मृत्यु सत्य छ, त्यसैले कायर 'बहादुर' नबनौं
डोलु आले मगर
ए कायर बहादुरहरु हो ,
के हामी कोरिया मेशिनमा झुण्डिएर मर्न आएका हौं ? चर्च अगाडिको रुखमा झुण्डिएर जीवनलाई निमोठ्न आएका हौं ? फेसबुकमा स्टाटस लेखेर सम्पर्कविहिन भएर बस्न आएका हौँ ? अरु कुनै माध्यम प्रयोग गरेर आफ्नै जीवन लीला समाप्त पार्न आएका हौँ ?
अरे कायर हो, मान्छेलाई दुख कहाँ छैन ? संघर्ष कहाँ गर्नुपर्दैन ? समस्या कहाँ छैन ? हामी सबै रोग,भोक,शोकले ग्रषित छौं । कारण फरक हुन सक्ला सबैमा पिडा छ। सबैसंग सुर्ता र भविष्यको चिन्ता छ। कसैले कसैको चित्त कुनै पनि काम/माध्यम् द्वारा बुझाउन सक्दैन। स्वयम् आफ्नै पनि सक्दैन। हामी सबैको आकांक्षा धेरै छ तर प्राप्ति कम छ। सिमित स्रोत र साधनले जीवन निर्वाह गर्नु छ। हामी समस्याहरुको जन्जिरले जेलिएका छौं, बेरिएका छौं। जीवन त्यो हो जसले ती समस्याहरुसंग जुध्न प्रयास गर्छ। चाहे सफल होस् या असफल, निरन्तर जीवन जिउन संघर्ष गरिरहन्छ र गर्नुपर्दछ । जीवनको वास्तविक सार त्यहि हो |
आज हामी दुइ चार पैसा कामाएर घर परिवार पाल्ने हेतुले परदेश हिड्नु परेको छ। तर हाम्रो आकांक्षा र चाहाना धेरै छन्। परदेशमा हामिले नेपालमा बसेर सोचेँ जस्तो पक्कै छैन। नेपालमा बसेर कोरियाको लाख दुइलाखको रंगीन सपना देख्नु सजिलो छ। कल्पनामै भए पनि महिनाको लाख गन्नु क्या गज्जबको आनन्द आउँछ। हो मलाई पनि आउँथ्यो। कोरिया मात्रै होइन अरु तिर पनि उस्तै हो परदेश। अफिसमा बसेर हाजिर गर्नेहरुको के कस्तो छ तिनीहरुले नै जानुन्।
हो हामि एक हिसाबले नेपालबाट लखेटिएकाहरू हौँ । आफ्नै घर परिवारबाट टाडीएका छौं । राज्यबाट लखेटिएका छौं । आफ्नै लोभ र चहानाले लखेटिन बाध्य भएका छौं। नत्र ६० लाख भन्दा माथी हामी नेपालीहरुलाई विश्वको कुना कुना पसेर पसिना बगाउनु रहर पक्कै छैन । माग अनुसारको रोजगारको आपूर्ति नहुँदा हामी लखेटिएका छौं, जिवन धान्ने उपाय खोजेर । हामी हाम्रो भूमिको सहि सदुपयोग र उपभोग गर्न नसक्दा नजान्दा राज्यले त्यो नीति निर्माण गरेर लागू गर्न नसक्दा लखेटिएका छौं। पर्देशिन बाध्य भएका छौं। त्यो डाँडा-पाखा, गाउँ वेशी हिमाल पहाड तराइमा अपार सम्पती छोडेर लाख गन्न लखेटिएका छौं रहरले र बाध्यताले ।
सबै रहर र बाध्यताले विदेशिएका पनि छैनन् । नेपालमै आफ्नै घर परिवारसंग बसेर १५-२० हजारको बैंकको जागिरेहरु विदेशिएका छन् । मास्टरी काम गर्दै गरेकाहरु पनि विदेशिएका छन् । व्यापार व्यवसाय गरेकाहरु पनि विदेशिएका छन् । ती सबै लोभ र धेरै धन कमाउने आकांक्षाले, लोभले लोभको भकारी भर्न हिडेका हुन्। आखिर लोभको भाकारी न हो कहिले पो भरिन्छ र ? आरामको हजार जागिर छोडेर लाख कमाउन आएका सिमित छन् होला । तर यो सत्य हो अधिकाशं हामी नेपालमा बसेर के गर्नु यार ? भनेरै आएका छौं र हौँ ।
