झिल्केलाई चिठ्ठी

मेरो मिल्ने साथी झिल्के निक्कै दिन पछि तिमीलाई सम्झेको छु। अनि सन्चै होला नि हैन ?म भने आफन्त र नर नाताको आर्शिबादले बाँची रहेको छु। आज हाम्रो बालापन देखि भदौरे भेल सँगै उर्लिने जबानीको यादले निकै सतायो ।झिल्के तिमीले त मलाई भुली सक्यौं होला। सँगै क ख पढ्ने स्कुले सहपाठी साथीहरू देखि गाउँबेसी मेलापातमा रमिने तिमी सँगै अरु धेरै साथीहरू लाई सम्झेको छु। अझ रमाईलो कुरा त पश्शु डाँडा उकालो नुनको भारी बोक्दा पारि रिचुवा जंगल तिर मगर्नी साईली माईलीहरुले सुरिलो स्वरमा गाउने त्यो झ्याउरे भाका हामी पनि डोको टोकमा चिप्लेटी ढुगां माथि बिसाउदै कदमको हाँगा माथि चढेर जोहरी फर्काउथ्यौ साच्चै झिल्के कति रमालो नि ति दिनहरु…..।
दु:खको कुरा झिल्के गाउँ घरमा दिनहु बढेको महंगी सँग मैले आकार लिन सकिन। त्यही भएर तिमी सँग सल्लाह मागे ।दुबै बिदेश जाउ धेरै पैसा कमाएर ल्याउला तर तिमीले मानेनौ ।र जानेको पनि रहेछौ। म एक्लै आए। सुनेको छु ।बरु तिमीले गाँउमै बसेर पल्सर चढि सक्यौ रे ।मोटर चढेर गाउँ टोल थर्काउने नगर ।तिमी शिक्षित छौ भनी रहनु पनि नपर्ला ।सञ्जंन बनी सभ्य समाजको निर्माण गर ।सामाजिक कुरिटीहरु हटाउनु ।आफू सानो भएपनि तिमी भन्दा केही जेठो भएकोले यो सल्लाह दिदै छु।
म भने यहाँ कक्षा-९ मा पढेको साउदी अरब जाने सन्तबीरको जस्तै एउटा कथाको पात्र बनेको छु। दु:खको चेपमा हुर्केर साँघुरो जीवन जिउने भएपनि आफ्नो जिन्दगीको लम्बाई चौडाइ बढी सोच्ने गर्छु। अनि झिल्के अचम्मको कुरा तिमी त्यति धेरै शिक्षित भएर पनि छोरा जन्माउने आशमा ४ बैनि छोरीको बाउ बनी सक्यौं रे ।ओई झिल्के छोरी सन्तान होईन भन्ने भाईरस तिम्रो मनमा कसरी पस्यो ?अझ तिम्रो कान्छी छोरी जन्मिदा त बुहारीलाई सुतकेरी दाना पानी समेत नखुवाएर उल्टै उनी माथि रिस पोख्न खोजौं रे। छोरी पनि छोरा नै सम्झेर अब देखि त्यस्तो ब्यबहर नगर्नु।
अनि अर्को कुरा फेसबुकमा देखेको पारि गाउँको धने दाईको कान्छो छोरा च्यामसेले पनि राजेश हमाल भन्दा लामो केश पालेछ ।उसको प्रोफाईल फोटोमा त झन आफू भन्दा लामो चुरोट पो मुखमा कोचारेको देख्छु। मेरै घर मुनिको काली बहिनीले पनि शिखा राई नाम राखेर फेसबुकमा दुई वटा औला देखाउदै मेरो poz कस्तो छ ?भनेर फोटो अपडेट गरेको देख्छु। सानेको बहिनी रंगिलाले पनि झन कुन चाहिँ लफाङगाको वालमा पो I miss you so much अनि खोइ के के पाे हो लास्टमा lop you भनेर स्टाटस लेखेर अपडेट गरेको देख्छु। सायद तिनीहरू माया प्रेममा फसेको होलान ।बिचरी सोझी काकीले आफुले खाई नखाई खुवाएर स्कुल पढाएको बल्ल जानेछ I lop u लेख्न पो। त्यसलाई सम्झाई देउ फेसबुकमा भेटिने केटाहरु भन्दा त गैरी गाउँको लाटो कान्छाले जीवनभर सुखले पालेर राख्छ।
अन्तमा झिल्के तिमीसँग धेरै कुरा गर्नु थियो यो परदेशीने चलनले गाँउघरमा बृद्द बाबा आमाहरु कति टुहुरा भए उनीहरुको भोको नाङगो समेत हेर्न नसक्दा हामीलाई कति गाली गर्दै बसेका होलान सुनाई दिनु छोराले सोधी राखेको छ।
एम बि थुलुङ, उबु अाेखलढुङ्गा
हाल काेरिया