैन ! हामीले ति स्थानमा कम्तिमा एक महिनाको औषधि, रोगबाट बच्ने उपाय र परामर्श सेवा दिइरहेका छौं ! बालबालिका, गर्भवती, सुत्केरी तथा जेष्ठ नागरिकलाई बिशेष प्याकेज पनि पुर्याएका छौं |
धेरै डाक्टरहरु सुगमलाई मात्र रोज्छन तर तपाई दुर्गममा पुगेर निशुल्क उपचार गरिरहनु भएको छ | यसरी दिनदु:खीको उपचार गर्ने उत्प्रेरणा कसरी जाग्यो ?
सुगममा स्वास्थ्य सेवा उपलब्ध छ ! दशौँ हजार चिकित्सक छन् ! सयौं अस्पताल छन् ! राहत र सेवा केन्द्रिकृत छ ! सुरक्षा छ ! तर गाउँबेसीमा भएका स्वास्थ्य चौकी पनि भत्किएका छन् ! दरवन्दी अनुसार स्वास्थ्यकर्मी छैनन् ! तसर्थ मैले यस्ता गाउँहरु छनोट गरें, जहाँ भग्नावशेष छ, शिबिर पुगेको छैन, पिडितहरु अस्पताल जान सक्दैनन् ! “ बल्ल हामीले डाक्टरको मुख देख्यौं “ भन्ने वाक्य सुन्दा मुटुमा सुइरो रोपिए जस्तो भयो ! मलाइ लाग्यो सेवा नै गर्ने हो भने अत्यावश्यक ठाउँमा गर्नुपर्छ – चाहे जुनसुकै जिल्लाको गाउँ होस् ! म एक्लै सबै गाउँमा जानु त सम्भव छैन तर गएको र जाने ठाउँको क्षति एबम आवश्यकता बुझेर मात्र जाने गरेको छु ! अर्को कुरा म गाउँमा जन्मे हुर्केको मान्छे हुँ ! दिनको १६ घण्टा लगातार हिंडेको मान्छे हुँ तसर्थ मैले आफ्नो त्यो धरातल बिर्सनुहुँदैन |
शिबिर चलाउने ओखती मुलोको जोहो कसरी गर्दै आउनु भएको छ ?
महाभूकम्पमा म बाँचे, परिवार बाँचे, घर बाँच्यो ! क्षति जे पनि हुनसक्थ्यो ! मैले त्यहि आंकलन गरेर भूकम्प आएको अर्को दिनदेखि सेवामा जुटे ! तपाइंलाई थाहा छ, राहतमा सबैभन्दा महँगो औषधि उपचार हो ! एक लाखले चाउचाउ, बिस्कुट किन्नुभयो भने एक गाडी आउँछ ! औषधि किन्नुभयो भने २ कार्टुन मात्र ! औषधि उपचार सबैभन्दा महत्वपूर्ण राहत हो ! स्वस्थ भएमात्र मान्छेले आफ्नो काम गर्न सक्छ ! बिना स्वास्थ्य कसैले केहि गर्न सक्दैन ! यहि सोंचेर मैले आफ्नो क्षमता, उधारो, ऋण आदि गरेर काम गरें ! ! म धनि मान्छे हैन ! काम गरेर खाने निम्न मध्यम बर्गको मान्छे हुँ ! एकल प्रयासबाट ठूला ५२ वटा र साना धेरै शिबिरहरु संचालन गरेर ७,५०० भन्दा धेरै पिडितलाई उपचार गरें ! मेरो संस्था छैन, ब्यानर छैन, तलब छैन, टिममा अर्को चिकित्सक छैन ! जे गरेको छु, पुरै व्यक्तिगत पहल र खटाइमा गरेको छु ! मेरो काम देखेपछि केहि मित्रहरुले ( धेरैजसो अपरिचित ) औषधि, औषधि किन्न सक्दो सहयोग पनि गर्नुभयो ! केहि कम्पनीले पनि अलिअलि सहयोग गरे ! समष्टिमा ७० % आफ्नै खर्च र ३० % उदार मनहरुको सहयोगमा काम गरिरहेको छु ! जसले सहयोग गर्नुभयो, उहाँहरु महान हुनुहुन्छ ! उहाँहरुको कारण मैले धेरैलाई जीवन दिन सकें ! आगामी पुस्तकमा सहयोगी हातहरुलाई लिपिबद्ध गरेर सम्मान गर्नेछु ! मलाइ दुख लाग्छ, कोमल र उदार मन भएका नेपालीहरु, जो बिदेशमा हुनुहुन्छ, उहाँहरुले सबल दाताहरुको खातामा आफ्नो पसिना खन्याउनुभयो ! त्यसको परिणाम थाहै छ, मैले भन्नुपर्दैन |
तपाई पेशाले चिकित्सक साहित्यमा पनि उत्तिकै सक्रिय हुनु हुन्छ | समय समायोजन कसरी गर्नु हुन्छ ?
