काेरियाबाट श्रमलाई माया गर्न, लगनशिल अनुशासित र कतब्यनिष्ठ हुन सिके
म एउटा सामान्य किसान परिवारमा जन्मेकाे मान्छे। बाल्यकाल अर्थात विद्यार्थी जीवन गाँउमै व्यतीत भयो।त्योबेला दिउँसो स्कुल जाने र बिहान् बेलुकी घरायसी काम गर्ने । बिदाको दिन खेत बारीमा काम गर्ने ।वस्तुभाउ चराउने। घाँस पात गर्ने । बर्खामा धान रोप्नु पर्ने ।हिउँदमा बाली थन्काउनु पर्ने। आफ्नो घर लेकमा अनि खेती बेसिमा हुनाले लेक -बेशी उकाली ओराली गर्ने काम धेरै नै भयो।मलका भारी , धानका भारी ,धानका बिटा, गहुँका भारी ,परालका भारि बोक्ने काम हरेक बर्ष दोहोरी रह्यो । तत्कालीन अवस्थामा सडक संजालमा नजाेडिएकाेले हाम्राे गाँउ दुर्गम थियो। ६ घन्टा टाढाको जिरिखिम्ती बजारमा पैदल हिडेर गएर दैनिक उपभोग्य वस्तु ,नुन तेल चिनी लगायतका वस्तु किनेर लैजाने काम पनि धेरै गरियो। यसरी निरन्तर काम गरि खाने परिवारमा हुर्केको हुनाले म मा काम गर्ने संस्कार बिदेशीनु अगावै बसिसकेको थियो ।
त्यसैले बिदेश यात्राको एक दसक बित्न लाग्दा पनि आफ्नो काम वा पेशा मा त्यति कठिनाइ ,कष्टप्रद र असहज महसुस भएन।
सामान्य किसान परिवारमा जन्मिएको हुनाले आर्थिक अवस्था त्यति सबल थिएन ।परिवारको आकार ठुलो हुनाले छोराछोरीलाई पढाउन र हुर्काउन निरक्षर मेरो बुबा आमालाई धेरै नै दुख कष्ट थियोे ।यद्यपि बुबा आमाले छोराछोरी लाई कसैगरी पढाउने र शिक्षीत तुल्याउने लक्ष्य लिनु भयो। र छोराछोरीलाई आधारभूत शिक्षा दिलाउनु भयो। यसै क्रममा मेरो पुर्ण विद्यार्थी जीवन काल २०५२ देखि २०६३ सम्म राज्य विषम परिस्थिति बाट गुज्रिएको बेला व्यतीत भयो ।तत्कालीन नेकपा माओवादीले संचालन गरेको जनयुद्धको प्रत्यक्ष प्रभाव मेरो स्कुले जीवनमा पनि पर्यो । मेरो बुबा पनि स्थानीय वामपन्थी राजनितीज्ञ हुनुहुन्थ्यो तर मैले जानेर नजानेर बुबा को राजनीतिक मुल्य मान्यता भन्दा फरक मान्यता राखेँ र अप्रत्यक्ष रूपमा माओवादीलाई समर्थन जनाउदा बेला बेला घर परिवारको गज्जब कै गाली खाइन्थ्यो।
#बिदेश यात्रा
बुबाको अवशान पछि दाजुहरु आफै कमाइ खाने ।अभिभावक गुमे पछि छरछिमेकको हेपाहा ब्यवहार । सिंगो परिवारको जिम्मेवारी आफ्नो काँधमा आएपछि प्रवीणता तह पढ्दापढ्दै सन २००९ को अन्त्य तिर बिदेश जाने निर्णय गरे। निकै महंगो रकम तिरेर विभिन्न दलालको च्यानल मार्फत सन २०१० मा कामको शिलशिलामा म १९ बर्षे केटो युद्धग्रस्त मुलुक अफगानिस्तानको अमेरिकी सैनिक अखडामा पुगेँ। त्यहाँको कथा ब्यथाहरु बयान गर्न चाहान्न तर आफुले पाएको जिम्मेवारी इमानदारीताका साथ पुरा गर्ने कुरामा मेरो झुकाव रह्यो ।