कोभिडले मृत्यु भएका परिवारलाई लायन्स क्लव अफ सृजना चौतारीद्धारा १ लाख १ हजार रुपैंया सहयोग
१७ असार २०७८, पोखरा
लायन्स क्लव अफ सृजना चौतारी पोखराले कोभिडका कारण मृत्यु भएका मृतकको परिवारलाई १ लाख १ हजार रुपैयाँ नगद सहयोग गरेको छ । क्लवले आज पोखरामा आयोजना गरेको क्लवको सन् २०२१/२२ को नयाँ कार्यसमितिलाई पदस्थापन कार्यक्रमसँगै रकम हस्तान्तरण कार्यक्रमको आयोजना गरि उक्त रकम सहयोग गरेको हो ।
पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङ घर भई हाल पोखरा महानगरपालिका ४ गैह्रापाटन बस्ने केशव सुवेदीको केहि समय अगाडी कोभिड संक्रमणका कारण निधन भएको थियो । उनै स्वर्गीय सुवेदीको परिवारलाई क्लवले आर्थिक सहयोग गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथि क्लवका पूर्व अध्यक्ष एवं सञ्जिवनी दिदीबहिनी केन्द्रका अध्यक्ष बिना गुरुङ र क्लवका वर्तमान अध्यक्ष कृष्ण बहादुर कार्की मार्फत सो रकम मृतकको परिवारलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले सामाजिक काममा सदैव अग्रसर लायन्स क्लवहरु अझै पिडामा परेकाहरुको सारथी बन्न सकोस् भनि शुभकामना दिए ।