“नलेखिएको सुसाइड नोट”
“कम्पनी देखि कन्टेनर कोठा, कोठा देखि कम्पनी” कोरिया छिरेको समय देखि उनको अक्सर संसार यहि थियो। इन्छन एयरपोर्ट झरेदेखी तालिम स्थल र तालिम स्थल देखि कम्पनि, कम्पनि बाट एलाइन कार्ड बनाउन इमिग्रेशन आक्कलझुक्कल नजिकैको सानो बजार निस्कँदा देखिने ठाउँ बाहेक उनले करिब ३ वर्षको अवधि पार गर्न लाग्दै गर्दा देखेको कोरिया वश यत्ति थियो।
कोरियाको गाउँ, एक अनकन्टार कुना। त्यहि कुनामा साठीसत्तरी वटा जतिको कम्पनि एरिया। नजिकै खेत अनि चिहानहरु। ति खेतमा कतिबेला के लगाउँथ्यो र के फल्थ्यो उनले कहिल्यै चाल पाएनन। जाडोमा कम्पनीको आँगनमा हिउँको थुप्राहरु देखे गर्मीमा कम्पनी भित्र उत्पत गर्मि भोगे। त्यस अवधिमा उनले जंगलका रुखहरु कुनबेला राताम्य भए कुन बेला सेताम्य अहँ उनले केहि पत्तो पाएनन्। कुन बेला सडक छेउ र नदी किनारमा सुन्दर निश्चल पवित्र सेताम्मे साँकुरा फुलेर झरे अहँ उनलाई के ठेगान? कम्पनीमा संगै काम गर्ने कोरियन बाहेक त अरु उनले बिरलै देखे। सुन्दर र नक्कली, आहा! सेता तिघ्रावाला कोरियन केटीहरु त उनले कन्टेनर भित्र बसेर कसरि देखोस ? उनि न कहिल्यै बसपार्क पुगेर बस चढे, केटीएक्स र रेलका कुरा त उनलाई कथा जस्तै ।
वरपरका कम्पनीमा थुप्रै नेपाली भएपनि उनले कहिल्यै नेपालीहरुको संगत गरेनन्। उनि संगै आएका अरु दुइ नेपाली हप्तै पिच्छे जस्तो आइतबारको विदामा बजार निस्कन्थे। कोरियन चाड छुसक र सलनालको लामो विदामा साैल र बुसानमा नेपालीहरुले आयोजना गर्ने विभिन्न कार्यक्रम हेर्न नपुगेको वर्षै बाँकी थिएन । गर्मी विदामा बुसानको हेउन्दे वीचमा पौडिन पुगिहाल्थ्यो । तर उनि भने त्यो ५-६ दिनको विदामा पनि कन्टेनरको कोठामै बिताउने गर्थ्ये। कम्पनीमा छिरेपछि उनि एकपटक साथीहरु संग मोवाइल किन्न बजार पुगेका थिए। त्यसपछि उनको संसार कम्पनि र कोठा अनि महिना बित्दा पैसा घर पठाउन नजिकैको बैंक एटिएमसम्म भयो।
संगै आएका साथीहरु कहिले सोजु त् कहिले मेक्जु (रक्सि र बियर ) ल्याएर खान्थ्ये तर उनलाई भने सोजु र मेक्जुको गन्ध समेत थाहा भएन।
छुट्टीमा कन्टेनरको कोठा र कामको बेला कम्पनी त्यही उनको संसार थियो। त्यो बाहेक कोठामा सुतेर इन्टरनेट मार्फत विभिन्न सामाजिक संजाल बाट मोबाइलमा देखिने अर्को संसार। कोरिया छिरेदेखी उनले आफ्ना आफन्त र साथीभाइसँग फोन र म्यासेन्जरमा हाइहेल्लो सायदै गरेका थिए होला। संगै आएका नेपालीहरु भन्दा उनले अक्सर नेपाली तीसचालिस हजार रकम बढी घरमा पठाउने गर्थ्यो। छुसक र सलनालमा कम्पनीले दिने बोनस रकम पनि बचाएर घर पठाउने गर्थ्ये।
सोजु नखाने,बाहिर नहिड्ने, काम पनि मेहनतको साथ् गर्ने उनको बानीले उनलाई कम्पनीमा पनि साहुले निक्कै माया गर्थ्यो। उनलाई छुवा साराम (राम्रो मान्छे) भन्थ्यो।
