अमेरिका–चीन व्यापारयुद्ध अन्त्य हुने आशा
अमेरिका सरकारको एक प्रतिनिधि मण्डल आगामी सोमबार र मङ्गलबार चीनको भ्रमणमा जाने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि चिनफिङ दुई देशबीच उत्पन्न व्यापारिक तनाव कम गर्न सहमत भएपछि चीन–अमेरिकाका अधिकारीबीच पहिलोपटक आमनेसामनेको वातावरण बन्न लागको हो । दुई देशका अधिकारीबीच दुई दिने वार्ता हुन लागेको चीनको वाणिज्य मन्त्रालयले जानकारी दिएको हो ।
वाणिज्य मन्त्रालयका अनुसार अमेरिकी प्रतिनिधिमण्डलेको नेतृत्व त्यहाँको उपव्यापार प्रतिनिधि जेफरी गेरिसले गर्नेछन् । उनले ट्रम्प र सिबीच सम्पन्न वार्ताको महत्वपूर्ण विषयमा भएको सहमति लागू गर्नेबारे चर्चा गर्ने बताइएको छ । गत वर्ष अर्जेन्टिनामा भएको जी–२० शिखर बैठकपश्चात सि र ट्रम्पबीच केही मुद्दामा सहमति हुन पुगेको थियो । उक्त बैठकपछि दुई मुलुकबीच व्यापारिक विषयमा उत्पन्न गतिरोध कम गर्न दुवै पक्षले प्रयत्न गर्दै आएका छन् ।
केही समयअघिदेखि यी दुई मुलुकको व्यापारमा एकअर्काका सामानमा जवाफी शुल्क लगाउने होडबाजी नै चल्दै आएको थियो । व्यापारिक तनाले दुई देशको सम्बन्धमै तीक्तता उत्पन्न हुने अवस्था थियो । गत वर्ष अर्जेन्टिनाको ब्युनसआयर्समा ट्रम्प र सिबीच भेटवार्ता भएपछि थप शुल्क नलगाउने तथा ९० दिनभित्र तनाव कम गर्ने सहमति भएको थियो । उक्त सहमतिपछि नै व्यापारयुद्धमा डिसेम्बर १ तारिखदेखि विराम लागेको हो ।