चासोक तङ्नाम मनाउन वरिष्ठ गायीका झुमा लिम्बू र दिपा सुहाङ कोरिया आउने
नेपालको राष्ट्रिय पर्व अर्थात लिम्बूहरुको मौलिक पर्व चासोक तङ्नाम (उधौली पर्व) मनाउन वरिष्ठ गायीका झुमा लिम्बू र दिपा सुहाङ कोरिया आउने भएका छन् । किराँत याक्थुङ चुम्लुङ्ग बुसान शाखाले डिसेम्बर २३ मा आयोजना गरेकाे कार्यक्रममा सहभागी हुन काेरिया अाउने भएका हुन् । कार्यक्रममा गीतसंगीतसँगै नेपाली कला संस्कृति झल्किने विभिन्न सामुदायका मौलिक नाचहरु प्रस्तुत गरिने अायाेजकले जनाएका छन् ।
# को हुन झुमा लिम्बू?
नेपाली शास्त्रीय संगीत र सुगम संगीत मा आफ्नो अलग स्थान बनाउन सफल वरिष्ठ गायिका झुमा लिम्बू पछिल्लो समय संगीतको फरक आयामबाट उदाइरहेकी छिन। पछिल्लो समय उनको मुन्धुमी विधाको संगीत “खासाम” र SOUNDS OF MUNDHUM अन्तर्राष्ट्रिय मञ्चमा गुन्जिसकेका छन् । नेपाली सुगम संगीतबाट सांगीतिक यात्रा थालनी गरे पनि पछिल्लो समय मुन्धुमी संगीत र नेपाली रैथाने संगीतको मौलिकता खोज अनुसन्धान गर्न धेरै समय खर्च गरिसकेकि छिन ।
SOUNDS OF MUNDHUM अनादि कालदेखि मुखमुखै प्रवाहित भई आएको लिम्बूजातिको विविध मुन्धुमहरूमा विषयवस्तु अनुकूल गायन–वाचन गर्ने आफ्नै परिपाटी, पद्धतिका साथै भाषा, शैली, छन्द र लय हुन्छन् । उठान गर्दादेखि अन्त गर्दासम्म आ–आफ्नै विशिष्ट शैली, विधि र भाषा–संरचनाको प्रयोग गरिन्छ । लिम्बू जातिको मुन्धुम भनेको गायन वाचनसँगै पूजा–अनुष्ठान पनि हो । मानवजीवन विपदाले सदा घेरिएको हुन्छ । विपदाबाट, कालको मुखबाट पनि उम्कनका लागि लिम्बू दैनिक जीवनमा पूजा अनुष्ठान भइरहन्छ । तिनका आफ्नै तरिका, विधि विधान वा व्याकरण हुन्छन् । जातीय पुरोहित फेदाङ्माहरू पनि भिन्न भिन्न हुन सक्छन् । अवसर विशेषले मुन्धुम गायन–वाचनका आफ्नै भाषा, लय र छन्द हुन्छन् । कुनै छोटाछोटा भाकाका, कुनै लामो लेग्रो तान्नुपर्ने हुन सक्छन् । तिनले प्रयोग गर्ने तानाबाना अथवा सांगीतिक सामग्री र आनुष्ठानिक सामग्री पनि भिन्न हुन्छन् । बेलाबेलामा समय पनि भिन्न हुनसक्छ । थान पनि भिन्न हुन सक्छ । तथापि मुन्धुम–संगीतको नादभित्र मन्त्र र गायन–वाचनमा लिम्बू जनजीवनलाई उसकै परम्परागत सांस्कृतिक लय र गतिमा अनि उसकै रूप र सौन्दर्यमा प्रस्तुत गर्ने जमर्को गरिएको हुन्छ । मुन्धुमको संगीत–संस्कृतिको विशेषता हुन् यी । यिनीहरूलाई बिम्बका रूपमा वहन नगर्ने लिम्बू संगीत रैथाने लिम्बू संगीत हुन सक्दैन । भाव–सम्प्रेषणका लागि शब्द (भाषा) हरू अपर्याप्त हुन्छन्, त्यसैले शब्द (आवाज, नाद) को सहयोग कविता लेखनमा पनि लिइन्छ । झन् संगीत त सुरमा बाँचेकाले शब्द (आवाज, नाद) माथि बढी नै निर्भर हुन्छ भनेर नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपती एवं प्राज्ञ बैरागी काँईलाले मुन्धुम र नाद अर्थात SOUNDS OF MUNDHUM को ब्याख्या गरेका छन् ।
# चासोक तङ्नाम को महत्त्व
चासोक तङनाम ( उधौली पर्व) लिम्बूहरुले परापुर्व काल देखि नै मान्दै आएको मौलिक पर्व हो! बिशेष गरि लिम्बू सामुदाय को जीवन् दर्शन र जीवन प्रणाली प्रकृति संग अत्यन्तै घनिष्ठ रहेकोले नयाँ अन्न बाली भित्राए पछि अन्न बालि फलाउन र मानव जाती को जीवन् रक्षा गर्न प्रकृतिको अमुल्य देन छ भनि प्रकृति प्रती कृतज्ञता व्यक्त गर्न यो पर्व मान्ने गरेका छन । अनादिकाल मा मेन्छ्याम याप्मी (मानव जाति) को अस्तित्व संकटमा पर्दा सावायेहाङ हरु ले तागेरानिङ्वाफु माङ मार्फत प्रकृतिको पुजा गरे र पोरोक्मी यम्भामी (सृष्टि कर्ता ) ले बीउ बिजन दिए उक्त बीउ सावायेहाङ हरु को चेली सिवेरा वबुङ्गेक्मा ले जंगल फाँडेर छरेर फलाएर माइती हरु लाई खुवाइ मानव जातिको अस्तित्व जोगाएको जनविश्वास लिम्बू सामुदायमा छ।।