तामाङ भाषा नआउँदा
केही दिन अघि युट्युव हेर्दै थिएँ । मनमा तामाङ भाषा सिक्ने कुनै युट्युव च्यानल छ कि भनेर हेरेको । एउटा एनिमेटेड भिडियो रहेछ । एउटा केटा तामाङ लुगामा सजिएर हिड्छ । तामाङ बस्तीमा पुग्छ । गाउँलेले नयाँ तामाङ आएको भनेर कता हो बाबु घर भन्छ । तर उसलाई भाषा आउँदैन । गाउँलेका कुरा उसले बुझ्दैन । तामाङ गाउँका मान्छेले नेपाली भाषामै कुरा गर्छ । बल्ल गाउँलेसँग दोहोरो कुरा गर्छ । गाउँले बज्यैले फ्याट्ट भन्छ तामाङ टोपी लाएछौ तर भाषा त चिल्लै ? यो भिडियो हेरे पछि मलाई लाग्यो यो मेरै कथा हो । ठ्याक्कै मेरो कथा ।
मैले मातृ भाषा नजान्नुको कथा यस्तो छ । म जन्मे हुर्केको धनुषा । घरमा हाम्रो परिवार कसैले पनि आफ्नो भाषा नबोल्ने । बज्यैलाई भाषा आउने भए पनि कहिल्यै बोल्नु भएको सुनिन । कहिले काही उहाँ भाइसँग कुरा गर्नु हुन्थ्यो । हाम्रो छिमेकमा पनि तामाङ कोही थिएनन् । त्यसैले भाषा जान्ने कुरै भएन । बरु वरीपरि नेपाली, मैथिली अनि हिन्दी भाषा बोल्ने छिमेकी थिए । मैले पनि हिन्दी, मैथिली र नेपाली भाषा नै सिके । मलाई धेरै समयसम्म तामाङको आफ्नै भाषा हुन्छ भन्ने पनि थाहै भएन । अन्य समुदायको भाषा फरर बोल्ने म आफनो भाषामा भने चिल्लै ।
विश्वका ९० वटा देशमा ३७० करोड भन्दा बढि आदिवासी जनजातिको बसोबास रहेको छ । ती आदिवासी जनजातिको आफनै इतिहास, भाषा, संस्कृति, भेषभुषा, परम्परा छन् । सन् २०१६ मा युनेस्कोले गरेको एक अध्ययनमा विश्वका २ हजार ६८० आदिवासीले बोल्ने भाषा खतरामा छन् । यी भाषाहरु मध्ये कतिपय भाषा बोल्न र लेख्न सक्ने मानिसहरुको संख्या न्युन छनु भने कतिपय भाषा बोलीचालीमा मात्रै सिमित छ ।
नेपाल लगाएत विश्वबाटै कतिपय भाषा कहिल्यै नर्फकने गरि लोप भैसकेका छन् । भैरहेका छन् । आफनो समुदायलाई एकताबद्ध गर्न, ज्ञानवर्दक कुरा बाँड्न, जल, जंगल, जमिनसंग जोडिएका आफना कला संस्कृति, परम्परा आउने पुस्तालाई हस्तान्तरण गर्न आफ्नो मातृ भाषालाई बचाइराख्न आवश्यक छ । त्यही भएर होला संयुक्त राष्ट्रसंघले सन् २०१९ लाई आदिवासीको भाषा संरक्षण गर्नकै लागि विभिन्न कार्यक्रमहरु गरिरहेको छ । त्यस्तै अगस्ट ९ मा हुने विश्व आदिवासी दिवसमा पनि आफ्नो भाषालाई संरक्षण गर्न जोड दिइएको छ ।
यो बर्ष आदिवासीको भाषा बचाउनका लागि संयुक्त राष्ट्रसंघले छुट्टै अभियान शुरु गरेको भए पनि मलाई भने पहिल्यै देखि भाषा नआउनुको छटपटीले सताइ रहन्थ्यो । तराईबाट अध्ययनका लागि जब काठमाडौ पुगे । तब धैरै तामाङ समुदायका साथीभाइ आफन्तसंग चिनाजानी भयो । धेरै साथीभाइ आफ्नो भाषा फरर बोल्ने, आफू भने बुझे जस्तो मात्र गर्नु पर्ने । कहिले काही उनीहरु मसँग तामाङ भाषामै कुरा गर्थे । बाध्यताले म त बुभ्mदिन भन्दा आफैलाई लाज लाग्ने अवस्था हुने ।
धेरैले चाही म तराईमा हुर्किएको भन्ने थाहा पाए पछि भाषा आउछ कि आउदैन भनेर सोध्थे । आउँदैन भन्दा धेरैले सामान्य रुपमै लिन्थे । तराईको मान्छे के भाषा आउथ्यो भन्थे । थोरैले तामाङ भएर पनि भाषा आउदैन भनि जिस्क्याउँथे पनि । म आफै भाषा नआएर खिन्न हुन्थेँ । पछिपछि एउटा आइडिया लाएँ कसैले सोध्यो भने बुझछु, फर्र्काउन चाहि आउदैन भन्थे ।
भाषा सिक्ने मन त थियो तर पढ्ने कि काम गर्ने कि भाषा सिक्दै बस्ने, फेरी घरमा सबै म जस्तै चिल्लै थिए । भाषा सिक्ने चाहना त्यसै भयो ।
पछि कोरिया आए, यहा पनि तामाङ साथीभाइसँग चिनजान भो । संगत भो । नेपालको प्रश्न यहाँ पनि त्यसरी नै तेर्सिए । नानालाई तामाङ भाषा आउछ ? आउदैन । धेरैले अचम्म मानेर हेर्थे, मानौ म अर्कै ग्रहबाट आएको एलियन हुँ । त्यसपछि त आफनै तामाङ भाषा नआउदाको पीडाले झन लेखेट्न थाल्यो ।
मैले मनमनै भने, भाषा आउदैन भन्दै पन्छिन खोजेपछि कसरी सिकिन्छ त भाषा, मैले नि हिजोका दिनहरुमा कतै यस्तै यस्तै बहानाहरु बनाउदै त थिइन ? मैले ठाने, भाषा अब त सिकेरै छोडछु । अमेरिकामा जन्मिएर हुर्किएका क्याथरिन मार्च र डेविड होल्मवर्गले त तामाङ भाषा फरर बोल्न सक्छन् भने भने मैले नि भाषा सिक्न सकिहाल्छु नि । मैले कहिल्यै सोच्दै नसोचेको कोरियन भाषा त पढे भने आफनो भाषा पढ्नलाई के जोखना देखाउन पर्ने हो र ?
त्यही दिन देखि भाषाको कक्षा जारी छ । कोरियन डिउटी सकेपछि दैनिक एक घण्टा भाषा सिक्छु । ह्वाई, सेलो, फाबरे गीत सुन्छु, बेला बेला अमीर योञ्जनले तामाङ डाजाङ किताब पठाउनुहुन्छ, त्यो पनि हेर्छु, अग्रजहरुका तामाङ भाषण सुन्छु, यसरी सिक्ने क्रम चल्दैछ । य दा राङ्ला ग्योइ आखासाम लोप्के । ढिला घइमई आताला । (आफ्नो भाषा आउँदैन भने सिक्नुहोस् ढिला कहिल्यै हुदैन । )