सउल गुम्बाले ल्होसार ल्हाब्सोल योङ्गीनमा मनायो
सउल नेपाल गुम्बा दक्षिण कोरियाले २१५० औं ह्योइ (खरायो) ल्होसार पर्यटकीय क्षेत्र योङ्गीनमा मनाएको छ । आइतबार योङ्गीनको वाउजङ्सा गुम्बाको नेपाली बुद्धको मुर्ति भएको स्थानमा ल्हाब्सोल ल्होसार मनाएको हो ।
आठ फिट अग्लो मुर्ति नेपालबाट ल्याएर नेपालीहरुले २०७५ जेष्ठमा २५६२औं बुद्ध जयन्तीको अवसरमा प्रतिस्थापना गरेको थियो । ल्हाब्सोल कार्यक्रम लामा गुरुहरुले पूजापाठबाट सुरु भएको थियो । पूजापाठपछिको औपचारिक कार्यक्रममा प्रमुख अतिथि नेपाल दुतबास सउलको उपनियोग प्रमुख रामसिं थापा रहेका थिए । उनी अर्को हप्ता आफ्नो कार्यकाल सकाएर नेपाल जाँदैछन् ।
थापालाई आयोजक सउल नेपाल गुम्बाले विदाई, कदर पत्र र दोसल्लाले सम्मान पनि गरेको थियो । उपनियोग प्रमुख थापाको कोरिया बसाइमा सउल नेपाल गुम्बाले गरेको सहयोग र यहाँका नेपालीलाइ पुर्याएको योगदान सकारात्मक भएको बताए । उनले यस्तो कार्य कोरियामा रहेका अन्य संघसंस्थाले पनि सिकेर गर्नु पर्ने बताए ।
विदाइ कार्यक्रमलाइ सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जेले थापाले कोरियामा रहँदा नेपालीको अभिभावकीय जिम्मेवारी वहन गरेको स्मरण गरे । ‘उहाँले कोरियामा बसेको नेपालीलाइ हरेक तरिकाले सहयोग गर्नु भयो । हामी उहाँ प्रति आभारी छौं।’ लामाले भने ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका बरिष्ठ उपाध्यक्ष राजकुमार स्याङतान, ह्योल्मो सम्पर्क समितिका बाबु ज्याबा ह्योल्मो, फोनिज कोरियाका अध्यक्ष गोकुल थोकर, कोरियन आइडीआइडीका नेपाली प्रतिनिधि लगायत ल्होसारका शुभचिन्तकहरुको उल्लेखनीय सहभागी थियो ।
कार्यक्रमका केही तस्विरहरू