शान्ती लामाको यात्रा, युनिसेफदेखि एनसीसी महासचिबसम्म
कोरियामा रहेको नेपाली समाजमा यतिबेला शान्ती लामा चर्चामा छिन् | हालै सम्पन्न नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको १५ औं अधिवेशनको पूर्ब सन्ध्यादेखि उनि चर्चामा रहेकी हुन् | अधिबेशन आउन १ दिनअघि महासचिब पदका लागि उमेरद्वारी घोषणासंगै उनको चर्चा चुलिएको हो | त्यसो त अन्यले पनि उमेरद्वारी घोषणा नगरेका होइनन् तर त्यति चर्चामा आउन सकेनन | शान्तीको स्पस्टोक्तिलाई धेरैले चर्चाको आधार मानेका छन् | उनको घोषणा पितृसत्तात्मक नेपाली समाजलाई नै चुनैती दिने खालको भएकाले पनि उनि चर्चाका पात्र बनेकी हुन् | उनले भनेकी छिन् –‘ मेरो उमेरद्वारी एउटा महिलाको लागि जहिले आरक्षणको नाममा दिने गरेको सह-सचिब उप-अध्यक्ष र कोष-अध्यक्ष जस्ता न्यून जिम्मेवारी भएको पदहरुमा मात्र सिमित रहनुपर्छ भन्ने मान्यतालाई चुनौती दिनको लागि हो।‘
उनको अभिव्यक्तिलाई धेरैले सहि माने | अन्तत भारी मत ल्याएर महसचिब पदमा बिजयी भाइन् | एनसीसीको इतिहासमा यो नयाँ अध्याय बन्न गएको छ | महासचिव पदमा निर्वाचित भएपछि उनले कोरियामा रहेका विभिन्न नेपाली संघसंस्थालाई छाता संगठनको रुपमा गोलवन्द गर्दै अघि बढने बताएकी छिन् । विभिन्न राजनीतिक दलहरुको हस्तक्षेपबाट टाढा राख्दै कोरियामा रहेका विभिन्न समस्याको समाधान गर्नुपर्ने आजको आवश्यकता रहेको बताउदै नवनिर्वाचित महासचिव लामा सबै संस्थाको आर्थिक गतिविधिलाई नियन्त्रण गरी स्पष्ट निति ल्याउनुपर्नेमा जोड दिन्छिन् ।
कोरियामा रहेको जतिपनि संघसंस्थाहरु छन् सबैमा महिला सहभागिता अनिवार्य हुनुपर्ने बताउदै शान्ति भन्छिन्, ‘हरेक संघसंस्थाले ३३ प्रतिशत महिला आरक्षण सिटमा जहिले पनि निस्क्रिय पद दिएर एउटा जिम्मेवारी मात्र पुरा गरेको देखिन्छ । महिलाले पनि आफ्नो दायित्व र जिम्मेवारी वहन गर्न सक्छिन् । त्यसैले आफ्नो हक अधिकारको लागि पनि प्रमुख पदहरुमा आउनुपर्छ भन्ने मेरो मान्यता हो ।’
नेपालमा हुँदा विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेकी शान्ति कोरियामा पनि सामाजिक क्रियाकलापमा सक्रिय छिन् । पछिल्लो समय महिलाका लागि महिला संस्थामा सहसचिव समेत रहेकी शान्ति संस्थामार्फत् कोरियामा विभिन्न समस्यामा परेका दिदीबहिनीहरुको समस्या समाधान गर्ने कार्यमा समेत जुटदै आएकी छिन् ।
३३ वर्षअघि काभ्रेमा जन्मेकी शान्तिले आफ्नै जिल्ला काभ्रेमा युनिसेफमार्फत् महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने अवसर पाइन् । जसले गर्दा महिला तथा बालबालिकाको अवस्थालाई नजिकबाट बुझने मौका पाएकी उनलाई सामाजिक कार्यमा लाग्ने प्रेरणा मिल्यो । ‘त्यो बेला देशमा माओवादी जनयुद्ध चर्किदै थियो । माओवादीले हामीलाई हरियो डलरको खेती बन्द गर्नै भए गर नत्र… भन्दै डर देखाउथे,’ शान्ती त्यो दर्दनाक विगत सम्झन्छिन् । युनिसेफको कार्यकर्ता भएर गाउँगाउँ हिड्दा माओवादीले काममा बाधा अवरोध पैदा गर्न थाले । अर्कोतिर यूनिसेफले दिएको व्याग र हाइटेक जुत्ता लगाएर हिडदा नेपाली सेनाले माओवादी हो कि भन्ने शंकाले झन अप्ठ्यारोमा पार्थे । यसरी माओवादी र सेनाबिचको दवावले दुई वर्षपछि जागिर छाडेर राजधानी छिर्न वाध्य भइन् । ‘आफ्नै अगाडि कति लासहरु ढले । बन्दुकका गोली वर्षन्थे ती विभत्स घटना सम्झदा अझै पनि मुटु हल्लिन्छ’, उनी सुनाउछिन् ।
