मुन्धुम सृष्टिको र माङ निशा

चारैतिर
सुनसान
(मुसुन्ने खेसुन्ने) अन्धकार
परिवेशमा
जहाँ पृथ्वी जन्माउन
तागेरा निङ्वाभु माङ
विशाल ग्यालेक्सीमा
तैरिदै थिए रे
निराकार निराकार ।
मोहङ्लिङ खेहङ्लिङमा
विशाल ब्रह्माण्ड निर्माता
अलौकिक, बैज्ञानिक-
यम्भामिङ,पोरिक्मिमाङ
त्यहीँ सुन्यमा
मुगुप्लुङ थेगुप्लुङ
चाङ पारेर
मिजोरा खिजोराको सहाराले
पृथ्वी उभ्याउदै थिए रे।
त्यहीँ
धरातलमा
एकदिन
सृष्टि चलाउन
प्रथम आदिम मानव
मुजिङ्ना लाई
सुरित केजङ्ले
कुसुम बाण
प्रहार गरे त्यो नै
प्रथम मानव सभ्याताको
श्रीगणेश थियो।
युगौ बिते पछि एक दिन
समुन्द्रले
प्राकृतिक वितन्डता
मच्चाउदा
डाँडा काँडा छोपिनु
लाग्दा ठुलो खोङ्बे
लिएर लेमुहाङ
पानी माथी
वरपर गर्दै थिए रे।
कतै
आदिम मानव बस्तीहरुमा
जहाँ थुङ्साप, पेसाप,
भाषा, धर्म ,
गीत, संगीतका
उस्ताद लेखक
येहाङ हाक्पारे
गाउदै थिए रे।
हो यहि
मनातेम्बेमा
तिम्रै जस्तो मेरो पनि
साम्योको एउटा
माङनिशा गाड्नु छ।
अस्तित्वको झण्डा
गाड्नु छ।
हो,
तिम्रै जस्तो मेरो पनि
संस्कारको
तङ्सिङ र याग्राङ्सिङ
गाड्नु छ।
तिमी बेद फलाक
म येहाङ्को मुन्धुम
फलाक्नु छ।
तर
यो विशाल
प्राक्कालीन बस्तिहरुमा
चम्जङ्लुङ जस्तै अग्लो
पहिचानको
निशान फर्फराउनु छ।
धार्मिक सह-अस्तित्वको
कहिले नढल्ने
झण्डा गाड्नु छ।
बर्षौ देखि
ढलेको मेरो
चोलुङ उठाउन
एउटा माङ्गेनाको
झण्डा गाड्नु छ।
मुन्धुमी झण्डा गाड्नु छ।