चु रेडियो नेपाल हिन्ना (यो रेडियो नेपाल हो )
गोकुल थोकर
‘माम्’ (हजुरआमा) नेपाली भाषाका धेरै शब्द जान्दैनथिन् । घरमा तामाङ भाषामात्र प्रयोग हुन्थ्यो । हामी दाजुभाइ दिदीबहिनीले नेपाली भाषामा कुरा गरे माम्लाई मन पर्दैनथ्यो । कतै नेपाली शब्द परि हाले ‘लु चु बामन दो दाजी । राङ्ला भाषा आसेबा ।’ (यो बाहुन बन्न लाग्यो । आफ्नो भाषा नजान्ने ?) उनी थर्काउँथिन् । माम्ले आखे(हजुरबा)लाई त मौका परे बजाउँथिन् हामी जाबाको के चल्नु ?
घरमा तामाङ भाषा राम्रो भए पनि स्कुलमा हाम्रो नेपाली भाषाको बिजोगथ्यो । सर आयो । तँहरु कता जाने ? हामीहरु आयो । तँपाई ढिला भयो । आदिइत्यादी । क्षेत्री, वाहुन साथीहरु जस्तै बोल्न खोज्यो मरे नहुने ।
शुद्धशुद्धि लेखन पनि त्यस्तै । आफूलाई एकदम शुद्ध लेखे जस्तो लागे पनि मिल्दै नमिल्ने । बहुबचन लेख्यो एक बचनमा हुने एक बचनमा लेख्न खोज्यो बहुबचनमा । कताको पुलिंग शब्द कताको स्त्रीलिंग शब्द । झ्यापका झ्याप लेख्यो के मिल्दैन मिल्दैन । बोल्ने र लेख्ने एकदम कमजोर । हुँदा हुँदा म कक्षामा बोल्ने कम सुन्ने बढि गर्न थाले । त्यसो गर्दा एउटा तिनका बोल्ने शैली थाहा भो अर्को मेरो बोली सुनेर साथीहरु नहास्ने भए । आफु हास्य पात्र बन्न परेन ।
एक दिन होइन दुई दिन होइन । जिन्दगीमा राम्रो नेपाली बोल्न लेख्नलाई पनि ‘च्यालेन्ज’ नै भो । मलाई लाग्थ्यो मेरो शुद्धशुद्धि जिन्दगीभर यस्तै हुनेछ । जबसम्म तामाङ भाषा घरमा बोलिन्छ । माम्ले नेपालीमा हामीसँग कुरा गर्दिनन् । झन कक्षा चढ्दै गयो सरहरु भन्छन् ‘अरु ठीकै छ केटा लेखाई त ‘गालखाँडी’ छ । मेहनत गर ।’
आफ्नो हालत बिजोगको छ । सरले भनेका कुरा तामाङ भाषामा बुझेर नेपालीमा बोल्नु पर्ने लेख्नु पर्ने । पढेका किताब पनि त्यस्तै हो । नेपालीमा लेखिएका किताब तामाङ भाषामा उल्था गरेर बुझ्छु । आफ्नो दिमागमा नेपाली शब्दकोष धेरै छैनन् । भएका जति छन् ती सबैका प्रयोग भएका भएकै छन् । कति कति बेला तामाङमा उत्तर आउँछ नेपालीमा लेख्न खोज्यो मरे आउँदैन । घाँटी भित्र अट्किने भनेको यस्तो होला ।
मलाई लाग्यो सबै तामाङ भाषाले मेरो पढाई खाने भो । माम्को पनि ठूलो हात छ पढाई बिग्रिनुमा । नेपालीमा बोले मेरो नेपाली सुधार हुन्थ्यो कि ? झिनो आशा बाँकी नै छ । हुँदा हुँदा मलाई तामाङ भाषा बोल्नै नपरे हुन्थ्यो जस्तो लाग्न थाल्यो । माम्सँग कुरा गर्दा पनि एक दुईवटा शब्दले नै सबै कुराको उत्तर दिने भएँ । स्कुल पनि जान मन नलाग्ने जस्तो हुन लाग्यो ।
स्कुलमा साथीभाइ सबै क्षेत्री बाहुन थिए । तामाङ विद्यार्थी स्कुल भरिमै दिदी, दाइ र म थियौ । बाटोभरि हामी खेल्दै उफ्रिदै हिड्थ्यौ । स्कुलमा तामाङमा बोल्दा अरुले के भन्लान भन्ठानेर बोल्दैनथेँ । तामाङ हुनुको पीडा जस्तो लाग्थ्यो । बरु बाहुन, क्षेत्रीको बच्चा भएको भए भन्ने लाग्थ्यो ।