हामी ठुलो सपना पालेर आएका छौं । कोरिया गएर लाख दुई लाखसम्म कमाउने सपना । दायाँबायाँ कोहि कोरिया हुनेहरुले पनि गफ दिन्छन त्यस्तै । लाख दुई लाख कमाउन कति काम गर्नुपर्छ, कति समय खटिनुपर्छ त्यो भन्दैन । ज्यान गल्छ, पसिना बग्छ, थकाई लाग्छ, पाखुरा दुख्छ, ढाड दुख्छ, निन्द्रा लाग्दैन, दिन रात भन्नु पर्दैन, गानो जान्छ तर पनि कोरियनको पाल्ली पाल्ली र यल्सिम्ही (छिटो छिटो र मिहनत गरेर) सुगोहे (दुख गर) भन्न छाड्दैन।
हो हामी लाख कमाउनुपर्ने मनोविज्ञानले ग्रसित छौं। घर परिवारको दवाव छ। छिमेकीले केहि धेरै गरि सक्यो आफु पछाडी परिएला भन्ने डाहा छ। यता कोरियन मालिकको गाली र गनगन जारी छ।आफ्नै शारीरिक समस्याहरु छन्। कामको तनाव छ । घर परिवारको चिन्ता छ। हामी धेरै समस्याहरुमा पिल्सिएका छौं, गुज्रिएका छौं। तर के हामि यी समस्याहरुबाट भागेर आफ्नै घाँटीमा पासो लगाउने ? काम गर्न नसके अरु विकल्प खोज्ने हो। नभए नेपाल फिर्ता जाने हो। हाम्रो पाखा पखेरा छन् जसले हामीलाई कुरिरहेको छ। घर परिवार छिमेकले के भन्ला भनेर हुदैन। यहाँ स्वर्गको रुप कस्तो छ जिउँदो मान्छेहरुलाई के थाहा ? सकेको गर्ने हो नसके आफ्नै देश फिर्ने हो साथी हो। आफ्नै घाँटीमा पासो लगाएर कायर बहादुर बन्नु हुदैन।
मान्छेको मृत्यु सत्य हो जसलाई हामी एक दिन ढिलो चाँडो स्वीकार गर्नुपर्छ। हाम्रो फूल अनि काँडाले सजिएको सुन्दर जीवनलाई हामीले संघर्ष गरेर अंगाल्नुपर्छ। जुन दिन जाने दिन आउँछ हामीले एकछिन भनेर जीवन पाँउदैनौ. कोरियामा ‘आत्महत्याको कारण र समाधानको उपाएहरुको’ बारेमा सज्जनकुमार सिंह र ‘आत्महत्या समाधान होइन बरु व्यबधान हो’ निश्चल काउचाले लेख्नु भएको लेखहरु यहि अनलाइन मार्फत पक्कै पढी सक्नु भएको छ होला । २००७ देखि अहिलेसम्म कोरियामा २७ जनाले आत्महत्य गरि जीवन त्याग गरेका रहेछन।
मर्नेहरु मरेर गए तिनका आफ्ना आफन्तलाई पक्कै पिडा छ। मेरो शब्दहरुबाट कोरिया र अन्य मुलुकमा र स्वंयम् नेपालमा रहनेहरुलाई कायर बहादुर नबन्न आग्रह मात्र गर्न चाहेको हुँ । बहादुर जो मृत्युदेखि डराउदैन र जीवन जिउन हरेक खाले संघर्ष गर्दछ। तर ति संघर्षबाट डराएर भाग्नेहरु अनि मृत्युलाई रोज्नेहरू कायर बहादुरहरु हुन् । हामि अब कायर बहादुर बन्नु हुदैन। कोरिया सबै थोक होइन । पैसा सबै थोक होइन । हाम्रो नेपालमा सुन्दर पहाड छ, खोला नाला छ, सितल ताप्ने भन्ज्याङ अनि चौतारी छ, हाम्रो खेतवारी छ जहाँ हामी आफ्नो गर्वको साथ पौरख गरेर खान सक्छौं। यहाँ नभए नेपाल जीवित फर्कने हो। जीवन संघर्ष देखि डराएर भाग्ने होइन। कायर बहादुर बन्दै आफ्नै गलामा पासो लगाउने होइन। कमजोरको बावजुद साहास गर्ने हो, आत्मवल गिराउने होईन। कोरियन मालिकले थर्काए- नेपाल जिन्दावाद,मेरो खेतवारी जिन्दावाद, मेरो पौरख जिन्दावाद भन्ने हो । सार्है गर्छ भने छोडेर नेपाल फर्कने हो। घर परिवार आफ्ना आफ्नतीले के भन्ला? गरेर खान नसकेका भन्लान भनेर हुदैन। तिनलाई के थाहा हामी परदेश भोग्नेहरूको पिडा ? जीवन आफ्नो हो। संघर्ष गरौँ कायर बहादुर बन्ने होइन।
मृत्यु त सत्य छँदै छ, त्यसैले कायर ‘बहादुर’ नबनौं |