जनयुद्धकै कारण युनिसेफको जागिर छाडेर परिवारसहित काठमाडौं पुगेकी उनलाई काठमाडौमा जागिर पाउन धेरै गाह्रो भयो । १२ सम्मको अध्ययन सकेकी शान्तीले फाइनान्समा एकहजारको तलवबाट जागिर सुरु गरिन् । पछि श्रीमान वैदेसिक रोजगारको क्रममा कोरिया आएपछि शान्तीलाई पनि कोरिया आउने रहर जाग्यो । ‘एकजना १० वर्ष बस्नुभन्दा दुईजना ५ वर्ष बस्नु उचित ठानेर मैंले पनि कौरियन भाषा सिकैर इपिएसको परिक्षा दिएँ’, शान्ति कोरिया आउनुको कारण स्पष्ट पार्छिन् ।
उनले सन् २०१० मा इपिएस परिक्षा उतिर्ण गरेपनि तत्काल कोरिया आउन पाइनन् । चार सय ४६ जना महिला उतिर्ण भएकोमा सयजनालाई मात्र कोरिया पठाइयो । त्यसपछि उतिर्ण भएर पनि कोरिया जान नपाउनेहरुले हामी पनि काम गर्न जान पाउनुपर्छ भनेर इपिएस पिडित संघर्ष समिति २०१० गठन गरेर नेपालस्थित कोरियन राजदूत र श्रम मन्त्रालयमा ज्ञापनपत्र बुझाए । समितिमा उनी सचिव थिइन् । तर केही सुनुवाइ नभएपछि २०१२ नोभेम्बरमा इपिएसमै गएर अनसन समेत बसे । त्यो बेला धेरै जनाको नाम खारेज गरियो भाग्यवश शान्तिभने कोरिया आउन सफल भइन् । सँगैका अरु साथीहरु आउन नपाएकोमा दुखित भएकी शान्तिलाई उल्टै कतिले शान्ती लामा हरायो आफु कोरिया जानको लागि मात्र गर्यो भनेर उल्टै लान्छना लगाए ।
आफ्नो श्रीमान पनि कोरियामै भएकोले उनलाई सुरुमा आउदा त्यति गाह्रो भएन तर पुरानाले नयाँलाई गर्ने व्यवहारले भने उनलाई धेरै नरमाइलो लाग्यो । उनी भन्छिन्, ‘नयाँलाई नत भाषाको ज्ञान हुन्छ नत केही थाहा नै हुन्छ तर पुरानाले सिकाउनुको सट्टा ‘कस्तो पाखे’ भनेर हेप्छन् त्यो बेला साह्रै मन दुख्छ ।’
अहिले श्रीमानसँग एउटै कम्पनीमा काम गर्दै आएकी शान्ती १२ घण्टाको कामबाट फुर्सद पाउनसाथ सामाजिक क्रियाकलापमा सहभागी हुने गर्छिन् । कसैको दवावमा भन्दा आफ्नै इच्छाले गर्छु र सक्छु भन्ने भावना भए जस्तोसुकै गाह्रो काम पनि सहज लाग्ने उनको अनुभव छ । उनले दुईवर्षको अवधिमा कोरियामा सिकेको शिक्षा काममा लगनशिलता, मेहेनत र इमान्दारिता हो ।
वैदेसिक रोजगारमा होस् या विभिन्न कारणले विदेश जाने युवाहरु पछिल्लो समय डिप्रेसनका शिकार बन्ने अनि आत्महत्याको बाटो रोज्ने गरेका छन् । ‘आत्महत्या समस्याको समाधान होइन’, उनी भन्छिन्, ‘मनलाई दह्रो पारेर जस्तोसुकै समस्यसँग पनि जुध्न सक्ने बलियो आत्मविश्वास लिनुपर्छ ।’ कोरियामा काम गर्न त्यति सजिलो छैन तर श्रम अनुसारको मुल्य पाइन्छ । त्यसैले काम गाह्रो भयो भनेर आत्तिने, कम्पनी परिवर्तन गरिराख्ने गर्दा झन् दुख पाइने उनको भनाइ छ । त्यसैले कोरिया आउन चाहने युवाहरुलाई शारीरिक र मानसिक रुपमा तयारी भएर आउनुपर्ने उनी सुझाव दिन्छिन् ।
त्यस्तै कृषि भिषामा भर्खरको युवायुवतीलाई भन्दा अलि पाको या अलि परिपक्कता व्यक्तिलाई छाने राम्रो हुने उनको बुझाइ छ । त्यस्तै विभिन्न नेपाली संघसस्थामा राजनीतिक हस्ताक्षेप धेरै भएको स्वीकार्दै विदेशमा बसेर राजनीति होइन स्वच्छ मनले काम गर्दा राम्रो हुने उनको भनाइ छ ।
नेपाल फर्केपछि पनि सामाजिक क्रियाकलापमै लागि राख्ने चाहना व्यक्त गर्दै शान्ती भन्छिन्, ‘जहाँ रहेपनि नेपाली दिदीबहिनीहरुको हकहितकै क्षेत्रमा काम गर्ने मेरो चाहना हो । त्यसैले नेपालमा पनि वुमन फर वुमनको शाखा विस्तार गर्ने योजना छ ।’