आदिबासी जनजाति महासंघले जातिय चाडहरुको सार्बजनिक बिदा कटौतिको बिरोध गर्दै राजदूताबासमा ज्ञापन पत्र बुझायो
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले बिभिन्न समुदायले मान्दै आएको चाडहरुको सार्बजनिक बिदा कटौती गरेको बिरोध गर्दै राजदुताबासमा ज्ञापनपत्र बुझाएको छ । आइतबार बुझाएको ज्ञापनपत्रमा पुनः जातिय चाडहरुमा सार्बजनिक बिदा दिन माग गरिएको छ ।
महासंघका पदाधिकारी र सबै जातीय नेताहरु सहित सउलमा रहेको नेपाली दूतावासमा पुगी सामुहिक रुपमा दक्षिण कोरियाको लागि नेपालका राजदुत अर्जुनजंग बहादुर सिंहलाई सो ज्ञापनपत्र बुझाएको हो । गत बर्षसम्म सार्बजनिक बिदा दिइने भए पनि यो बर्ष देखि बिदा कटौती गरेको हो ।
ज्ञापनपत्रमा सोनाम ल्होछार, ग्याल्बो ल्होसार, तमु ल्होसार, माघी, उभौली, उधौलीमा दिइदै आएको सार्बजनिक बिदालाई पुनः दिन माग गरिएको छ । बिदा कटौतीले आफ्नो जानजातिको पहिचानमा चोट पुर्याएको र सामाजिक अन्याय तथा विभेद गरेको विज्ञप्तीमा उल्लेख छ । महासंघले आदिवासी जनजातिहरुको माग सम्बोधन नभए कडा खालको आन्दोलन गर्ने जनाएको छ । राजदुत सिंहले महासंघको मागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा र्पुयाउने प्रतिबद्ध व्यक्त गरेका छन् ।