मोति जयन्तिको अवसरमा छन्द कविता वाचन

को हो लाख करोडको पति भनी चिन्दैन मुर्दाघर
बिच्छ्याएर हजार नोट कहिल्यै बन्दैन कात्रो तर
श्रद्धा, शान्ति र धर्मको गणित नै संसारको सार हो
पैसाकै पछि दौडियो यदि भने के अर्थ भो ज्ञानको ? मोति जयन्तिको अवसर पारेर अनेसास कोरिया च्याप्टरले गत आइतबार सौलको दोङ्देमुनमा आयोजना गरेको छन्द कविता वाचन कार्यक्रममा कवि सरोज सर्वहाराले शाद्रुलबिक्रिडित छन्दमा आफ्नो सिर्जना सुनाइरहदा माहोल शान्त भयो । उनले, ‘के हुन्न हामी जुटे’ , ‘आगो बल्यो देशमा’ शीर्षकमा अरु दुई वटा कविता पनि सुनाएका थिए ।
कार्यक्रममा नेपाली साहित्यका एक होनहार प्रतिभा मोतिलाई सम्झिदै सरोज सर्वहारा सहित गोपिकृष्ण लामिछाने, जनक सन्याल र प्रमोद सारंगले आफ्ना ३/ ३ वटा छन्द कविता वाचन गरेका थिए ।
कार्यक्रममा कवि जनक सन्यालले पत्रकार रवि लामिछाने पक्राउ परेका बेलाको सन्दर्भ सहित कविता प्रस्तुत गरे,
झूटा भाषण चुट्दछौ सदनमा विश्वास गर्ने कति
राखी काँध तिमी भर्याङ जसरी पिल्सेर बाँच्ने कति
भेडा भै कन उत्रियाैँ सडकमा दिन्नौँ चनाखो हुन
तिम्रा शोषण कल्पिने दिनगए जालीहरू हो सुन
उनले हामी ‘विदेशी भयौँ’, ‘छ देश यो धरापमा’ लगायतका कविता पनि प्रस्तुत गरे ।
अर्का कवि गोपिकृष्ण लामिछाने प्रवासमा भए पनि छातिभरि देश भएको कुरा नक्सा छ नेपालको शीर्षकमा कविता मार्फत् व्यक्त गरे,
हो आफ्नो गुँड छोड्न बाध्य छ चरी चारो नपाए पछि
साँवा ब्याज गरी उधार ऋणले औँला उठाए पछि
आफ्नो देश भुलेर रम्न उभिने सन्तान त्यस्तो छ को
हेरे हुन्छ चिरेर यो हृदयमा नक्सा छ नेपालको
उनले मेशिनसंग बौलाहा कवि र आमा र बा शीर्षकका कविता समेत प्रस्तुत गरे ।
त्यस्तै, अनिल किराती, सञ्जय, आर एन अधिकारी, सुमन तिमिल्सिना, आर पि खनाल, कृष्ण रिजाल, बाबुराम पौड्याल, कमल बाछिटे, आर के पौडेल, दिनेश न्यौपाने, सुनिल दीप्त राई लगायतले पनि रचना वाचन गरे ।
अनेसास कोरिया च्याप्टरले विभिन्न समयमा सक्रिय रुपमा साहित्यिक कार्यक्रम निरन्तर गरेकामा कार्यक्रमका प्रमुख अतिथि कवि जीवन खत्रीले खुसी व्यक्त गर्दै आगामी कार्यक्रमहरूका लागि समेत शुभकामना प्रदान गरे ।
लोकराज न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा सहभागी ४ स्रष्टालाई सम्मान पत्र समेत प्रदान गरिएको थियो ।
