खेल जगतमा छुट्टै ग्रहका ज्लाटान
सामान्य फुटबलर वा सामान्य मानिस त्यति अभिमानी स्वभावका साथ जिउन सक्दैनन्, तर ज्लाटान इब्राहिमोभिचका लागि त्यो सामान्य विषय हो । किनकी उनी ज्लाटान हुन् ।
स्विडिस स्ट्राइकरको व्यक्तिगत विवरणले देखाउँछ, उनले युरोपका सबै ठूला क्लबमा राज गरिसकेका छन् । अयाक्स, युभेन्ट्स, बार्सिलोना, मिलानका दुवै टिम, पेरिस सेन्ट जर्मन (पिएसजी) र म्यानचेस्टर युनाइटेडका जर्सी लगाएर उनले आफ्नो प्रभाव विश्वलाई देखाइसकेका छन् । मैदानमा उनले अत्यन्तै शानदार गोलहरु थुप्रै गरे । विपक्षी पोष्टमा धावा बोल्दा उनी जति स्वतन्त्र र आरामदायी देखिन्छन्, बोल्नुपर्दा पनि उनी धक मान्दैनन् । लागेका कुरा निर्धक्कसँग नडराइकन बोल्नका लागि पनि उनी परिचित छन् ।
स्विडेनका पूर्व अन्तर्राष्ट्रिय स्ट्राइकरले करियरमा विभिन्न क्लबबाट गरी २५ वटा मुख्य उपाधि जितेका छन् । देशका लागि उनी सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । विकिपिडियामा हेर्ने हो भने उनले ४३ वटा ठूला व्यक्तिगत सम्मान पाएको देखिन्छ ।
युरोपमा जमाउँदै आएको उनको प्रभावले अमेरिकी मेजर लिग (एमएलएस)को डेब्यु सिजनमा पनि निरन्तरता पायो । एलए ग्यालेक्सीका लागि गरेको उच्च प्रदर्शनले ज्लाटानलाई लिगको उत्कृष्ट ११को सूचीमा समेट्नुका साथै वर्षको उत्कृष्ट नवप्रवेशी खेलाडीको पुरस्कार दिलायो । ४० यार्डबाट गरेको सनसनीपूर्ण गोलका लागि उनले सिजनकै उत्कृष्ट गोलको पुरस्कार पनि जिते । एलए डर्बीबाट डेब्यु गर्ने क्रममा उनले सनसनीपूर्ण गोलबाट खेल ३–३ को बराबरीमा ल्याएका थिए । खेल इन्जुरी समयको पहिलो मिनेटमा चलिरहेका बेला उनले अपत्यारिलो पारामा गोल गर्दै आफ्नो उपस्थिती प्रमाणित गरेका थिए ।
बिबिसी रेडियो फाइभले ३७ वर्षे फरवार्डसँग उनका गोल, म्यानचेस्टर युनाइटेडमा रहँदाको समय, एलए रोज्नाको कारण तथा भित्तामा आफ्नो कुरुप खुट्टाको फोटो झुण्ड्याएको बारेमा कुरा गरेको थियो ।
‘सुरुआतमा गोल गर्नु प्राथमिकताको कुरा थिएन । त्यो बेला कोसँग उत्कृष्ट स्किल र टेक्निक छ भन्ने कुराको महत्व थियो । मैले ती सबथोक आफूमा विकास गरेँ । त्यसपछि एउटा समय आयो, जहाँ यो उच्च स्तरमा पुगेपछि प्रदर्शन गर्नुपर्छ भन्ने भयो । स्ट्राइकर भएपछि बढीभन्दा बढी गोल गर्नुपथ्र्यो । अन्यथा टिममा आफ्नो अर्थ रहँदैनथ्यो,’ ज्लाटानले बिबिसी रेडियो फाइभसँग भनेका छन्, ‘म युभेन्ट्समा आएपछि यस्तो परिवर्तन भएको थियो । सबैथोक मेरा लागि नयाँ थिए । मेला लागि त्यो ‘वाउ ! ठूलो क्लब, ठूला खेलाडी, ठूला प्रशिक्षक, ठूलो इतिहास’ जस्तो थियो ।’