त्यहा बसिन्जेल न कसैले गाली गर्यो न कसैले केही भन्न सक्यो। त्यहाको बसाई त्यति फलदायी भएन। किनभने मोटो रकम तिरेर गएको हुनाले साहुको रिण तिर्नै बर्ष दिन लाग्थ्यो ।फेरि सैनिक कानुनको दायरा मा बस्नुपर्ने ।हामीलाई काम गर्ने ,खाने ,टिभी हेर्ने र बस्ने भन्दा अरु स्वतन्त्रता थिएन ।त्यसैले त्यहाँको बसाइ अलि कष्टकर नै बित्यो । अफगानिस्तान बस्दाबस्दै कोरियाली रोजगारिको धेरै चर्चा परिचर्चा सुने ।र मैले पनि भाषा पढेर कोरिया जाने योजना बनाए । सन २०१३ को प्रारम्भ मै अफगानिस्तानको सत्तरी – पचहत्तर हजारको जागीर माया मारेर नेपाल आए । तीन महिना जति कोरियन भाषा पढे ।परिक्षामा उत्तीर्ण पनि गरें।अनि सन २०१४ मा कोरिया प्रवेश गरेँ ।आफ्नो कार्यअवधी पूरा गरेर स्वदेश फर्किनु लागेको बेला आफ्नो संस्मरणहरु राख्न चाहान्छु।
#कोरियाली नागरिक लगनशील ,कर्तब्यनिष्ठ,आज्ञाकारी
कोरिया अहिले विश्वको समृद्ध देशहरु मध्ये एक हो।आर्थिक विकास , शिक्षा ,स्वास्थ ,रोजगारी ,शान्ति सुरक्षा अमन चयन का दृष्टि ले उत्कृष्ट मुलुक हो। तर यो देश को विगत भने अत्यन्तै पिडादायी थियाे। ३७ बर्ष लामो जापानी उपनिवेश खेपेको यो मुलुक दोस्रो विश्व युद्धको अन्त्य संगै १९४५ मा स्वतन्त्र भयो ।तर विश्व शक्ति राष्ट्रहरुले आफ्नो स्वार्थ लाद्न खोज्दा दाजुभाइ लडाएर मुलुक नै विभाजन गरि दिए ।सन १९५० देखि ५३ सम्मको कोरियाली युद्धमा करिब पच्चीस लाख निहत्था नागरिक मारिए पछि विश्व कै सबैभन्दा गरिब र कम आयस्रोत भएको मुलुकमा दर्ज भएको दक्षिण कोरिया आज विश्व कै आर्थिक सम्पन्न देश बन्न सफल भएको छ। यो देश यो स्थानमा आउन कुनै चमत्कार भएको छैन । यो त केवल राज्य र नागरिक को सहकार्य भएको देखिन्छ ।राज्य नागरिक प्रती अति नै जिम्मेवार र नागरिक राज्य प्रती उत्तिकै जिम्मेवार देखिन्छ । किनभने म आफै कोरियाली नागरिक संग एउटा परिवार भइ काम गरेको छु। मेरो सुपरभाइजर” किम दोङ छुल ” ले उनी मातहतका कामदार लाई काम अराउदा भन्ने गर्छन् कि ” काम भनेको साहुको अथवा कम्पनीको भनेर नगर । यो काम मेरो हो भनेर आत्मसात गर ।किनभने यसले हामीलाई जिउने आधार दिन्छ।हामीले राम्रो काम गरे कम्पनी लाइ फाइदा हुन्छ ।कम्पनीलाई फाइदा भए हामीले थप सुविधा पाउछौ । हाम्रो परिवार सुखी हुन्छन् ।खुसी हुन्छन्। यसरी नै कम्पनी चलिरहे देशको उन्नति हुन्छ।देश धनी बन्छ ।कम्पनी नै नरहे न हामीले काम गर्न पाउछौ न परिवार पाल्न सक्छौं ” । यसरी सकारात्मक अर्ति उपदेश दिए पछि त्यसमा कसैले कुरा काट्ने गर्दैनन् ।किनभने कोरियाली समाज अत्यन्तै आज्ञाकारी समाज छ आफू भन्दा ठुलो ले भनेको कुरा सुन्नु पर्ने, मान्नुपर्ने संस्कार छ।