समय बित्दै गयो। उनले पोखरामा घडेरी जोड्न सफल भए । बच्चा पढाउने बेला भयो। गाउँमा नजिक र राम्रो पढाइ स्कुल थिएन। कमाइ र आम्दानी हुनेहरु अक्सर शहर झरिसकेका थिए। युवाहरु विदेश, बुहारीहरू बच्चा पढाउन शहर, गाउँ पुरै वृद्धाश्रम जस्तो बनिसकेको थियो। यहि हावाले उनको परिवारलाई पनि छोयो । श्रीमती बच्चा लिएर पोखरा झरिन्। गाउँघरको जिम्मा काम गर्न सकेपनि नसकेपनि वृद्ध बाबाआमा र भाइको भयो।
श्रीमती शहर झरेपछि उनको परिवारमा मनमुटाव सुरु भयो। स्वाभाविकै रुपमा पैसा घर तिर बाबुआमा र शहर तिर श्रीमतीलाई बाँड्नुपर्ने भयो। एकातिर बाबुआमाको गुनासो अर्कोतिर श्रीमतीको। हामीले दुख गरेर जन्मायौं, हुर्कायौं र पढायौं अहिले जन्म दिने बाबु आमा भन्दा श्रीमती प्रिय भयो हैन ? घरमा पठाउने पैसामा कमि आएपछि बाबुआमाको गुनासो र दुखेसो बढ्यो। अर्कोतिर घरतिर बाबुआमा र भाइलाई हेर्नुपरेको र पैसा खर्च बढेकाले बचत नभएको भन्दै श्रीमतीको गुनासो।
विस्तारै उनलाई घरतिरको यस्तै झमेला बढ्दै गयो। बाबुआमाको कुरा सुन्ने कि आफ्नो जीवन साथीको ? उनि विलन्दमा परे । सकेसम्म उनले दुवैको चित्त बुझाउने कोसिस गरे। तर घर झगडा साम्य हुनुको साटो बढ्दै गयो।
साढे दुइवर्ष बिताउँदै गरेका उनि घर झगडा साम्य पार्न छुट्टीमा जान कम्पनीमा विदा मागे तर कम्पनीमा कामको चाप बढेको र पहिलो भिसा अवधि सकिन ६ महिना बाँकी रहेकोले ३ वर्ष पुरा गरेर बाँकि अवधिको भिसा थपेर मात्रै विदामा जान दिने कम्पनीले जनायो। यसले उनलाई थप तनाव सिर्जना गरायो।
यहि तनावले गर्दा कम्पनीमा कामतिर राम्रो संग ध्यान दिन सकिरहेको थिएन। उनको काम गर्ने क्षमतामा विस्तारै ह्रास आउंदै गयो। साहुले माया गर्ने उनलाई फुल्यांग (वेस्टेज) धेरै निकाल्ने र आउटपुट परिणाम घट्दै गएपछि गाली गर्न सुरु गर्यो। आखिर कोरियन साहुले गर्ने माया त कामलाई न हो।
आफ्नै बाबुआमा र श्रीमतीले त् पैसाको लागि यसरी कचकच र झगडा गर्दा परदेशमा साहुले काम बिगार्दा गालि गर्नु स्वाभाविक थियो। एकातिर घर तिरको झगडा अर्को तिर कम्पनीमा काम बिग्रदा साहुको गालीगलौजले उनलाई तनाव बढ्दै गयो।
अरु जस्तै उनि पनि कोरिया पैसा कमाउन आएका थिए। उनलाई थाहा थियो पैसा कमाउन भन्दा बचाउन सक्नु ठुलो कुरा हो। सायद त्यसैले उनि कहिल्यै बाहिर विदामा घुमफिर गर्ने र साथीभाई संग गफगाफ र रंगरमाइलो गर्न निस्केनन् । सामाजिक नैतिकता र आफ्नो इज्जत भित्र रहेर, आफ्नो धरातल नछाडेर रंग- रमाइलो र घुमफिर गर्नु गलत होइन भन्ने बुझेर पनि पैसाको लागि गरेनन् सायद।
निरन्तर उही दैनिक १४-१५ घण्टा कामले उनलाई एकहोरो बनाएको थियो। बाहिरी संसार संग उनलाई सरोकार भएन। यहि कुराले उनलाई एउटा मेशिन जस्तो बनायो। घर तिरको तनाव र कम्पनीको गालीगलौज त्यसै माथि भनेको बेलामा छुट्टीमा जान विदा नपाएपछी उनि डिप्रेशनमा परे ।
सदाको दिनमा झैं बिहान आठ बजे सबै काममा हाजिर भैसकेको थियो। तर उनि त्यो दिन बिहान नौ बजेसम्म पनि काममा नगएपछि उनको खोजि सुरु भयो। उनलाई बोलाउन कोरियन आए। कोठा बाहिरबाट कोरियनले हली ! हली!! (हरी,हरी) भनेर बोलाए तर उनि बोलेनन्। ढोका खोल्न खोजे तर ढोका भित्रबाट लक थियो।