‘अभ्यासको पहिलो दिनपछि नै तत्कालिन प्रशिक्षक फाबियो कापेलोले मलाईमात्र महत्व दिएजस्तो लाग्न थाल्यो । उनले ‘इब्रा’ भनेर ममाथि अभ्यास केन्द्रित गर्थे । उनले एकेडेमी र युवा टिमबाट ल्याएका खेलाडीसँग मैले अभ्यास गर्थें । उनीहरु राम्रो क्रस फाल्थे, म त्यसलाई गोलमा परिणत गर्थें । हरेक दिन कुनै बेला मिलाएर ३० मिनेटका लागि मलाई घर जान मन लाग्थ्यो । किनकी म निकै थाकिसकेको हुन्थेँ । मलाई गोलकिपर र पोष्ट हेर्न पनि मन लाग्दैनथ्यो । कानमा खाली प्रशिक्षकले इब्रा भनेको मात्र बजिरहन्थ्यो । त्यो भनेको सट हान्नु, खाली हानिरहनु थियो भन्ने मैले बुझेको थिएँ । ती सट राम्रा वा खराब हुन्, त्योसँग प्रशिक्षकलाई मतलब थिएन । उनी खाली मलाई हानिरहन लगाउँथे ।
अन्तमा म एउटा मेसिन बनेँ । पोष्टको अगाडि गोल गर्नुमात्र मेरो परिचय बन्न थाल्यो । इटालीमा निक्कै उत्कृष्ट रणनीतिक फुटबल खेलिने भएकाले एउटा स्ट्राइकरका लागि सजिलो थिएन । म अहिले पनि पाउलो माल्डिनी, एलेसान्द्रो नेस्टाजस्ता खेलाडीको विपक्षमा खेलेको सम्झिन्छु । उनीहरुविरुद्ध खेल्दा जहिल्यै पनि आधामात्र मौका पाइन्थ्यो । उनीहरुको पछाडि पनि डिडाजस्ता विश्वस्तरीय खेलाडी बाँकी नै रहन्थे । तर म भाग्यमानी भएँ, किनकी जियानजुइजी बुफोनजस्ता खेलाडी मेरा अभ्यासका सहकर्मी थिए । उनको अगाडि लिलियन थुराम र फाबियो कानाभारो हुन्थे । थुराम र कानाभारोलाई कटाउन कम्ति गाह्रो हुँदैनथ्यो, त्यसपछि पनि बुफोन हुन्थे । अभ्यासमा यस्ता खेलाडी पाउनुले मलाई धेरै सजिलो भयो । अभ्यासमा पाएको त्यो वातावरणको बढि भन्दा बढि सदुपयोग गरेपछि गोल आफै हुन थालें ।’
इङल्यान्ड सरुवा
इङल्यान्ड जाने बेला मैले विश्वास गर्ने थुप्रै खेलाडीसँग सोधेको थिएँ । उनीहरुले मलाई इमान्दार भएर सल्लाह दिए । सबैले मलाई इङल्यान्ड जानु उचित नहुने सल्लाह दिएका थिए । इङल्यान्ड जाँदा मेरो पूरा करियर एउटै सिजनले समाप्त गर्न सक्छ भन्ने उनीहरुको चासो थियो । राम्रो गर्न नसके ‘इङल्यान्डमा त केही गर्न सकेन नि’ भनेर पूरा करियरको राम्रो प्रदर्शन छायाँमा पर्न सक्थ्यो । तर मलाई त्यही कुराले तान्यो, मैले चाहेको चुनौती त्यही थियो ।
मैले कसैको सल्लाह मानिन, किनकी म इङल्यान्डमा गएर सफल हुने चुनौती मोल्न चाहन्थेँ । उनीहरु म बूढो भइसकें भन्ने ठान्दथे । म ३५ वर्षको भइसकेको थिएँ र मैले प्रिमियर लिगलाई पनि बूढो बनाएँ । म को हुँ भनेर सबैलाई बुझाउन मलाई तीन महिना लाग्यो । त्यो मेरा लागि ठूलै चुनौती थियो र म कहिल्यै पनि चुनौतीबाट भाग्न चाहिन ।
