किराती मित्थक र संस्कृतिका गीत गाउदै जानुका
बाला राई
‘पारुहाङकी सन्तान तिमी नाना छापारी
खै त तिम्रो शीरफूल अनि चौवन्दी र हारी’… खुक्सन खम्बुको शब्द र जितेन राईको संगीत रहेको उक्त बोलको गीतबाट नेपाली सांगीतिक क्षेत्रमा चिनिएकी प्रतिभाशाली गायिका हुन् जानुका राई ‘आन’ । एक दशक लामो संगीत साधना पश्चात सांगीतिक दुनियाँमा प्रवेश गरेकी जानुका थोरै गीत गाएर धेरै दर्शक स्रोताको मनमुटुमा बस्न सफल भएकी छिन् ।
खोटाङमा जन्मेकी जानुका सानैदेखि गीत गाउने गर्थिन् । स्कुले जीवनदेखि नै गीत गाउदै आएकी उनले विद्यालयमा हुने विभिन्न सांगीतिक कार्यक्रममा गीत गाएर उत्कृष्ठ हुँदा शिक्षकहरुले हौसला दिदै भन्थे, ‘तिमी भविष्यमा राम्रो गायिका बन्छौ ।’ शिक्षकहरुको त्यो बाणी उनका लागि आर्शिवाद नै बन्न पुग्यो । त्यहिबेलादेखि गायिका बन्ने सपना देख्न थालेकी जानुका दिक्तेल बोर्डिङ स्कुलबाट एसएलसि दिएर २०६१ सालमा उच्च शिक्षा हासिल गर्दै गायिका बन्नै लक्ष्यका साथ काठमाडौं छिरिन् ।
आफनो दाई पनि कलाकार भएकोले दाइकै सहयोगमा ललितपुरस्थित सुम्निमा कल्चर एकेडेमीमा संगीतको औपचारिक शिक्षा लिन थालिन् । हाल उनी भारतको इलाहाबादको प्रयाग संगीत समितिबाट लिइने परिक्षाको पाचाँै वर्षकोे तयारीमा जुटेकी छिन् । ‘गीत गाउनलाई स्वर मात्र राम्रो भएर हुन्न संगीतको ज्ञान हुनुपर्छ’, फोनिज कोरियासँंग अनलाइन च्याटमा भेटिएकी जानुका भन्छिन् ।
किराती संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘बिनायो’ मा सबै गीत गाउने मौका पाएकी जानुकाले पछिल्लो पटक गाएको गीत ‘तानमा धागो बुनेर बैंश टिपुकी, चर्खा राख्ने सिखुवा दलान लिपुँकी’ बोलको गीत पनि धेरैले मन पराए । संख्यात्मक रुपमा उनले दर्जन भन्दा बढि गीत गाएकी छैनन् तर जति गाएकी छिन् तिनै गीतले उनलाई नेपाली साँगीतिक आकाशमा एक आशालाग्दा अनि सफल गायिकाको रुपमा चिनाएको छ ।
लोकआधुनिक र लोकसंस्कृतिका गीतहरु गाउँदै आएकी जानुका राई लोकशैलीको आधुनिक र सांस्कृतिक गीतहरु गाउन रुचाउँछिन् । नेपाली संगीतको मुल जरो नै लोक गीत भएकोले लोकगीत र लोकसंस्कृतिहरुलाई जोगाउनु कलाकारको दायित्व ठान्छिन् उनी । त्यसैले किराती मिथक र संस्कृतिमा आधारित पहिलो गीतिएल्वम निकाल्ने तयारीमा जुटेकी छिन् ।
किराती मित्थकमा आधारित शब्द र किराती मौलिक लयमा संगीत रहेको भिडियोसहितको एल्वम नेपाली सांगीतिक इतिहासमै पहिलो र फरक हुने गायिका राईको भनाइ छ । एल्वममा गीतकार भूपाल राई, विरेन्द्र राई, टिका चाम्लिङ, खुक्सन खम्बुको शब्दलाई संगीतकार जीतेन राई, शान्तिराम राई, मनोज सामसोङ र सुरेश अधिकारीले संगीत भरेका छन् ।
‘यतिखेर पहिचानको कुरा उठिरहेको बेला गीतसंगीतको माध्यमबाट आफ्नो मौलिक पहिचानलाई स्थापित गराउनु पर्छ भन्ने मेरो मान्यता हो’, जानुका भन्छिन् । विषय वस्तु अनगिन्ती भएपनि त्यसलाई बाहिर ल्याएर व्यवसायिक बनाउन नसक्नुको कारण एकल केन्द्रिकृत राज्यसत्ता हो उनको बुझाइमा । त्यसैले गीतसंगीतमार्फत् किराती संस्कृति र पहिचानलाई स्वरांकित गर्दै मुलधारमा ल्याउने जमर्को कसेकी छिन् । भन्छिन्, ‘विभिन्न जातजातिभित्र रहेको आफ्नो मौलिक गीत संगीतहरु नै मुलधारको गीतसंगीत हुनुपर्ने हो तर यहाँ त्यस्तो छैन । यस्ता गीत गाइयो भने राष्ट्रिय स्तरको नहुने, सानो दायरामा खुम्चाइदिने गरिन्छ ।’ ‘तर, अब यस्ता चुनौतीहरुको सामना गर्दै आफ्नो मौलिक लयलाई व्यवसायिकरण गर्दै मुलधारमा परिणत गनुपर्छ भनेर चुनौतीकासाथमा संस्कृतिको एल्वम ल्याउन लागेको हो’, गायिका राई आफ्नो आउन लागेको एल्वमको बारेमा प्रस्ट पार्छिन् ।
नेपालमा गीतसंगीतको विश्वविद्यालय हुन जरुरी देख्ने जानुका नेपालका सबै जातजातीको मौलिकतालाई अध्ययन अनुसन्धान गर्दै संगीत शिक्षालाई अघि बढाउनुपर्नेमा जोड दिदै अगाडि थप्छिन् । ‘हाम्रो विडम्बना, नेपालमा संगीतको विश्वविद्यालय नभएको कारणले भारतको गीतसंगीतको सिको गरि त्यसलाई नेपालको मूलधारको गीतसंगीतको रुपमा स्थापित गर्न बाध्य छौं ।’
नेपालको विभिन्न ठाउँमा आयोजना हुने सांगीतिक कार्यक्रममा गीत प्रस्तुत गर्दै आएकी गायिका राईले हङकङमा समेत एकल गायन प्रस्तुत गरिसकेकी छिन् । गीतसंगीतमै निरन्तर लाग्ने सोचका साथ अघि बढिरहेकी जानुका गीतसंगीत र अध्ययनसँगै सामाजिक क्रियाकलापहरुमा पनि सहभागी हुने गर्छिन् । किरात राई यायोख्खा र किरात राई साँस्कृतिक कलाकार संघमा समेत आवद्ध उनले ललितपुर ताल्छिखेलमा आदिवासी जनजातिको मौलिक भेषभुषा, गरगहना र बाजाका साथै मौलिक सामग्रीहरुको खरिद बिक्री गर्ने ‘सुम्निमा कलेक्सन’ पनि संचालनमा ल्याएकी छिन् ।