कोरियामा एक नेपाली चेलीको दुःखद निधन, घटना श्रृंखलाबद्ध बन्दै ।
बोम्जन गुरुङ
२९ मे २०२०, कोरिया ।
दक्षिण कोरियाको छुङ्जु शहरस्थित “पोखरेली” नामक इण्डियन नेपाली रेष्टुरेण्ट सञ्चालन गर्दै आएकी नेपाली चेली सबिना नौभाग्य भण्डारीको अकल्पनीय निधन भएको छ ।
हिजो राती करिब ११ बजेतिर खाना खाईसकेर बाथरुम छिरेकी उनी धेरै बेर ननिस्केपछि बाथरुम खोलेर हेर्दा भित्र अचेत भई ढलेको अवस्थामा भेटिएको र तत्काल एम्बुलेन्स मार्फत अस्पताल लैजादै गरिएपनि उक्त बाथरुम भित्रै मृत्यु भईसकेको जनाईएको छ । ३० वर्षीया उनी कास्की जिल्लाको पोखरा रामबजार स्थायी घर भई विगत १० वर्षदेखि कोरियामा थिईन् ।
विवाह गरेको एक वर्ष मात्रै भएको उनको श्रीमान् पनि कोरियामा नै छन् । कोरियन नागरिकताधारी (आईडी) रहेको उनी श्रीमान् सँगै रहेर विगत ६ महिनादेखि रेष्टुरेण्ट व्यवसाय सञ्चालन गरिरहेका थिईन् । अहिले मृतकको शव छुङ्जु स्थित नजिकै अस्पतालमा राखिएको छ । मृत्युको कारण हृदयघात हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ यद्धपी घटनाको आवश्यक छानबिन र पोष्टमार्टमको तयारी गरिरहेको कोरियन प्रहरी/अस्पताल श्रोतले जनाएको छ ।
यो अकल्पनीय र दुःखद घडीमा कोरिया स्थित नेपाली राजदुतावास सँग समन्वय गर्दै छिटै परिवारमा सल्लाह गरेर शव व्यवस्थापनका लागी तयारी गरिने मृतक परिवार निकट बीरेन्द्र नौभाग्यले जानकारी दिए ।