पाउल पोग्बा र प्रिमियर लिग
युनाइटेडमा मैले बिताएका समय स्वर्णिम थिए । म उनीहरु सबैलाई एकदमै मिस गरिरहेको छु । वाजा (वायन रुनी), माइकल क्यारिक, अनि ती युवा खेलाडीहरु जो फुटबलमार्फत् आफू को हुँ भनेर विश्वलाई चिनाउन चाहन्थे । जसमा राम्रो प्रदर्शनको भोक थियो । उनीहरु सबैलाई म अहिले एकदमै मिस गरिरहेको छु । मैले त्यहाँ सबैलाई चिन्ने मौका पाएँ । म सबैभन्दा परिपक्व थिएँ । युवाहरुसँगको त्यो संगत पनि बडो रमाइलो थियो ।
पाउल पोग्बासँग मैले त्यसअघि कहिल्यै खेलेको थिइन । एउटा व्यक्तिका रुपमा मैले उनलाई चिनेको पनि थिइन । जब मैले उनलाई चिने, उनी एउटा गज्जबको मानिस र गज्जबको फुटबलर हुन भन्ने थाहा भयो । तर उनलाई सही मार्गदर्शनको भने आवश्यकता छ । पोग्बा एउटा व्यावसायिक खेलाडी हुन् । उनी कुनै पनि खेल वा अभ्यास शिविर छुटाउन चाहँदैनन् । तर मानिसले यस्तो कुरा देख्दैनन् । मानिसको चासो हुने भनेको टेलिभिजनमा देखिने मैदानभित्रको ९० मिनेट हो । त्यसैले खेलाडीले त्यही ९० मिनेटमा उच्च प्रदर्शन गर्न सक्नुपर्छ ।
कसैसँग तालमेल मिल्यो भने त्यसले असर देखाउन थाल्छ । मैदानभित्र हामीबीचको सम्बन्ध गज्जबको थियो । हामीले मैदानमा एक–अर्कालाई धेरै सहयोग पुर्यायौं । मलाई उनको र उनलाई मेरो आवश्यकता भइरहन्थ्यो । युनाइटेडको पहिलो वर्ष निक्कै सुखद् रह्यो । उनीहरुले मलाई बेन्जामिन बटनजस्तो अनुभव गराए । म मेरो उमेर प्रत्येक दिन घट्दै गयो । त्यसपछि दुर्भाग्यजनक रुपमा मलाई चोटले सतायो ।
म १० वर्षअघि आइन भनेर प्रिमियर लिग खुसी हुनुपर्छ । किनकी म पहिल्यै आएको भए कथा अर्कै हुन्थ्यो । मैले करियरमा गरेका सबै गोल प्रिमियर लिगमै हुन्थे । म सही क्लबमा पुगेँ । युनाइटेड र त्यसको जर्सीमा म छाउनु थियो, जुन मैले गरेँ । तर चोट लागेपछि मेरो अवस्थामा एकाएक ठूलो परिवर्तन आयो । मलाई करियरमा कहिल्यै यस्तो गम्भीर चोट लागेको थिएन । म सुपरम्यानजस्तो थिएँ । म कसैले तोड्न नसक्ने चीज जस्तो थिएँ । ज्लाटानलेमात्र ज्लाटानलाई चोट दिन सक्थ्यो ।
त्यसपछि मैले आफैंसँग भनेँ, ‘मैले फुटबलबाट यसरी बिदा लिन खोजेको होइन । धर्मराएर वा कमजोर अवस्थामा कसैले अब पुग्यो भनेको बेला फुटबल छोड्नु मेरो चाहना थिएन । त्यसैले उच्च फर्ममा फर्किनु मेरो नयाँ चुनौती बन्यो । त्यसपछि फेरि मैले आफैसँग पूर्ण रुपमा फिट भएर पुरानै दिनमा जस्तो फुटबलका लागि तयार हुने बाचा गरेँ । त्यसो गर्न सकिन भनेँ फुटबललाई निरन्तरता दिन्न भन्ने अठोट थियो ।
