कोरियामा किन गरे ढाकारामले आत्महत्या ?
सदाका दिनमा झैं बिहान आठबजे काममा कम्पनि भित्र पसेका थियौं। म मेरो डिपार्ट तिर काममा ब्यस्त थिएँ। अर्को डिपार्टमा साथीहरु बाहिर काम गर्दै थिए। त्यत्तिकैमा पर अर्को कम्पनिबाट दुइ जना नेपालीहरु ढाकाराम यहाँ आएको छ ? भन्दै खोज्दै आए। कोठामा मोबाइल छ तर मान्छे छैन। सबै काममा आइसके तर उनि कहाँ गएछन् ? भन्दै खोज्दै आएका थिए।
ढाकाराम हाम्रो कम्पनीमा आइराख्ने भएर उनी यतै छन् भनेर खोज्न आएका थिए। हाम्रो कम्पनीमा आएको छैन भन्ने भएपछी फिर्ता गए र उनको खोजि कम्पनी भित्रै भयो। गाईलाई खुलाउने दाना बन्ने कम्पनीको कच्चापदार्थ राख्ने गोदामको दलनमा ढाकाराम झुण्डिएको अवस्थामा भेटिए। एकछिनपछि खबर आयो ढाकारामले आत्महत्या गरेछन्।
कोरियामा इपीएस लागू भएपछी चालिस हजारभन्दा बढी नेपालीहरु रोजगारको लागि कोरिया आएका छन्। नेपालीहरुको संख्या बढे संगै विभिन्न कारणले ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ। त्यस मध्ये एक प्रमुख कारण आत्महत्या हो। प्राय अनलाइन समाचारहरुमा पढिने आत्महत्याको खबर त्यस दिन नजिकै घटेको समाचारले केहि बेर मनलाई उद्धेलित बनायो। यसकारण पनि बनायो कि फरक कम्पनि भए पनि विदाको दिनमा प्राय हामि संगै घुम्ने , संगै खाने, गफगाफ गर्ने र खेल्ने एक दाइ थिए।
शारीरिकरुपमा ठिक, नियमित व्यायाम, कम्पनीमा कुनै दबाब नभएको, सबैसंग हाँस्ने बोल्ने, खेल्ने, बाहिर हेर्दा डिप्रेसनमा परेको अनुमान गर्न नसकिने अवस्थामा रहेका उनले आखिर किन आत्महत्या गरे होलान ? मनमा प्रश्नहरु एक पछी अर्को गर्दै उब्जिए।
उनीसंगको संगतको आधारमा यो भन्न सकिन्छ कि उनि अलिक जिद्धि स्वभावको थिए। आफु कुनैपनि कुरामा तल नपर्ने। अर्थात आफुले नजानेको, नसुनेको, नगरेको, नपुगेको कुनै बाँकि कुरा छैन। हामी संगै बसेर गफ गर्दा उनको कुरालाई काट्ने भन्दा पनि सहि मात्रै थप्ने गर्थ्यौं। किनकि उसको सुरुवात देखिकै बानि त्यहि थियो। उनले आफ्नो पारिवारिक कुराहरु भने खासै गर्दैनथ्ये गरे।
द्वन्दकालमा नेपाल आर्मीको जागिर छोडेर कुवेत पुगेको हुँ भन्ने ढाकाराम कोरिया आएको दोस्रो कार्यकाल समेत गरेर सात वर्ष पार गरिसकेका थिए। पहिलो कार्यकाल सकेर नेपाल गएका उनि विवाह गरेर कोरिया आएका थिए। कहिलेकाहीँ आफ्नो चाहना विपरित विवाह भएको कुरा कम्पनीमा काम गर्ने साथीलाई बताउने गरेको रहेछ।
नेपाल आर्मीको जागिर छोडेको, कुवेतमा गएर काम गरेको र कोरिया आएर पहिलो पांच वर्ष सम्म काम गरेको कमाइ भने उनको आफ्नो नाममा रहेनछ। नेपालमा उसको आफ्नो बैंक खाता समेत रहेनछ। उनले कमाएको पैसा दाइहरूको नाममा पठाउने गरेको रहेछ। विहे गरेर आए पछी भने के गरे खै !