नेपाली मात्र बोलेको बोलेकै गर्ने रेडियो घरमा थ्यो । स्कुल जानु पहिले रेडियो के बज्छ के हुन्छ । म त्यति सुन्दैनथेँ । मतलब पनि थिएन । खेल्नु उफ्रिनु । घाँसे मैदानमा फट्याङ्ग्रा लर्घादै दौडिनु । हामीले थिरथिरे भन्ने ‘ड्राइगन फ्लाई’ किरालाई समाउनु । हेलिकप्टर भन्दै उडाउनु । बाल मतलब रेडियोको ।
नेपाली सुधार गर्न रेडियो सुन्न थालियो । कस्ले कस्लाई के भन्यो । कता के भैराको छ । सबै दिनदिनै सुन्न थालियो । रेडियोमा बोल्नेले झै नेपालीमा बोल्न पनि थालियो । कहिले एक्लै कहिले दिदीभाइ मिलेर ।
एक दिन स्कुल खै के बिदाथ्यो । बिहान हामी रेडियो सुन्दैथियौ । साढे नौ बजे तिर हुनु पर्छ । अब सुन्नुहोस तामाङ भाषामा समाचार । एक छिन त आफै चित भइयो । होला र ? रेडियो नेपालले हामी जस्ता तामाङका भाषामा समाचार भन्ला र ? म आफै दङ परेँ । समाचार आउनु अघिको धुन बज्यो । मेरो ज्यानमा अचम्मको करेन्ट लागे जस्तो भो । भन्छ कि क्या हो तामाङ भाषामै समाचार ? अघि उद्घोषकले भनेको कुरा साँच्चै सुनेको हो कि होइन ? आफै दोधारमा परेँ । ‘चु रेडियो नेपाल हिन्ना । रमिता लामा ग्याम्से साङ्ग्युर न्यानस्युगो । ‘ (यो रेडियो नेपाल हो । रमिता लामाबाट समाचार सुन्नुहोस् । )
लौ हाम्रै भाषामा समाचार आयो । गर्बले छाती चौडा भए जस्तो भो । सास फुले जस्तो भो । खुशीले मनमा के गरुँ के गरुँ भो । कुदेर गएर माम्लाई एकै सासमा तामाङ भाषाको समाचार आएका कुरा सुनाएँ । ‘सधै आउँछ नी । तैले आज सुनिस् ।’ बुढीलाई के के न सुनाएँ भनेको । बासी कुरापो सुनाएछु ।
त्यो जमना रेडियोको थियो । रेडियो नेपालको । रेडियोले जे भने पनि हामी पत्याउँथ्यौ । टन्टालापुर घाम लागेको बेला आज मध्यपहाडी क्षेत्रमा पानी पर्ने संभावना छ । हामीलाई लाग्थ्यो आज हाम्रै तिर पानी पर्छ । भलै त्यो रेडियो नेपालले भनेको मिल्दैनथ्यो । तैपनि घुम, प्लास्टिक, छाताको जोहो गरिन्थ्यो । रेडियो नेपाल भनेको रेडियो नेपाल नै थ्यो । त्यही रेडियो नेपालबाट तामाङ भाषाको समाचार आयो ।
यस अघि मलाई लाग्थ्यो तामाङ भाषा भनेको कही कतै प्रयोग हुदैन । घरमा माम्सँगै मात्रै हो । म झुटो ठहरिएँ ।
…………………….
अहिले नेपाल भरि टोल छिमेकमा एफएम रेडियो छन् । रेडियोमा काम गर्ने रेडियोकर्मी पनि धेरै छन् । तामाङ भाषामै कार्यक्रम बनाउने बजाउने रेडियो पनि धेरै छन् । तामाङ पत्रकार दुई सय भन्दा बढि नै होलान् । तामाङ पत्रकारिताको स्तरियताको मापन गरि हाल्ने बेला भएको छैन होला तै पनि काम गरि रहेकै छन् । रेडियोमा तामाङ भाषाको प्रशारण हुन थालेको पनि चौबीस बर्ष भैसकेछ ।
आगमी दिनमा तामाङ पत्रकार भैहिड्न देख्दा सजिलो लागे पनि त्यति सजिलो छैन । नेपाली भाषामा पत्रकारिता गर्नलाई बाहुन क्षेत्री पत्रकार जतिकै भाषा बनाउन पर्यो । जे ‘विट’मा गर्ने हो त्यही ‘विट’को राम्रो ज्ञान लिन पर्यो । राम्रा लेख्ने बोल्नेको हेर्ने पढ्ने गर्नु पर्यो । नत्र हामी यति धेरै छौ भनेर टाउको गनेर मात्र हुँदैन । सधै रेडियोमा सेलो जुहारी बजाएर नाचेर मात्रै पनि पत्रकारिता अघि बढ्दैन । अब बिस्तारै तामाङ पत्रकारिताको स्तरीयता बढाउनु पर्यो । सबैलाई चौविसौ तामाङ प्रशारण दिवसको शुभकामना ।