विद्यालयमा हतियार राख्न दिन ट्रम्प समक्ष सिफारिस
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको विद्यालयको सुरक्षासम्बन्धी विज्ञहरुको अध्ययन टोलीले विद्यालयका कर्मचारीलाई हातहतियार राख्न दिन सिफारिस गरेको छ ।
गत फेब्रुअरीमा पार्कल्याण्ड, फ्लोरिडामा पूर्व विद्यार्थीले गोली प्रहार गरेर १७ जनाको हत्या भएपछि गठन गरिएको टोलीले मङ्गलबार यस्तो सिफारिस गरेको हो । उक्त सिफारिसमा पूर्व सैनिकहरुलाई गार्डका रुपमा राख्ने तथा ओबामा प्रशासनले ल्याएको हतियार राख्नेसम्बन्धी निर्देशिका खारेज गर्ने सुझाव दिइएको छ ।
शिक्षा सचिव बेट्सी डिभोसको नेतृत्वमा गठन भएको समितिले बन्दुक राख्न पाउने उमेरको हद बढाउनुपर्ने मागलाई अस्वीकार गरेको छ । एक सय ८० पृष्ठ लामो उक्त प्रतिवेदनमा शिक्षकहरुलाई हिंसा नियन्त्रणका लागि तत्काल गर्नु पर्ने र प्रभावकारी कामका बारेमा सिकाउन पनि सिफारिस गरिएको छ ।
विद्यालय क्षेत्रमा प्रहरीलाई तत्काल पुग्न सक्ने बनाउने व्यवस्था ग्रामीण क्षेत्रका लागि उपयोगी हुन सक्ने समितिको सिफारिस छ ।
समितिको सिफारिसमा बरिष्ठ सुरक्षा अधिकारीहरु र पूर्व प्रहरी उच्च अधिकारीहरुको पनि समर्थन रहेको बताइएको छ । उनीहरुले पनि यही सिफारिस नै प्रभावकारी र उपयुक्त हुने बताएको समितिका सदस्यहरुले जनाएका छन् । रासस/एएफपी