आत्महत्या गर्ने त्यस दिन आमासंग फोनमा करिब चालिस मिनेट बात गरेका रहेछन्. काम सकिएर फूटबल खेल्न गएका थिए। त्यस दिन कोरियाको बैंक खातामा भएको सबै पैसा झिकेका थिए। सोजु र मेक्जु किनेर ल्याएका थिए।
कोठामा एकजना भारतीय कामदार थियो भने अर्को एक नेपाली थिए जो नेपाल गएका छन्। करिब दश जना विदेशी कामदार रहेको उक्त कम्पनीमा साँझ सबै खाना खाएर कोहि काम तिर लागे कोहि सुत्न तिर।
रातिसाढे एक बजे सम्म श्रीमतीलाई फोन गरेको तर रिसिभ नगरेको रहेछ। पौने दुइ बजे तिर आत्महत्या गरेको सिसिटिभी फुटेजमा रहेछ। आत्महत्या गरेपछि प्रहरी आएर फोन र सिसिटिभी फुटेज डिटेल हेर्दा उक्त रेकर्ड भेटियो। प्रहरीले उक्त नम्बरमा एक नेपालीलाई फोन गर्न लगाए पछी विगत चार दिन देखि फोनमा कुरा नभएको श्रीमतीले बताएछ तर यता ढाकाराम ले भने छ-सात कल फोन गरेको तर रिसिभ नभएको रहेछ। फोन सम्पर्क नभएको धेरै भयो भन्ने बताउने दाइले एकै छिनमा बोलि बदलेर अँ केहि दिन अगाडी भएकों थियो भनेछ। उसको फेसबुक म्यासेन्जरमा पनि कोहि कसै संग कुराकानी भएको देखिएन।
कम्पनीमा कुनै संग झैँझगडा नभएको, कम्पनीबाट कुनै मानसिक दबाब नभएको उनले आखिर किन गरे त् आत्महत्या ?
आमा तपाइको छोरा संग फोनमा के बात भएको थियो ? छोराले के के भनेको थियो ? के हुनु बाबु उही सन्चो विसन्चो त् हो वृद्ध आमाको जवाफ थियो। आमा आफै डाँडामाथिको घाम भएकी छिन्, उनलाई कान्छो छोरा अस्ताएको खबर सुनाउन नसकेर फोन यत्तिकै काटिदिए।
श्रीमान र भाइको आत्महत्याको खबर श्रीमती र दाइलाई सुनाए। तर उनको परिवारहरुबाट आएको कुरामा अलिकति शोकबोध पनि भेटिएन। आत्महत्या गरेको भिडियो पठाउ, कम्पनीले बिमा रकम दिन्छ होला नि ? खै कम्पनीले त् हामीलाई फोन गरिन नि? भन्ने जस्ता प्रश्नले के अर्थ जनाउँछ ?
कम्पनि भित्र गोदाममा आत्महत्या गरेको सबै रेकर्ड सिसिटिभीमा कैद भएपछी कम्पनि र अरु नेपालीहरुलाई उतिसाह्रो प्रशासनिक झन्झट त भएन। मर्ने त् मरेर गए तर मानसिक रुपमा भने अरुलाई धेरै तनाव दिएर गए। त्यहि झुण्डिएको कम्पनी भित्र दिन रात काम गर्नु पर्नेहरुलाई तनाव स्वाभाविक हुने नै भयो।
समस्या जे सुकै भएपनि समस्याको सामाधान को उपाय आत्महत्या हुँदै होइन। दुख, कष्ट, तनाव, उतारचढाव, आभावको बिचमा पनि जिन्दगी सुन्दर छ त्यो सुन्दर जिन्दगी को भोग भनेको बाँचेर गर्नुपर्छ।