कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो
रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् ।
कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै रहेका काका अमृत तामाङले भने । ‘फिनेल हाउस (खेती गर्न बनाईको प्लास्टिकको घर) भित्र सागपातको खेतीमा काम गर्थिन् । फोनमा कुरा गर्दा काम गह्रो छ नेपाली पनि कोही छैन आगु(काका) भन्थिन् । केही समय काम गर पछि हाम्रै गाउँको बहिनीले काम गरेको कृषि फार्ममा गरे हुन्छ भनेकोथेँ । दस दिन जति भयो होला त्यही गएर काम सुरु गरेको पनि । तर सोमबार दिउँसो त्यस्तो घटना घटेछ ।’ उनले भने ।
पुरानो कम्पनी सोल देखि २ सय किलो मिटर टाढा भए पनि नयाँ कम्पनी सोल नजिकैको ख्याङगिदो प्रान्तको ईछनसीमा रहेको थियो । ‘नयाँ कम्पनीमा साथी पनि भएकोले राम्रो लाग्यो होला भनेको ठानेकोथेँ । काम उस्तै भए पनि राम्रो छ । म काम गर्न सक्छु भन्थी ।’ तामाङले थपे ।
सोमबार हात दुख्यो भन्दै काममा नगएर दिउँसो आत्महत्या गरेको र थप कुरा पोष्टमार्टम रिपार्ट आए पछि मात्र भन्न सकिने ईछन प्रहरीले बताएको छ । नेपालबाट मृतकका श्रीमानले शवलाई नेपाल पठाउन आग्रह गरेकोले कोरियामा रहेको संघसंस्थासँग मिलेर आर्थिक अभियान संचालन हुने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाका सविच विसाल श्रेष्ठले जानकारी दिए । ‘नेपाली राजदुतावासबाट ५४ लाख वन (पाँच लाख ४० हजार) आउँछ । शव नेपाल पठाउन झन्डै १ करोड २३ लाख वन (१२ लाख ३० हजार) भन्दा बढि लाग्छ । बाँकी पैसा यहाँका नेपालीसँग उठाउनु भन्दा अर्को विकल्प छैन ।’ उनले भने ।
पछिल्लो तीन महिनामा ७ नेपालीको मृत्यू
दक्षिण कोरियामा गएको तीन महिनामा ७ जना नेपालीले ज्यान गुमाएका छन् । तीन जना सुतेकै ठाउँमा मृत्यू भएको थियो भने ४ जनाले आत्महत्या गरेका थिए ।
छुङ्साङ्नाम्दोमा काम गर्ने बिरेन्द्र तामाङ र छल्लानाम्दो ख्याङ्जुमा काम गर्ने टेक तामाङ सुतेकै ठाउँमा मृत्यू भएको थियो । ख्याङसाङनाम्दो छिरवनमा कार्यरत कर्मा गुरुङ, ख्याङ्गीदो फारानमा काम गर्ने सुनिल पौडेल र छुङ्साङ्नाम्दोमा गर्ने युनिक कालिकोटेले आत्महत्या गरेका थिए । आत्महत्या वा सुतेकै ठाउँमा मृत्यू भएकालाई विमाले कुनै क्षतिपुर्र्ति दिदैन ।
अन्य खर्च त छँदैछ मृतकलाई अस्पतालमा राख्दा पनि दिन गन्तिको हिसाबले पैसा तिर्नु पर्छ । ‘लाश नेपाल पठाउने पैसा उठ्न सकेन भने धेरै दिन राख्दा अस्पतालमा धेरै पैसा दिनु पर्छ । हामीले पनि बाराम्बर पैसा उठाको उठाकै गर्दा साह्रै अप्ठ्यारो हुने ।’ नेपाल तामाङ घेदुङका अध्यक्ष रवि लामाले भने । ‘हामीले नोभेम्बरमा दुई पटक पैसा उठाउनु प¥यो । साथीभाइले अहिलेसम्म बुझेर सहयोग गरेका छन् र हो नत्र त्यत्रो पैसा जम्मा गर्न गाह्रो छ ।’ उनले थपे । शवलाई नेपाल पठाउनको लागि भएका आर्थिक संकलनबाट उठेको रकम खर्चिएर बचे नेपालमा रहेको आफन्तलाई बुझाउँदै आएको पनि अध्यक्ष लामाले जानकारी गराए ।