ताम्राकार दाजुभाईको नयाँ म्युजिक भिडियो लौ लौ सररर सार्वजनिक
गायक तथा सञ्चारकर्मी जनक ताम्राकारको नया गीत ‘लौ लौ सररर’ हालै सार्वजनिक भएको छ । एकै दाजुभाईले तयार पारेको उक्त गीतमा जनक ताम्राकारको स्वर तथा महेश ताम्राकारको शब्द संगीत रहेको छ । निकै नै पृथक ढंगको यस गीतमा डोटेली र नेपाली भाषाको सुन्दर प्रयोग पाउन सकिन्छ ।
ताम्राकार दाजु भाइले पछिल्लो समय नेपाली संगीत बजारमा नया स्वाद दिइरहेका छन् । दर्शक श्रोताहरुको साथ सहयोग मिले पक्कै आफुले नेपाली संगीतमा फरकपन ल्याउने कुरामा बिश्वस्त रहेको ताम्राकारद्धय बताउँछन् । महेश र जनकको जुनकिरी र काफल खान्या कुइयाँ पछिल्लो समय निकै रुचाइएका गीत हुन । पहिलो प्रेमको आभासलाइ रमाइलो ढंगले व्यक्त गरिएको यसगीतमा भने “लौ लौ सररर पिरिमको आकशैमा , लौ लौ फररर शिमल झैँ बतासैमा,” जस्ता शब्दको प्रयोग भएको छ। यो गीत अहिले चलन चल्तीमा आएका गीत संगीत भन्दा फरक ढाँचाको रहेको ताम्राकार दाजुभाईको भनाई छ ।
यस गीतको म्युजिक भिडियोमा भने अहिलेका चर्चित नायक तथा मोडल आकाश श्रेष्ठ र चर्चित मोडल एलिसा राईको अभिनय रहेको छ । रेकर्ड हाउस प्रोडक्सनले निर्माण गरेको यस गीतको भिडियोलाई सागर प्रधानले निर्देशन गरेका छन् ।