उड्ने पल
सिर् सिर् सिर्
उत्तिस घारीमा
एक्लै-एक्लै हिँड्छु-
फूल, पात, मुना,कोपिला,काँडा
सबै-सबै सम्झिन्छु ,
क्षितिजमा
लालीघाम उदाएको दिन
उघृएथे मेरा आँखाहरु,
जीवन
घामछायाँ जस्तो लाग्थ्यो-
र त्यही
खेलिरहन्थे, त्यहिँ हेरिरहन्थेँ…
जीवन
खोलाजस्तो लाग्थ्यो-
र त्यही बगिरहन्थे, त्यहिँ पौडिरहन्थे…
जीवन
खेतमा अरुकै सहारामा
दौडिरहेको हलो जस्तो लाग्थ्यो-
र त्यहिँ दौडिरहन्थे,त्यहिँ हिँडिरहन्थे…
ठूलो बर्सातपछिको
सन्नाटा जस्तो
चकमन्न छ- अहिले त ,यो उत्तिसघारी पनी …
कहिले त
दोहोरी र हाक्पारे टुट्दैनथियो जहाँ
झ्याउँकिरिहरुको !!
टारमाथी
कोदो रोप्न बसेका खेतालाहरुजस्तो
कसरी
घुमिरहेछन् अहिले मानसपटलमा-
स्मृतिका थुम्का र भन्ज्याङहरु !?
दाउराको
भारी बोकेर ओरालै ओरालो हिँडिरहेका
अल्लारे यादहरुलाई
कसरी कैद गरौं जिवनको डायरीमा !?
बारीमा ढोँड बाल्दा
पोलेको खुट्टाजस्तो पनि खल्लो छ कतै,
बाढिमा फँसेको एउटा
पाईतला जस्तो बेस्वाद पनि छ कतै,
बर्खायामको हिले आगनमा
दुई बर्से बच्चाले
लत्पत्याएको आची जस्तो पनि छ कतै,
चिल्सा परेको पिठोबाट
बनेको हुर्ले जाँड जस्तो छ कतै-
जे छन् –
बहुरङ्गी यादहरुको छाल,
उहीँ बसेर
हेरिरहेछु माथी- माथि…
आकाशभन्दा माथी !!
जहाँ
चाँडै पुग्दैछु-यात्राहरुको क्रममा,
केही पल छोडेर उपहार
धरती तिमिलाई !!!