महिलाहरु कहिलेसम्म गहनाको दाम्लोमा बाँधिने
हामी नेपालीहरूको चाड तीज नजिकिँदै छ। तीज नजिकिँदै गर्दा महिला दिदीबहिनीहरुले दरखाने कार्यक्रमको लागि भनि सपिङ गर्ने चलन बढेको देख्न सुन्नमा आउँछ। मैले आजसम्म देखेको भोगेको अनुभव अनुसार तिजको गहना बारे मेरो केही बिचारहरु राखेको छु। मलाई हाम्रो समाजको धेरै कुराले असहज अनुभव गराउँछ। जुन म प्रत्येक व्यक्तिलाई समातेर मेरो विचार लाद्न अथवा भन्न सक्दिन। त्यही कुरालाई लेखेर प्रस्तुत गरेको छु।
ए दिदीबहिनीहरु!! हामि कहिलेसम्म गहनाको दाम्लोले बाँधिएर सहनशीलताको प्रतिक बन्ने? हुन त मानीस सहनशील हुनैपर्छ, अनि ममतादायी पनि हुनपर्छ तर महिला भएकै कारण अरुमा भन्दा बढ्ता हुनैपर्छ र ? अनि किन चाहियो घाटिमा एत्रो दाम्लो जत्रो तिल्हरी? जसले आपतकालिन अवस्थामा तपाईंलाई दौडिन पनि असहज बनाउँछ। घाँटीमा सुनको तिल्हरीको सट्टामा समाजको एउटा जिम्मेवारी बोक्नुस्। न त हराउने डर, न त चोरी होला भन्ने डर।
अनि धेरैको मान्यता छ कि विवाह गर्नु भनेको अर्काको घर जानु हो, आफ्नो घर छोड्नु हो। किन आफ्ना लाई छोडी पराइघर जानुपर्यो? मेरो सल्लाह छ आफ्नालाई छोडी पराईघर जानुभन्दा जति सक्दो केटा केटी दुवै मिली एउटा संन्सार बनाउनुस् घर बनाउनुहोस्। केटा पक्ष अथवा केटी पक्ष जसको बुवाआमासँग बस्न आवश्यकता हुन्छ उहाँलाई पनि साथै राख्नुहोस्।
कतै सामाजिक सञ्चालमा एकजना बौद्धिक महिलाले बोलेको कुरा सुनेको थिएँ। उहाँले महिलाहरूलाई लक्षित गरी भन्नु हुँदै थियो, “श्रीमानको अथवा घरको पुरुषको शित्तल छाहारी बनिदेऊ उनीहरु भनेको घरको खम्बा हुन् जिम्मेवारी बोकेका हुन्छन्।” अनि त्यो भिडियो भाइरल पनि बन्दै थियो मलाई भने भित्रभित्रै एकदमै असहज महसुस हुँदै थियो। बौद्धिक महिला भएर यस्तो तरिकाले सोच्ने? अनि सोच्न सम्म त ठिकै छ समाजिक संजालमा यसरी फैलाउने? किन पुरुषलाई मात्रै सबै जिम्मेवारी दिने? के उहाँ बौद्धिक महिलाको भनाइ अनुसार सबै सामाजिक अनि घरको आर्थिक कुराको जिम्मा पुरुषले मात्र लिनुपर्छ? यहाँ मेरो धारणा छुट्टै छ।
एउटा घर एकजनाले कहिले पनि चलाउन सक्दैन। समाज पनि महिला पुरुष दुवै मिलेर बनेको हुन्छ। त्यहाँ दुबैजनाले आफ्नो ठाउँबाट जिम्मेवारी उठाउनुपर्छ। हुनसक्छन महिलाले गर्भवती हुने बच्चा जन्माउने समयमा बाहिर काम गर्न सक्दैनन्। तर, यो समय भनेको केही अवधिको लागि मात्र हुन्छ किनकि आज भोली एक या दुई भन्दा बढी सन्तान कसैलेपनि जन्माउँदैन। त्यसैले महिलाहरूले पनि पुरुषहरुले जस्तै समाजको जिम्मेवारी र घरको आर्थिक अवस्थाको जिम्मेवारी लिन सक्छन्।
हामीले हाम्रो मानसिकतालाई थोरै मात्रै परिवर्तन गर्यो भने, घरभित्रको घरयासी काम र सामाजिक काममा दुवैजना बराबरी मिलेर गर्न सकिन्छ। बिबाह अगाडी अथवा विवाह गरेपछि दुवै मिलेर एउटा घर बनाउन सकिन्छ। अथवा दुवैको कमइले भाँडामानै पनि बस्न सकिन्छ। केटा अथवा केटी पक्षको बुवाआमालाई सँगै राख्नुपर्ने बाध्यता छ भने सबै राखेपनि हुन्छ। दुबैजनाले काम गर्दा जिम्मेवारी पनि बराबरी हुने भएकाले गर्दा केटी मान्छेले आफ्नो घर छोडी पराइघरमा जाने भन्ने मान्यता घटाउन सकिन्छ।महिलाले विवाह गर्दा आफ्नो श्रीमानको लागि सब कुरा त्यागे भन्ने सोच घट्छ।आफूलाई केही चाहिंदा श्रीमानलाई माग्ने भन्दा अवश्यकता हो कि हैन भनी विचार गरेर किन्न सकिन्छ।
श्रीमान अथवा कसैले दिएको सुनको गहना भनेको उनीहरुले मनैबाट खुसी भएर उपहार स्वरुप दिन्छ भने ठीकै छ नत्र, भएनभएको सम्पत्ति खर्चेर दिएको अवस्थामा भने महिलाहरूको लागि दाम्लो नै बन्नेछ। महँगो चिज भएकोले चोरी हुने सम्भावना पनि बढी। आपत्कालीन अवस्थामा त झन् एत्रो ठूलो तिलहरी लगाएर दौडिन त असम्भव नै हुन्छ। अझै पनि महिला दिदीबहिनीहरुले किन श्रीमानले दिएको गहना नै खोज्ने? महिलाहरूले पनि विश्वको ठुल्ठुलो क्षेत्र अथवा कम्पनीको जिम्मेवार काँधमा बोकेर हिँडेका छन्। हामी भने कहिलेसम्म सुनको सिक्री र तिल्हरीमा अड्किने??
सम्झना राई,
हाल दक्षिण कोरियामा प्रहरी सेवा कार्यरत हुनुहुन्छ ।