नेपाली सम्पर्क समितिले नोभेम्बर २५ मा रजत जयन्ती मनाउने
दक्षिण कोरियाको पुरानो संस्था नेपाली सम्पर्क समिति(एनसीसी)ले रजत जयन्ती मनाउने भएको छ । संस्था स्थापना भएको २५ वर्ष पुगेको अवसरमा नोभेम्बर २५ आइतबार रजत जयन्ती मनाउन लागेका हो ।
रजत जयन्तीको अवसरमा संस्थाले स्मारिका प्रकाशन गर्नेछ । साथै दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थालाई सम्मान गर्न लागेको संस्थाकी अध्यक्ष अञ्जु केसीले बताइन् । ‘हामी दक्षिण कोरियामा रहेका सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्थालाई सम्मान गर्नेछौ । यसले उहाँहरुलाई आगमी दिनमा झन राम्रो काम गर्न प्रेरणा दिन्छ भन्ने ठानेका छौ ।’
नेपाली सम्पर्क समिति सन् १९९३ मा स्थापना भएको हो । तत्कालिन समयमा दक्षिण कोरियामा नेपाली दूतावास नभएकोले जापानमा रहेको नेपाली दूतावाससँग समन्वय गरेर प्रशासनिक कार्यमा सहयोग गरेको थियो । त्यसैले एनसीसीलाई ‘पुरानो राजदुताबास’ भन्ने चलन छ ।
अहिले पनि एनसीसीले बिभिन्न खालको समाजिक कार्य गर्ने गर्छ । साथै दक्षिण कोरियामा रहेका बिभिन्न संघसंस्थाहरुको छाता संगठनको रुपमा काम गर्दै आएको छ ।