स्थानीय तहको चुनावबारे केही सवाल र भ्रमहरु
सरकारले अबको करिब तीन महिनापछि स्थानीय तहको चुनाव गर्ने अनौपचारिक रुपमा घोषणा गरिसकेको छ । त्यसैको तयारीस्वरुप अचेल सबै दल आ – आफ्नै रणनीति बनाउन र सांगठनिक भेला बैठक गर्नमा ब्यस्त छन् । सबै राजनीतिक दलले हारजितको आफ्नैखाले हिसाबकिताब पनि गरिसकेका छन् । हारजितको आधार गाउँगाउँमा भएको आफ्नो दलिय उपस्थितिलाई बनाएका छन् । तर चुनाव भन्या संगठन बलियो भएरमात्रै जितिने कुरा होइन । दलहरुले यतातिर भने खासै ध्यान दिएको पाइन्न । कतिपय ठाउँमा संगठनको अवस्था तेस्रो – चौथो पोजिसनमा भएकाले पनि बिगतमा चुनाव जितेका छन् । अझ रमाइलो कुरा त स्वतन्त्र वा बागी उम्मेदवारले समेत चुनाव जितेका उदाहरणहरु हामीकहाँ धेरै छन् ।
हामीमा अर्को एउटा भ्रम पनि ब्याप्त छ । मनग्गे पैसा भएसी चुनाव सजिलै जितिन्छ भन्ने छ । यो आंशिक सत्य होला । पुर्ण सत्य होइन । पैसालेमात्रै चुनाव जितिँदैन । तर अचेलको चुनावमा धेरथोर पैसा खर्च गर्नैपर्ने कुरामा चैँ बिमति रहेन । स्थानीय चुनावको सन्दर्भमा ५०% चुनाव उम्मेदवारको ब्यक्तिगत प्रभावको आधारमा जित्ने हो । यसमा उसको ब्यक्तित्त्व, योग्यता, क्षमतादेखि नातागोता, साथिभाई र आवद्ध संघसंस्था आदिजस्ता सबै कुराले प्रभाव पार्दछ । जस्तै : गत चुनावमा कामाण्डौँको अहिलेको मेयरले चुनाव जित्नुको एउटा कारण स्थानीय गुठीहरुलाई एकढिक्का बनाएर आफ्नो पक्षमा पार्न सफल भएर पनि हो भन्ने कतै – कतै अझै सुनिन्छ । यस्तै कुरामा चुक्यो भने संगठन जतिसुकै बलियो भएनि चुनाव हार्ने संभावना रहन्छ ।
अर्को महत्त्वपूर्ण कुरा अहिले भएका स्थानीय तहका उपमेयर/उपप्रमुखहरू आउँदै गरेको स्थानीय तहको चुनावमा मेयर/प्रमुख पदका सबैभन्दा मुख्य दाबेदार हुन् । तर पार्टीहरूले जित्ने आत्मविश्वास भएका पालिकाहरूमा उपप्रमुखलाई प्रमुखको टिकट कुनै हालतमा दिँदैनन् । पार्टीले हार्ने देखियो भने चाँहि दिनसक्छ । यसो हुनुको कारण भन्या सबैजसो उपप्रमुखहरु महिला छन् । अहिलेका सबैजसो पार्टीहरुमा जतिसुकै समाबेशीको कुरा गरे पनि आजसम्म महिलालाई कतै प्रमुख भुमिका दिने सवालमा भने अलमल नैं देखिन्छ । हुन त यसलाई विभिन्न ढंगले बुझ्न सकिन्छ । तर यो भन्या महिलाको क्षमतालाई नजरअन्दाज गरेको वा एकखाले विभेद नैं गरेको हो भन्ने हुन्छ ।
धेरैले कसरी जित्ने/जसरी पनि जित्नुपर्छ भन्नेमा मात्रै ध्यान दिएको देखिन्छ । तर कसैले पनि जितेसी के – के काम गर्ने भन्ने प्रष्ट खाका बनाउनमा खासै समय र बुद्धी प्रयोग गरेको पाइएन । यस्तो भएसी जितेकाले डोजरे बिकास नगरेर के गर्नु त ! अर्को कुरा सबैले आफ्नो चुनावी माहोल बनाउनमा बढी ध्यान दिने गर्छन् । प्राबिधिक रुपमा यो महत्त्वपूर्ण होला । तर खासमा चुनावमा होमिँदा यो प्रधान पक्ष हुँदै होइन । माहोल वा अभियान केन्द्रित कार्यक्रम दिगो हुने पनि होइन । अभियानले चुनाव र समग्र राजनीति जित्ने भए बिबेकशिल साझा दल उहिल्यै ठुलो पार्टी भइसक्थ्यो नि ! अर्को कुरा उम्मेदवारले पेश गर्ने समग्र एजेन्डाको आधारमा सोसियल र पब्लिक डिबेट गर्ने कल्चर पनि हामीमा शुरु नैं भएको छैन । आजसम्म हामी हुनुपर्नेभन्दा नहुनुपर्ने कुरामा बढी फोकस भइरहेका छौँ । यो नै हाम्रो हरेक क्षेत्रमा अव्यवस्थित बिकास हुनुको मुख्य कारण हो ।
सबै दलहरु ब्यवस्थापनको सवालमा धेरै कमजोर छन् । केही कमजोरीका बाबजुद पनि तुलनात्मक रूपमा एमाले अलि ब्यवस्थित देखिन्छ । वेल म्यानेज कसरी गर्ने/हुने भन्ने कुरा हाम्रो समग्र राजनीतिमा कुनै नौलो चरोको नामजस्तो भएको छ । यसको मुख्य कारण कुनै क्षेत्रमा पेशागत रुपमै काम गरेर सफल भएका – भिजन भएका ब्यक्तिहरु दलको नेतृत्वमा नहुनु हो । अर्को कुरा सेक्टरवाइज बिज्ञहरुसँग बसेर सल्लाह – परामर्श लिएर प्रष्ट भिजन/खाका बनाउने यहाँ कोहि देखिएन । नेता भएसी सबै जानिन्छ बुझिन्छ भन्ने गलत चिन्तन हामीमा छ । आसन्न निर्वाचनमा कम्तिमा आफ्नो रचनात्मक भिजनसहित तयारी गर्नको लागि सबै राजनीतिक दललाई खुल्लारुपमा सुझाव दिन चाहन्छु । अरुलाई दबाब दिन नसके नि हामी सबैले कम्तीमा आफू सम्बद्ध दलमा सार्वजनिक र कमिटिगत रुपमै यो कुरा राख्ने र छलफलमा लाने प्रतिबद्धता जाहेर गरियो भने हाम्रो समग्र राजनीति थोरै भए नि लयमा आउँथ्यो कि !!!
— लेखक तामाङ नेकपा एमाले – काभ्रे जिल्ला कमिटी सदस्य एवं प्रदेश (क) क्षेत्रीय समन्वय कमिटीको सह – संयोजक हुनुहुन्छ ।