कर बुझाउने अन्तिम मिति
ठूलो घरमा
अचेल अन्धा मान्छेहरु
हिसाब गरीरहेछन् रे
टाउकाहरुको।
पहाड माथि
हलो जोतेर अन्न उब्जाउने
त्यो माने दमाईले
आफ्नो आङ ढाक्न सकेको छैन
छिमेकीको छोरो विद्यालय जाँदा
मनमा ढुङ्गा ठडाएर
उस्ले आफ्नो छोरोलाई
हलो जोत्न सिकाई रहेछ
भोलिको दिन
आधीपेट पनि नभरेला भन्ने चिन्ताले।
सकुन हजुर आमा
अरबमा छोरो मरेको समाचार
कसैले उल्टो सुनाई दिएकोले
झुपडिमा दुई माउ कुखुरी
चार बचेरा चल्ला छोप्दै
छोरोको पैतलाको पदचाप कुरिरहेछ।
जनयुद्धमा
बन्दुकले निलेका सन्तान सम्झेर
सहिद पार्कमा दिनहु सन्तान बोलाई रहने
सुन्तली काकीले
सहिद पार्क छेउमै काउली लगाएकी छे।
श्रीमान पहिरो पुरिए पछि
सन्तान पढाउन
जुनु भाउजुले
गाँउकै कुनामा भट्टी खोलेकी छे
भट्टिमा पानी र जवानी दुबै चल्छ
किनकी
जवानी बिना भट्टी नचलेर
झन्नै भोकिएकी थिई।
ठूला महलमा
अन्धा मान्छेहरु
टाउका गनिरहेछन्।
अब
गनिने छन्
माने दमाई, सकुन हजुर आमा, सुन्तली काकी, जुनु भाउजू
किनकी
अन्धामान्छेहरु
आफ्ना पेटको तौला जोखिरहेछन्
र
गनिरहेछन् जन टाउकाहरु
भोलि त कर बुझाउने अन्तिम मिति हो।
यामदास
[email protected]