हामी चिकित्सक बिरामीहरुले पीडा पोख्ने चौतारा हौँ ! उहाँहरुको बिबिधता नै मेरा बिषय बन्छन ! हरेक व्यक्ति आफैमा ठूलो महाकाव्य हो, उपन्यास हो, लघुकथा हो, कबिता हो ! समय यति धेरै छ कि मान्छे जति व्यस्त भएपनि अझै समय रहन्छ ! त्यसलाई कसरी सदुपयोग गर्ने भन्ने मात्र हो | बैसाख १२ गतेको महाभूकम्प आउने बेलामा पनि साहित्यको काम गर्दै थिएँ ! भूकम्प आएपछि निशुल्क स्वास्थ्य शिबिरमा यस्तो व्यस्त भइयो कि खाने, बस्ने, सुत्ने आदि आफ्नो वशमा रहेनन् ! तसर्थ आजसम्म एउटा पनि लेखेको छैन ! दिमागमा प्लट छन् ! स्थिति साम्य भएपछि लेख्नेछु ! यो बेला लेखकहरुले लेखेर बस्ने भन्दा पनि समाजको पिडामा मल्हमपट्टी लगाउने समय हो |
भुकम्प पछि नेपाली साहित्य कुन दिशातिर बढिरहेको छ ?
भूकम्प अघिं लेखनबाट सामान्य गुजारा चल्ने स्थितिमा थियो – साहित्य ! पढ्ने र लेख्ने राम्रो संस्कृतिको बिकास भएको थियो ! भूकम्पले खरबौंको क्षति भएकोले समाजका हरेक पाटा कमजोर भएका छन ! तसर्थ केहि समय लाग्छ, त्यो अवस्था फर्किन ! साहित्य जबसम्म आफ्नो माटो, धरातल, स्वाभिमान र मानवीय हुन्छ, त्यो अजम्बरी हुन्छ ! सस्तो फेसनको हालत कर्कलाको पानी जस्तै हुन्छ ! यति हुँदाहुँदै पनि साहित्यमा समर्पित हुने स्रष्टा बन्दनीय छन् |
तपाइको पछिल्लो कृति एकलब्य दृष्टि लघुकथा संग्रहवाट पाठक प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
चैत्रको २५ तिर मेरो दशौँ पुस्तक तथा आठौँ लघुकथा संग्रह “ एकलब्य दृष्टि “ फाइन प्रिन्टले बजारमा ल्यायो ! पहिलो संस्करण सकिनै लाग्दा भूकम्प आयो ! भूकम्प आएपनि आदरणीय पाठकहरुले पढ्नुभयो ! अहिले बजारमा अभाव छ ! छिट्टै अर्को संस्करण आउंदैछ ! एकदम राम्रो प्रतिक्रिया छ ! यति छोटो समयमा तथा यस्तो विषम परिस्थितिमा समेत पुस्तकलाई माया गर्नुभएकोले मैले त्यसको सम्पूर्ण रोयल्टी भूकम्पले आमाबाबु गुमाएका बालबालिकाको शिक्षामा अर्पण गर्नेछु |
भुकम्प पछि महामारी फैलिने हल्ला चलाईएको थियो | अब वर्षा सुरु भयो महामारीको सम्भावना टरेको हो ?