कम्पनीका कामदार निर्धारित समयसम्म जिम्मेवार पुर्वक काम गर्ने गर्छन् । यहाँ को सरकारी कार्यलयमा चुस्त दुरुस्त काम हुने गर्छ। केही दिन अघि म श्रम तथा रोजगार मन्त्रालय को HRD साखा कार्यालय बुसानमा गएको थिए । अफिसमा प्रवेश गरेको मात्रै चार मिनेटमा सम्पुर्ण कागजात तयार पारी मलाई विदा दिइयो । बैंक तिर गयो भने दस मिनेटमा सबै कामकारबाही फर्च्यौट गर्न सकिन्छ ।ठुला ठुला बस टर्मिनल हरुमा मिनेट मै टिकट हात पारेर तत्काल गाडी चढ्न सकिन्छ।तर हाम्रो नेपालमा हरेक क्षेत्रका कर्मचारी राजाको काम कहिले जाला घाम भन्दै सर्वसाधारणलाई सास्ती दिने काम मात्रै गर्ने गर्छन् ।आफ्नो कर्तव्य निभाउन हिच्किचाउछन।उदाहरणको लागि २०५७ साल तिर एसियाकै तेस्रो सुविधा सम्पन्न र व्यवस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अस्पताल छुदा पनि मैलो लाग्ला जस्तै थियो। तर अहिले छेउछाउ मा हिड्दा फोहोर मैला लाग्छ कि भनेर तर्केर हिंड्नुपर्छ ।सरसफाइ गर्ने कर्मचारी छन तर घाम तापेर बस्छन ।सुविधा पुगेन भन्दै हडताल गर्दै बस्छन ।मलाई जहाँ सम्म लाग्छ हाम्रो देशले उन्नति नगर्नु नागरिकको गैरजिम्मेवारीपन पनि हुनसक्छ ।
कोरियाली जनजीवन अस्तव्यस्त
हुन त परिश्रम गरे अनुसार जीवनशैली पनि स्तरीय नै छ। दिन भरी धुलोमैलोमा झाडु लाए पनि बेलुकी घर फर्किदा धेरै जसोले आफ्नो कार चढेर जाने हैसियत बनाएका छन।परिवारलाई स्तरीय अपार्ट्मा राखेका छन ।छोराछोरी लाई स्तरीय शिक्षा प्रदान गरेका छन। सप्तान्तमा परिवार संग रमणीय ठाउँहरु मा घुम्न जाने गरेका छन। तर म संगै तीन बर्ष काम गरेका ” पार्क साङ जिन ” को दैनिकी देखेर एक तरिकाले दिग्दार पनि लाग्छ। उसको लगनशीलता देखेर मलाई थप उर्जा पनि मिल्ने गर्छ । उसको दैनिकीमा जम्मा ४ घन्टा मात्रै आराम गर्ने समय हुन्छ। उनको घर कम्पनी देखि एक घन्टा टाढा बसमा जानुपर्छ।गएर खाना पकाइ खानु पर्छ। घरमा श्रीमती छिन् तर बेग्लाबेग्लै खाना खाने गर्छन् ।कारण उनी पनि काम गर्न जान्छिन उतै खाएर आउछिन।राती अबेर सुत्ने र बिहान् सबेरै उठेर काम गर्न जाने उनको दैनिकी नै हो तर पनि मलाई गाह्रो भो ,म थाके ,म सक्दिन भन्ने शब्द कहिल्यै उच्चारण गरेनन् ।उनी सदा झै लागि रहन्छन । यो कुराबाट धेरै प्रभावित छु।कोरियामा दाम भन्दा धेरै ज्ञान कमाएको छु। लगनशीलता,अनुसासित, आज्ञाकारिता ,कर्तव्यबोध ,जिम्मेवार र ईमानदार बन्नको लागी धेरै प्रेरणादायी व्याबहार र सुझावहरु पाएको छु।
