छोरीचेलीहरुको सम्मानमा भएको रिं च्हमी कैं कार्यक्रम २०१९ सम्पन्न
तमूस्यो छोरीचेलीहरुको सम्मान सहित तमू धीं दक्षिण कोरियाले च्हमी कैं (चेलिबेटी भोज) कार्यक्रम २०१९ सम्पन्न गरेको छ । शनिबार भएको कार्यक्रम सउलमा भएको थियो भने केन्द्रीय अध्यक्ष जीत गुरुङले सभापतित्व ग्रहण गरेका थिए ।
आफ्नो हक र अधिकारको लागि सम्पूर्ण तमू(गुरुङ)हरु एक होऔं । मौलिक संस्कार, संस्कृति र पराम्पराको संरक्षण र संबर्द्वन गरौ । भन्ने नारा सहित तमूहरुको मौलिक चाड मध्येको एक बैशाख पुर्णिमा अर्थात् बुद्द जयन्तीको अबसर पारेर आयोजित कार्यक्रममा प्रमुख अतिथि संस्थाका संरक्षक भिम गुरुङ रहेका थिए । बिशेष अतिथिहरुमा एन.आर.ए.एसिया प्यासिफिक महिला उपसंयोजक जुनु गुरुङ र संस्थाका भू.पु.सचिव लोक बहादुर गुरुङ रहेका थिए । अन्य अतिथीहरुमा लिना गुरुङ, विपिन गुरुङ, सुरज गुरुङ, प्रदिप गुरुङ, धर्म गुरुङ, भिम गुरुङ, प्रितम गुरुङ, युवराज गुरुङ, श्रीराम गुरुङ, सबिन गुरुङ, तुलश गुरुङ, टेक गुरुङ,विपना गुरुङ, शान्ति गुरुङ, भावना गुरुङ र दल गुरुङ रहेका थिए ।
संस्थाका केन्द्रिय सदस्य सबिन गुरुङको स्वागत मन्तव्यबाट शुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि भिम गुरुङले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको समुद्घाटन गरेका हुन् ।
तमूहरुको संस्कार र संस्कृतिको जगेर्ना र भावी पुस्तामाझ दिगो बनाउने उद्देश्य सहित तमूहरुको पराम्परा अनुसार छोरीचेलीहरुको तर्फबाट बाबामाईती एवं दाजुभाईहरुको लागि कोशेली स्वरुप सेलरोटी, रक्सी, फलफुल र ढाकाटोपी दिएका थिए । बाबामाईती र दाजुभाईहरुको तर्फबाट सम्पूर्ण छोरीचेलीहरुको लागि सम्मान र मायाको कोशेली स्वरुप पछ्यौरी उपहार दिएका थिए ।
यसैगरि बाबामाईती एवं दाजुभाईको तर्फबाट छोरीचेली र सम्पूर्ण पाहुनाहरुलागि विभिन्न नेपाली परिकारहरु तयार गरिएको थियो भने उक्त खानपिन कार्यक्रम पश्चात् विभिन्न गुरुङ तथा नेपाली मौलिक गीतसंगीतमा रोधींको झझल्को मेटाउने खालको रमाईलो नाचगान कार्यक्रमहरु भएको थियो ।
कार्यक्रमका अतिथि एवं संस्थाका सल्लाहकार सुरज गुरुङले शुभकामना मन्तव्यका क्रममा कार्यक्रमको पृष्ठ अर्थात मौलिक पराम्परा रिं च्हमी कैं कार्यक्रमको बारेमा भनाई राख्दै
नेपालको विभिन्न ठाउंमा बसोबास गर्ने तमू जातिहरुले आफ्नो ठाउं विशेष अनुकुल विभिन्न फरक तिथिमा पराई घरमा विवाह भएर जाने छोरीचेलीहरुलाई माईतीमा बोलाएर विभिन्न मिठामिठा खानाका परिकारहरु खुवाउने र विभिन्न तितामिठा गफहरु गरेर माईती र चेलीबीचको आत्मीयता बढाउने पर्व भएको बताएका थिए ।
छोरीचेलीहरुको तर्फबाट संस्थाकी सल्लाहकार लिना गुरुङले आफ्नो मौलिक भाषा तमू क्युईमा मन्तव्य राख्दै आयोजक र सम्पूर्ण बाबामाईतीहरुको लागि सम्पूर्ण छोरीचेलीहरुको तर्फबाच धन्यवाद व्यक्त गरेकी थिइन । स्वदेशमै आफ्नै माईतीमा रहेको अनुभूति दिलाएको भनी खुसी व्यक्त गरिन् ।
यसै गरि कार्यक्रमका बिशेष अतिथि लोक बहादुर गुरुङले आफ्नो शुभकामना मन्तव्य राख्दै आफू केहि समयको भ्रमणको शिलशिलामा कोरियाको आएको मौकामा यसरी सबैसंग लामो समय पछि भेट भएर छोरीचेलीहरुलाई सम्मान गर्न पाउंदा खुसी अनुभूति भएको र तमूहरुले जुनसुकै अवस्थामा र संसारको जुनसुकै कुनामा रहेपनि तमूहरुको संस्कार ,संस्कृति र पराम्परालाई भुल्नुहुदैंन भन्ने धारणा राखे ।
कार्यक्रममा संस्थाको रिक्त पद संगठन सचिव पदमा कार्यसमिति सदस्य तुरन गुरुङलाई राखिएको छ । कार्यक्रमका सभापति संस्थाका केन्द्रिय अध्यक्ष जित गुरुङले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुका साथै आगामी दिनमा तमूहरुको मौलिक संस्कार, संस्कृति, पराम्परा,भेषभूषा,चालचलन,भाषा ईत्यादिलाई संरक्षण र संबर्द्वन गर्दै तमूहरुको एकता र दुखस्सुखमा संस्था प्रतिबद्द भएर अघि बढ्ने भनाई राखेका थिए ।