रेल चढेर किम रसियातर्फ लागे, भोलि शिखर वार्ता
उत्तर कोरियाका नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । उत्तर कोरियाका सरकारी सञ्चार माध्यमले जनाए अनुसार उनी निजी रेल चढेर त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उनको यो पुटिनसँग पहिलो औपचारिक वार्ता हुन लागेको हो । रुसी राष्ट्रपतिको कार्यालयले दुवै शीर्षस्थ नेताबीच बिहीबार भ्लादिभोस्तक शहरमा वार्ता हुने जनाएकोछ । उनीहरुबीच कोरियन प्रायदीपमा आणविक समस्याका बारेमा छलफल हुने बताइएको छ ।किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गएको फेब्रुअरीमा भियतनाममा भएको वार्ता असफल भएको थियो । त्यसैले किमले रसियाको सहयोग खोजेका हुन् ।