आँसु, हाँसो र प्रश्न
को हौं तिमी ?
भन्नुस पत्रकार महोदय !
मेरो गर्भमा हुर्किदै गरेको एउटा
भ्रुणको नामाकरण गर्ने
जात तोकिदिने
थर झुन्ड्याइ दिने
अनि एउटी चेलीको नारित्व माथि
अनेकन कुरुप बिल्लाहरू भिराइ दिने
भन तिमी सत्य तत्थ्य समचार लेख्ने
पत्रकार हौ कि!! एउटा ज्योतिषि
अनि लामा खेन्पो
को हौ तिमी ?
फेरि भन
मलाई नै चिन्ता छैन भने
तिमीले यति धेरै
चिन्ता लिनु नै किन ??
म यो जवाफ सोध्दैछु आज
आफ्नै देशको शिरहरुमा
आफ्नै देशमा दिन दाहडै
आफ्नै आँखाको सामू
ठमेलका कालो गल्लिहरुमा
कालै मन भएकाहरुले
गोङ्गबुका खुल्ला आकाशे पुलहरुमा
अनि गेस्ट हाउसको नाउँमा
खुल्लाम खुल्ला यौन धन्दा
चलाइरहँदा एक कप गाढा मिल्क टि
एक प्लेट म:म अनि चाउमिनमा
आफ्नो हैसियत गुमाएर
लुरुक्क पर्ने तिमीहरू
चुइँक्क समेत नबोल्ने तिमीहरू
आज आफ्नो पसिना बेचेर
मन भरी दर्दनाक अनि पीडाको
नासो बोकेर आफ्नै माइतीको अँगानी
टेक्दा किन यत्रो उधुम मच्चाउनु पर्ने
कुनै कारण छ कि ??
मिडियाको नाउँमा
म को समेत पूर्ण
उच्चारण गर्न नजान्नेहरू
मात्रै कसरी हुन्छ बढी दर्शक थुपार्नेहरू
तिमीहरुलाई के थाहा !
पीडाको अनूभव कस्तो हुन्छ भनेर
सक्नुहुन्छ आफ्नै देशको सक्कली
चेलिहरुको सिन पोस्ट गर्नुस
सक्नुहुन्न यस्तो विपत्तिमा
चेलीहरुको अपमान नगर्नुस
आफ्नै देशमा मेरो संसार नदेखे पछि
मेरो पसिनाको मूल्य नपाए पछि
महिनौ लाइनमा राखेर नि
राहदानी हात नपरेपछि
हो हजुर पुरै १५ हजार
सरलक्कै तिरेर
बल्ल मेरो हातमा एउटा खोस्टो
राहदानी परेको थियो
त्यतिखेर मन खुसीले चङ्ग बनेको थियो
उडेको थियो खुल्ला आकाशमा
मेरा हजारौ सपनाहरु एकै चोटि
योग्यताको प्रमाणपत्रहरुको चाङहरुलाई
एउटा पुरानो सन्तुषमा थुनिदै
जीवनमा हर समय सिकेका सबै
अनुभुतिका सुत्रहरुलाई
आफुसँगै च्यापेर उडेको थिएँ
ती निला,हरिया आँखैले
देख्नै नभ्याउने यो सुन्दर
मेरो आमाको छाती जस्तै समुन्द्रमाथि
म सँगै मेरा परिवारको सपनाहरू बोकी
मेरो आमाको चाउरीएको
निधारका धर्साहरु पुन तन्काउन
आपालाई नियमित औषधि सेवन गर्न
अनि भाइ बहिनीलाई
काठमाडौको महङ्ग
बोडिङ्ग स्कुलमा पढाउन
तर बिडम्बना
म गएको केही
समय,दिन, महिना र वर्ष
हुँदै वर्षिन थाल्यो
अरुको मुलुकमा
अरुकै कर्कस बोलिहरू
लुट्न थाल्यो बिस्तारै
मेरा कलिलो यौवनका रंगहरू
फुल जस्तै सुन्दर
वैंशका उमंगहरू
म त्यतिखेर निरिह बनेर
उनीहरुले भनेको मानिरहनु ,
खुरुखुरु काम गरिरहनु बाहेक
कुनै बिकल्प थिएन मसँग
ढलेको थियो सपनाको पहाडहरू
एकै चोटि गर्ल्यम्म
मेरो अस्मिता नलुटेको
कुनै दिन थिएन
आँखाका ढकनिहरु आंँसुले
नभिजेको कुनै रात थिएन
हो त्यसै दिन देखि सहेकै हो
अशैय्या पीडाहरु
सिकेकै हो कठोर बन्न
थामेकै हो आँसुले मनहरू
के अनुभव गर्न सक्छौ तिमीहरू !
मेरो जिवनको हरेक समयको
बिछिप्त पार्ट पार्टहरुलाई
सक्नुहुन्छ केलाउन ?
अनि शब्दहरूमा खेलाउन
एउटा सिनेमाको कथा जस्तै लेख्नुस
अनि देखाई दिनोस न
हाम्रा हजारौ चेलीहरूको
जीवन भोगाइको
असंख्या दर्दनाक पीडाहरुलाई
यो देशको छातीको
एउटा ठूलो सेतो पर्दाहरूमा
जहाँ हामी निर्धक्क साथ
यो देशको सम्मानित
चेली भएर बाँच्न सकोस