दक्षिण कोरियामा सोनाम ल्होछार भब्य रुपमा मनाइने : कार्यक्रमको तयारी पुरा
नेपाल तामाङ संघ दक्षिण कोरियाले तामाङहरुको मुख्य चाड सोनाम ल्होछारको अवसरमा गर्ने सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
संघको आयोजनामा फेब्रुअरी ४ तारिखमा हुने बृहत सांस्कृतिक एवं सांगीतिक कार्यक्रममा ६ जना चर्चित तामाङ कलाकार नेपालबाट आउने भएका छन् । ल्होछार सांगीतिक कार्यक्रमको लागि नेपालबाट संगीतकार एवं गायक टिका बम्जन, गीतकार एवं गायकद्धय फूलकुमार बम्जन र जीवन बम्जन, संगीतकार एवं गायक जोगलाल लामा, सेलो तथा म्हेन्दोमाया गायिका बिना घले र ताम्बा डम्फूरे धावा वाङ्गेल लामा मोक्तान कोरिया आउने भएका हुन् ।
संघका वरिष्ठ उपाध्यक्ष एवं कलाकार व्यवस्थापक संयोजक रबि लामाका अनुसार अहिले सबै कलाकारको भिजा लागि सकेको छ । फेब्रुअरी २ तारिखमा कलाकार दक्षिण कोरिया आइपुग्ने छन् । ‘यो बर्ष दक्षिण कोरियामा रहेका सबैलाई सउलको AW Convention हलमा आउन आग्रह गर्दछौ ।’ उनले भने । ‘कोरियाको दुःख भुल्ने गरि रमाइलो हुन्छ । तामाङलाई मात्र होइन सबै नेपाली साथीभाइलाई आउन निम्तो गर्दछाैं ।’
ल्होछार मुल आयोजक समितिका संयोजक तथा संघको अध्यक्ष मेघप्रसाद वाइबा तामाङले ल्होछार कार्यक्रम बृहत हुने बताए । ‘हामीले यस पटक तामाङ समुदायको सबै बिधाका कलाकार ल्याएका छौ । डम्फुरे हुनुहुन्छ । सेलो गाउने हुनु हुन्छ । फाबरे गीत गाउने पनि हुनु हुन्छ । मेन्दोमायाको गायिका पनि हुनु हुन्छ । त्यसैले तामाङको सबै क्षेत्रको कला, संस्कार देख्न सकिन्छ ।’
संघका महासचिव गोकुल थोकरले पराम्परा देखि मान्दै आएको चाडलाई बिदेशमा पनि सबै साथीभाइ मिलेर रमाइलो गर्दै मान्न पाउनु राम्रो अबसर भएको बताए । ‘हामी यस पटक भब्य हल र राम्रो कलाकारसँग मनाउँदै छौ । त्यसैले सबै कोरियाबासी तामाङ लगाएतका सबै नेपालीलाई आउन आग्रह गर्छौ । कोरियामा रहने साथीभाइले फेबु्रअरी ४ को तामाङ संघको ल्होछार सांस्कृतिक कार्यक्रम छोड्न मिल्दैन ।’ उनले भने ।
ल्होछार कार्यक्रममा ताम्बा डम्फूरे तामाङ पुस्तक, भेषभुषा (तामाङ गोइलो), तामाङ मौलिक बाजा डम्फू र तामाङ खाना परिकारको प्रदर्शनी हुनेछ । ल्होछार सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा तामाङ समुदायको पहिचानको शक्ति प्रदर्शन हुने संघका सचिव अमिर योञ्जनले बताए । उनका अनुसार त्यस दिन ताम्बा डम्फूरे, लामा लगायत आम सहभागीहरुसँग सांस्कृतिक र्याली हुने बताए ।
सांस्कृतिक कार्यक्रममा कोरियामै रोजगारीको सिलसिलामा बस्दै आएका सेलो तथा आधुनिक गायक अमन थिङ, युनिक दोङ, राज ब्लोन, ज्ञान लामा, भवस्बी बम्जन, परस्वती लामा, नीरु लामा र रहर तामाङले गाउने छन् भने मनिराज लामा, कला घ्लान, रमण पाख्रिन, डेलिना ब्लोन र कमला थोकरको नृत्य हुनेछ ।