दक्षिण कोरियामा ह्योल्मो समाजको सोनाम ल्होसार फेव्रुअरी ५ मा
आगामी २०१९ फेव्रुअरी ५ मा ह्योल्मो सम्पर्क समिति दक्षिण कोरियाले २१४६ औं स खम फाग ल्हो (अर्थात पृथ्वी वर्ग बदेल वर्ष) ल्होसार मनाउने भएको छ । आफ्नो कला, संस्कार, संस्कृतिलाई जर्गेणा गर्दै नयाँ पुस्तालाई कार्यक्रममा संलग्न गराइ नयाँ वर्षको शुभकामना आदन प्रदान गर्ने भएको हो ।
‘कोरियामा संख्यात्मक हिसाबले थोरै रहे पनि आफ्नो कला संस्कृति भेष भुषालाई अंगाली राखेका छौ । त्यसैले सोनाम ल्होसारको हाम्रो महान चाड हो ।’ ह्योल्मो सम्पर्क समितिका निर्बतमान अध्यक्ष पेम्बा ह्योल्मोले भने । सोनाम ल्होसार’ ह्योल्मो जातिको पुर्खौ देखि मनाउदै आएको प्रमुख चार्ड पर्व हो ।
‘परदेशमै भए पनि आफ्नो मौलिकतालाई कायमै राख्दै ल्होसार मनाउनु ह्योल्मो जातिको विषेशता हो । यस विषेश चार्डमा घर परिवार र आफन्तबाट टाढा रहे पनि एउटै थलोमा जम्मा हुदा हामी बिचमा भएको माया, सद्भाव र भाइचाराको भावनालाई अझै गाढा बनाउन सकिन्छ ।’ ह्योल्मो सम्पर्क समितिका अध्यक्ष कान्छा ज्याबा ह्योल्मोले भने । नयाँ वर्षलाई अंकित गर्दै नयाँ ध्वाजाको उठान गरी धार्मिक पुजापाठ गरिन्छ भने ल्होसार विषेश परिकार ‘देर्का,बावर’ चामलको रोटी, तरकारी र छ्यङ्गुल खाइने गरिन्छ । उक्त दिन ह्योल्मो जातिको आफ्नै सांंस्कृतिक नाचलाई विषेश रुपमा देखाइन्छ ।