कोरियाले कोरेको रङ्गीन सपनाहरु
डोलु आले मगर
ठिक ३ वर्ष अगाडी मैले भनेकै शब्द, हिजो भर्खर कम्पनीमा झरेको (मे-२०) नुवाकोटे भाइले प्याच्च भन्यो, साला कोरियनको जिन्दगी त गधाकै जस्तो रैछ। हैट यस्तो पनि जिन्दगी हो र ? विचरो बबुरो भाइलाई कसले भानिदियोस् कि आफु त्यहि गधाको नोक्कर बन्न घुइयाँ जहाज चढेर आएका छन्।
नेपालबाट कोरिया सोंच्दा क्या सोचिन्थ्यो । कतै थ्री-डी को काम गर्नुपर्छ भन्ने गरेको भए पनि आहा कोरिया । तिलिल्ल टल्केको कम्पनीमा काम गरिन्छ होला । गर्मीमा, ए.सी र जाडोमा हिटर लगाएर काम गरिन्छ होला। अग्ला अग्ला अपार्टमेन्टमा बसिन्छ, खाना पनि उस्तै बबाल भेराइटी हुन्छ होला। राम्रीराम्री केटीहरु, यसो छुट्टीमा क्या साइड हान्न पाइन्छ होला। यसो कोरियन केटी पत्याएर विहे गर्न सकियो भने त् उतैको ग्रीनकार्ड होल्डर, कोरियन नागरिक भएर बस्न क्या रमाइलो होला। आखिर हामीलाई ट्रेनिङ सेन्टरमा पढाउने एक जना सरले पनि त कोरियनलाई पट्याएर झ्याइँ परेको रहेछ त। म पनि के कमि छु र ? आहा क्या मिठो कल्पना।
विदेश पुगेका साथीहरुले पनि क्या बबाल बबाल फोटोहरु फेसबुकको भित्तामा सजाउने। सुन्दर बगैंचा, ठुल्ठुला भवनहरु, उस्तै सुपरमार्केट, चिल्ला र फराकिलो सडक र चिल्लाचिल्ला गाडीहरु। टेवलभरिने गरि खानका आइटमहरु, ह्विसिक पार्टी (कम्पनीले दिने) रे! कतै चियर्स त कतै खम्बे लेखेर हाँस्दै गिलास ठोकेका फोटाहरु। लाग्थ्यो सालेहरुले क्या ! मोज गरेको छ। सोच्दासोच्दै लेवर कन्ट्रयाक्ट आयो, सी.सि.भि.आइ र उडान तालिका पनि एक पछी अर्को गर्दै झरिहाल्यो। अब मेरो नि पालो आयो, दिन् आयो घुइयाँ हवैजहाज चढेर कोरिया जाने। लाख कमाउन। अनि कोरियन परिवेशमा रमाउन। वाह! कस्तो होला है ? क्या एक्साईटेड मूड। मासिक डेढलाख त कहीं नजा हो। दुईसम्म भयो भने त गज्जब भो ! कोरिया हुने साथीहरुले यस्तै भनेका छन्।
कहीं कतै कोरियाको कम्पनि र कृषि क्षेत्रमा हुने भित्री कामहरुको बारेमा फोटो,भिडियो र समचार नदेखेको होइन। तर धेरै जसो त आहा! मनै लोभ्याउने मात्रै देखिन्छ साथीहरुको फेसबुक वालमा। तर विचाराहरु मनभरी पिडा र कोरियनको गालीको भारी बोकेर फेसबुकमा फिस्स हाँसेको फोटो राखेर गर्व गर्नु बाध्यात हो रहेछ । दुःख पाएको, दुःख भोगेको, न्याउरे-च्याउसे, रुन्चे फोटो हालेर मजाक बन्नु भन्दा त बरु फोस्रो हाँसो देखाउनु नै वेश भन्ठानेर होला। मैले पनि राख्दिन। असिना पसिना भएर काम गरेको फोटो राखेर दयाको पात्र कि वा हाँसोका पात्र बन्नु छैन। दु:ख र पिडा भन्दा पनि खिसितिउरी र हाँसो मजाकमा उडाउने हाम्रो परिवेश छ कामलाई। कोरिया झरेपछि/भोगेपछि लाख कमाउनको लागि पिडा कति छ पत्तो पाइने रहेछ। कोरियाको ३ दिने ट्रेनिङ सेन्टरमा भुँडी फुट्ने गरि “ना हाल्सु ईत्ता” (म गर्न सक्छु) भन्दै चिच्याएको मान्छे कम्पनीमा पसेर काम गर्न थालेको केहि दिनमै काम गर्न नसकेर कम्पनि परिवर्तन गर्ने मानसिकतामा पुग्नुपर्ने।