चोटपछि जब म टिममा छनोट भएँ, मैले जोजे माउरिन्होलाई भनेँ, ‘म तिमी वा मेरा टिम सहयात्रीलाई निराश पार्न चाहन्न । तिमीसँग चोटभन्दा अगाडि एउटा ज्लाटान थियो, अहिले चोटपछि अर्को ज्लाटान छ । म अहिले मानिसहरुलाई हेर्ने बानी लागेको ज्लाटान होइन । त्यो भएर म टिमलाई यो ज्लाटान दिन चाहन्न, किनकी म तयार छैन ।’
युनाइटेडसँगको दोस्रो वर्ष सुरु हुँदा पनि म तयार भइसकेको थिइन । मलाई बेग्लै महसुस भइरहेको थियो । मलाई शून्यबाट सुरु गर्न लागेजस्तो अनुभव भइरहेको थियो । मैले घुँडालाई कसरी फुटबल खेल्ने भनेर फेरी सिकाउनु पर्ने भयो । केही समयपछि मेरो आत्मविश्वास बढ्दै गयो । त्यसपछि मलाई सहज अनुभव गर्नका लागि पनि नयाँ वातावरण आवश्यक भयो ।
मैले श्रीमतीसँग यस विषयमा कुरा गरेँ । उनले पनि कुनै दिन एलएमा बस्ने इच्छा देखाइन् । मैले एलए रोज्नुका धेरै कारणमध्ये त्यो पनि एउटा हो । एलएले मलाई नभई मैले एलए रोजेको हुँ । यहाँ मेरो परिवार खुसी छ । तर नकारात्मक कुरा गर्ने हो भने स्विडेन र यहाँको समयअन्तर धेरै छ ।
एलएमा म केही नयाँ गर्न चाहन्थेँ । मेरा लागि होइन । क्लबका लागि मेरो आगमनले नयाँपन महसुस होस्, मेरो उपस्थितीको मूल्य देखियोस् भन्ने मेरो चाहना थियो । मैले आफूलाई प्रस्तुत गर्न धेरै समय लगाइन । ग्यालेक्सीमा पहिलो खेल खेल्ने क्रममै मैले राम्रो प्रदर्शन गरेँ । क्लब र समर्थक मेरो आगमनबाट खुसी भए ।
मेरी श्रीमती मेरो फोटोसँग रमाउन छाडिसकिन् । ‘अब अति भयो । म तिमीसँग वास्तविक जीवनमै रमाउन चाहन्छु’ भन्छिन् । भित्तामा मेरो खुट्टाको एउटा फोटो छ । त्यो म र मेरो परिवारको वास्तविकता हो । त्यसैका कारण अहिले म यहाँ छु । तिनै दुई खुट्टा मेरो पहिचान हुन् । तिनै खुट्टाको कारण म यो सुन्दर खेल खेलिरहेको छु । त्यसैले ती खुट्टा कुरुप भए पनि हामी वास्ता गर्दैर्नौ । ती खुट्टालाई चुमिरहन मन लाग्छ । हरेक फुटबलरका खुट्टा कुरुप हुन्छन् । खुट्टामा सुन्दरता खोजिनु पनि हुन्न ।
म आफ्नै ग्रहबाट आएको हुँ । मसँग जे छ, त्यो अरु कोहीसँग पनि छैन । मलाई मानिसहरु फरक ढंगले हेर्छन् । उनीहरु मलाई आत्मीय स्वागत गर्दैनन् । उनीहरु मलाई अरुजस्तै हो भन्ने महसुस हुन दिँदैनन् । म फरक ढंगले आएको हुँ । त्यसैले आजकाल उनीहरु मलाई पछ्याउन चाहन्छन् । म आफ्नै ग्रहबाट आएको हुँ । ज्लाटान ग्रहबाट !