कोरियाको सुवनमा गोरे बहादुर खपाङ्गी मगर स्मृति कप फुटसल प्रतियोगिता अगष्ट २८ मा हुने
कोरियाको सुवन खेलमैदानमा नेपाल मगर संघ गणतन्त्र कोरियाले आउँदो अगष्ट २८ फूटसल प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ । कोरियामा रहेका नेपालीहरुको आत्मियता र बन्धुत्वको भावना अभिबृद्धि हुने अपेक्षा सहित सुवन स्थितको खेलमैदान (경기도 수원시 권선구 매송 고색로 903) मा गोरे बहादुर खपाङ्गी स्मृति कप आयोजना गरिएको संस्थाका केन्द्रीय अध्यक्ष टेक पुनले बताए ।
प्रतियोगितामा प्रथम र द्धितीय हुने टिमले क्रमशः ३० लाख र १५ लाख कोरियन वोन आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने तृतीय स्थान हासिल गर्ने टिमलाई ७ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ । अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्ताले नगद १/१ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । टिम दर्ता शुल्क ३ लाख कोरियन वोन कायम गरिएको छ भने अगष्ट २१ तारिकसम्म टिम दर्ता गर्न सकिने सोही संस्थाका प्रतियोगिता संयोजक होम बहादुर थापा मगरले जानकारी दिए ।
नेपाल मगर संघ कोरियाले कोरियामा रहेका मगर समुदायलाई एकताको सुत्रमा बाँध्दै आफ्नो जातीय भेषभूषा, कला, संस्कृति र अस्तित्व संरक्षणमा टेवा पुर्याउँदै विभिन्न संघसंस्था र संगठनहरुसँग समन्वय र सहकार्य गर्दै आइरहेको सन्दर्भ संस्थाका संरक्षक अप्त पुनले उल्लेख गरे । गोरे बहादुर खपाङ्गी स्मृति कप फूटसल प्रतियोगिता २०२२ लाई सफल बनाउन कोरियामा रहनुहुने सम्पूर्ण खेलप्रेमीहरुमा संस्थाले उपस्थितिको लागि अनुरोध गरेको छ ।