नेपालबाट जे जस्तो सोंचेर आएको भएता पनि यहाँ कामदारको परिस्थिति विकुल फरक छ। भाषिक कठिनाइ, कोरियन खानपिनमा बानि पार्नु नै हम्मे हम्मे सुरुवातको दिनहरुमा। सबैमा नहोला अपवादमा तर धेरैको उस्तै हो जस्तो लाग्छ। कन्टेनरको घरभित्र आलारामको घन्टीसंगै जुरुक्क उठेर कम्पनि छिर्यो एकहोरो मेशिनको आवाज संगै काम गर्यो, काम सकिएर लखतरान परेर फर्कियो उही कन्टेनरको छाप्रोमा।
लामो सास फेर्दै नुवाकोटे भाइले भन्यो- भूकम्पले घर भत्किएको छ। घरपरिवार, पाल र स्याउलाको छाप्रामा रात काट्दै छन्। यहाँ दुःख गरेर कमाइ गरेर घर बनाउनु छ। अब कोरिया देखि हाल्यो, कस्तो सोचेंको थिएँ देखियो। यो चमक धमक त हाम्रो लागि कहाँ रहेछ र है? जसो तसो काम त गर्ने पर्यो दुइचार पैसा कमाउनु पर्ने छ।
आखिर हाम्रो गरिबी र बाध्यताको अगाडी हामीले भन्ने गरेको गधाहरु को गधा बन्नु नै हो रहेछ। कोरियनहरु त् गधा बनेर देश बनाए हामी तिनीहरुको भारि बोकेर देश कैले बनाउने ? आफ्नो घर र जिन्दगी कहिले बनाउने ? हामी आफ्नै देशमा गधा बन्न सकेनौं र देश त् बनेन। गधाहरुको देश क्या सुन्दर छ। भित्र जे जे भए पनि बाहिर क्या आकर्षक कभर छ। चिल्ला र फराकिला सडक, झिमिक्क नहुने बिजुली बत्तीकाका प्रकाशहरू, यतै बगैंचा उतै बगैंचा, सडक वरिपरी हरियाली। निश्चल सफा नदीहरु, अग्ला अग्ला भवनहरु, व्यवस्थित वस्ति, उस्तै टेक्नोलोजी, समय टू समय, जाम नहुने सवारीसाधन्, ठुला ठुला,लामा-लामा पुलहरू, सुरुङ मार्ग, अन्डर मार्ग ओह हो! के नेपालमा पनि सम्भव छ र ? सम्भव छ तर हामी आफ्नो निम्ति इमान्दारिताको साथ गधा बन्न सक्नुपर्छ। हाम्रा नेताहरुले भाषणको ठेली होइन कामको भारि बोक्न सक्नु पर्छ।
कोरियामा रहेका विभिन्न राजनीतिक दलका भात्रृ सङ्गठनहरुले नेपालबाट नेताहरुलाई निमन्त्रणा गरेर ल्याउँछन् रे भन्ने सुनेको छु। यहाँ ल्याएर बकवास् भाषण मात्र गर्न लगाउने होइन। यसो कोरियाबाट कामको महत्व, समयको महत्व अनि इमान्दारिताको पाठ पनि सिकाएर फिर्ता पठाउने हो कि? कोरियाका नेपाली नेतागणहरुले । हैन भने त हामिले र हाम्रा देश बनाँउछौं भन्ने नेताहरुले कहिले जान्ने ? कहिले चेत्ने ? कहिले बुझ्ने ? अनि हामि कति वर्ष, हाम्रा कति सन्ततिले अरुको देशमा अरुले गरेको कामलाई गधा भनेर गधाहरुको भारी बोक्ने हौ ?
स्याङ्जा
हाल-दक्षिण कोरिया