भूकम्प पछि एक प्रकारको महामारी सुरु भएको थियो ! त्यसलाई हामी सबैले नियन्त्रणमा लियौं ! बिभिन्न माध्यमबाट जागरुक बनायौं ! शिविरहरु चलायौं ! भूकम्पको कारण आम मान्छेमा परेको चिन्ता, डर हटाउन जिल्ला जिल्ला र संचार माध्यम मार्फत मनोपरामर्श अभियान चलाइरहेका छौं ! अब बर्खामा महामारीको निकै डर छ ! भूकम्पले भत्केका घर, ढल, सेफ्टी ट्यांक, मृत पशुपंक्षीको कुहिएको शब आदिलाई बर्षाको भेलले बस्तिबस्तीमा पुर्याउँछ | होसियारी नअपनाएमा झाडाबान्ता, आउँ, हैजा, टाइफाइड, जन्डिस आदिको महामारी फैलन सक्ने डर मैले देखेको छु |
भुकम्प पछि जनमानसको मनोस्थिति कस्तो पाउनु भएको छ ?
अझै पनि पराकम्पन आइरहेका छन् ! आम मान्छेमा डर, त्रास, असुरक्षा एबम तनाव व्याप्त छ ! आफन्त तथा घर गुमाएकाको पिडा अनुमान गर्न सकिदैन ! रक्सि, चुरोट, सुर्तीको कुलत बढेको छ ! नयाँ काम गर्ने कसैमा जाँगर छैन ! भएको कामप्रति पनि भरोसा छैन ! अहिले सबैको मनस्थिति पर्ख र हेरको स्थितिमा छ ! अब हामी उठ्नुको बिकल्प छैन ! यो क्षतिलाई आत्मसात गरेर जिरोबाट उठौं ! आत्मबलको उकालो चढेपछि पिडा र क्षति ओरालो लाग्नेछन |
कोरियामा महामारीको रुपमा फैलिएको मिडिल इस्ट रेस्पिरेटोरी (मर्स) नेपालमा छिर्यो भने कस्तो रुप धारण गर्ला ?
यो अवस्थामा मर्स नेपाल आयो भने अर्को सन्त्रास थपिनेछ ! मरेर काम गर्नुपर्ने बेला रोगको कारण एक्लिएर बस्नुपर्यो भने वा डर बोकेर हिंड्नुपर्यो भने अर्को दुर्दशा सुरु हुन्छ ! त्यसो त स्वाइन फ्लु, बर्ड फ्लु आदिको समेत जोखिम छ ! कोरियामा रहनुभएका नेपालीहरुको चिन्ता लागेको छ ! कृपया चौबिसै घण्टा ह्याण्ड स्यानिटाइजर, साबुन, मास्क बोकेर हिंड्नुहोला ! एकदम पाकेको मात्र मासु खानुहोला ! सकभर रुघाबाट बच्नुहोला ! हात सफा नगरी आँखा, मुख, नाक आदि नछुनुहोला ! स्वास्थ्य धन भएन भने डलर र वनको केहि अर्थ छैन |
अन्त्यमा केही भन्न चाहनु हुन्छकी ?
महाभूकम्पको कारण गाउँबस्ती पुरै ध्वस्त भएको छ ! पिडितसामु सहि राहत, पर्याप्त राहत पुगेको छैन ! यो वर्षायाममा अर्को महाविपत्ति आउंदैछ ! एक जुनीमा एकपटक आउने यस्तो अकल्पनीय समयमा सबैले आफ्नो सामाजिक तथा मानबिय दायित्व पुरा गर्न नबिर्सनुहोला ! कोहि एकजना पनि भूमिकाविहीन नबन्नुहोला ! जे सकिन्छ, जहाँ सकिन्छ – सहयोग गर्नुहोला ! तपाइंलाई ठूलो आत्मसन्तुष्टि मिल्नेछ ! सहयोग गर्दा सकभर राज्यलाई गर्नुहोला ! देश ध्वस्त भएको बेला यहाँहरुको योगदान देखिएन भने भोलि आफु र भावी पुस्तालाई दिने हामीसंग जवाफ हुनेछैन ! नाम जे होस्, दाता तथा संस्थालाई सहयोग गर्दा पिडित सामु कनिका मात्र पुग्छ ! तसर्थ ठूलो सहयोग प्रधानमन्त्री राहत कोष र सानो सहयोग फिल्डमा खटेका व्यक्ति, संस्था वा पिडितलाई गर्नुभयो भने दुरुपयोग हुँदैन |