#स्नेह र सद्भाव
मेरो कोरिया बसाइमा कामको कठिनाइले कहिल्यै पनि बिरानो लागेन ।परदेश जस्तो लागेन। संगै काम गर्ने अधबैंसे दिदीहरु ,सानिमाहरु ,दाइ हरुले कहिले पनि हामीलाई ( मलाई ) बिदेशी जस्तो ब्याबहार गरेनन् । दास अथवा नोकरको जस्तो ब्याबहार गरेनन।हुन त एउटै समुहमा पाँच मुलुकका कामदार थियौं ।तर त यो देश को ,उ देश को ,यस्तो त्यस्तो कहिल्यै भएन ।सबै एकै परिवार झै मिलेर बस्यौं ।जे खाए त्यहि खुवाए।जे गरे त्यहि गराए।जेमा रमे त्यसैमा रम्न सिकाए।आफू जसरी चले त्यसै गरि चल्न सिकाए। कतिपय महिलाले गर्न नसक्ने कामहरु हामीले निर्धक्क गरि दिन्थ्यौ। उनीहरु घरबाट मिठो मीठो परिकारहरु पकाएर ल्याउने गर्थे ।आलु, मकै ,सकरखन्ड ,फलफुल ,कटुस,ओखर ,अन्डा आदि ल्याउने गर्थे ।अनि बिहान् दस बजे र बेलुकी तीन बजे बीस मिनेट विश्रामको समयमा सबै जम्मा भएर खाने गर्थ्यौ।कफि बनाएर मुखै सम्म ल्याइ दिन्थे।सुन्तला ,हलुवा ,केरा लगायतका फलफूल ताछेर मुखै सम्म ल्याइ दिन्थे ।अनि बेला बेला पार्टी खान सामुहिक रूपमा जाने गर्थ्यौ ।त्यहाँ पनि सबै कुरा पकाएर दिने गर्थे। यो माया, यो स्नेह ,यो सद्भाव सायद मैले आफ्नो मावल गाउँमा पनि पाउने थिइन् ।
#जान अन्जान समाज सेवामा,
कोरिया प्रवेश गरे संगै रोजगारीका अलवा जानेर नजानेर समाजसेवा गर्ने मौका पाए।मेरो अधिकांश समयअवधी समाज सेवामा बित्यो।डेउ नेपाली एकता समाज गजेदाेको अध्यक्ष हाल सल्लाहकार ,NRNA कोरियाको केन्द्रिय सदस्य ,किराँत याक्थुङ चुम्लुङ कोरियाको सल्लाहकारका रूपमा काम गर्ने अवसर मिल्याे। समाजसेवामा आर्थिक र समयका हिसाबले केही प्रभाव त पर्यो तर अपेक्षा गरे भन्दा धेरै कुरा सिक्न पाए ।आफ्नो आचरण र व्यक्तित्व विकास गर्नमा ठुलो टेवा पुर्याएको छ।कोरियाका प्रसिद्ध व्यक्तित्वहरु संग नजीकको सम्बन्ध राख्ने मौका पाए। नेपाली दूतावास र सरकारी अधिकारीहरु संग नजिकको सम्बन्ध स्थापित हुन गयो। कोरियाका धेरै क्षेत्रका साथी भाइहरु संग प्रत्यक्ष चिनजान गर्ने अवसर मिल्यो। समाज सेवा त्यागेर बस्ने मनस्थिति बनाए पनि समयले मलाई मुक्त हुन दिएन ।आजका दिन सम्म निरन्तर सकारात्मक कामहरु गर्ने प्रेरणादायी उर्जा मिलिरहेको छ।
समाज सेवाको क्रममा म बाट हुन गएका सबै कमिकमजोरी र मेरा भुलहरु प्रति म क्षमा चाहान्छु।यसलाइ एक मानवीय गुण भनी क्षमादान गरिदिनु होला। र अन्त्यमा आकर्षक कोरियाली रोजगारीको अवसर प्रदान गर्नुहुने नेपाल सरकार र कोरियाली सरकार प्रती हृदय देखी नै नमन टक्राउन चाहान्छु।
अंशुबर्मा लिम्बु ,तेह्रथुम
हाल काेरिया
धन्यवाद ।