आत्महत्या कि मृत्युदण्ड ?
सायद मैले एक्कासी अनौठो विषयलाई उठाएको हुनसक्छु। अथवा यो शब्दको बारेमा सोच्नु अथवा लेख्नु अपरिपक्क पनि हुन सक्छु। तर मेरो दिमागमा हिजो देखि येही चलि रहेको छ कि, कसैले आफैलाई कसरि मार्न सक्छ? तेसैले यस बारेको केहि लेख्दै छु। सबै भन्दा पहिले मृत्युको बारेमा सुरु गरौ है त मेरो धारणा र भोगाइहरु।
मैले मृत्युका बारेमा सोच्न बाध्य भएको मेरो मुमा(हजुरआमा)को निधन पछाडी हो। जब मैले उहाँको निधन भएको कुरा सुन्ने मलाई केही पनि भएन, किनकि उहाको उमेर निकै थियो र लामो समय देखि खोकी लगाएत सानो सानो रोगले सताई रहेको थियो। अनि एक मनले त्यो दुखबाट शान्ति मिल्यो होलाकी जस्तो लग्यो मलाई । मलाई चिन्ता थियो, उहाँलाई जाने बेला कती पीडा भयो होला भनेर। तर मैले सुने अनुसार उहाँलाई धेरै पीडा भएन। यस कुरामा म भगवान प्रति आभारी थिएँ।
जब-जब समय बित्तै गयो तब मलाई अनुभव हुन थाल्यो कि, साँच्चिकै मृत्यु भनेको के हुँदोरहेछ। मेरो लागि त आजभोलीको चलनचल्तीको शब्द “ढिलो आयो तर कडा आयो” भने जस्तै नै भयो।
म धेरै पटक मुमालाई सपनामा देखेर रुदै ब्युँझिएको र मुमालाई आफुले अब कहिले नभेटिने एथार्थलाई सम्झी रोएको पल(रात)हरु पनि धेरै छन्।
किनकि, मैले मुमाबाट मान्छेको स्पर्श कस्तो हुन्छ भनेर पहिलो पटक अनुभव गरेको छु। मान्छेको शरीरको तापक्रम , न्यानोपन महसुश गरेको छु। तर अब तेही तापक्रम रहेन, तेही स्पर्श यादमा मात्र सिमित भयो। त्यो स्पर्श अनि गाउको घरमा मुमा-नातिनीले बिताएको पल कुनै दिन फेरी लेखुला। यो त भयो मेरो आफ्नो मान्छे गुमाएको मृत्यु।
मसँग अरु पनि धेरै मृत्युबारे एपिसोडहरु छन्। एकवर्ष प्रहरी इलाकामा काम गर्दा मैले लगभग दशभन्दा बढी लाशहरु नजिक बाट देखेको छु । आत्महत्या गर्ने प्रयासहरु पनि भएको 20/30 भन्दा बढी देखेको छु। ट्रेनिङ अवधिमा एकदमै निर्ममतापूर्वक मरेको लासको रियल भिडियो पनि हेरियो। आफ्नै स्टेसनको सहकर्मीले आफैँले बोकेको पेस्तोलले आत्महत्या गरेको घटना लगाएत सहकर्मीहरुको आत्महत्या बारे पनि बेला बेला खबर सुनिन्छ।
कामको समयमा त जब घटनास्थलमा गइन्थ्यो, त्यहाँ आफूले गर्नुपर्ने कामहरु केही छुट्ला कि, अथवा केही महत्वपूर्ण कुराहरु गर्न छुट्याएल कि भन्ने मात्र पिर हुने।
तर जब जब समय बित्दै जान्छ, त्यो समयमा देखिएको कुराहरू आँखामा झलझली आउने। अनि कहिलेकाहीँ गहिरो सोचमा पार्ने रहेछ। मैले यदाकता सुनेको प्रहरीचौकीमा वा मान्छेको मृत्युसम्बन्धी अनुसन्धान गर्ने विभागमा लामो समयसम्म काम गरेमा कसैकसैलाई नराम्रोसँग डिप्रेसन हुन सक्छ। तेही कारण होला प्रहरीलाई अनिवार्य हरेक बर्ष मनो चिकित्सक भेट्नु पर्ने नियम छ।
इलाका प्रहरी भनेको त्यो हो जसलाई आपतकालिन अवस्था हुन्छ अथवा कोही पिडामा हुन्छ, त्यो बेलामा प्राथमिक भूमिका निभाउन पर्ने हुन्छ। हुनतः प्रहरीको भुमिकाहरु धेरै हुन्छन्। तर आपतकालीन अवस्थामा प्राथमिक भूमिका गर्दैजादा सबैजना दुःखमा परेको मात्र देखिने, झगडा परेको मात्र देखिने रहेछ।
जहिले पनि अरूको दुःख र अपराधहरू मात्र हेरी रहनु पर्नेले आफुलाई नै विभिन्न तरिका अपनाई हिलिङ(healing) गर्न सकेन भने, डिप्रेसन हुने सम्भावना एकदमै बढीहुने रहेछ ।
फोहोर हटाएर सफा बनाउने क्रममा आफै फोहोरी पो हुने होकी निकै सगज हुनुपर्ने रैछ। मेरो आफ्नै भोगेको कुरा गर्दा, अरु भन्दा पनि आत्महत्या भएको अथवा आत्महत्या प्रयस गरिएको मान्छे अनि ठाउँले निकै नराम्रो असर पुर्याउने रैछ।
अब कुरा गरौ मेरो आफुलाई हिलिङ्ग गर्ने तरिकाको । हामीले अरुको भन्दा बदी आफ्नो मनको कुरा एकदमै सुन्नु पर्द्छ। विशेषगरि आफुलाई के मन पर्क्ष त्यो गर्न जरुरि छ। यो पक्का छ कि आफुले आफैलाई माया, कदर, बिस्वाश गर्न सकिन्न भने आरुलाई यो दिन पनि, अनि अरु बाट यो लिन पनि लगभग असम्भब छ।
जब आफुले आफैलाई माया गर्न सकिन्छ तब अरुलाई कसरि माया गर्ने ज्ञान हुन्छ, सोच्नुस न, जब आफै मायाको भोको हुनुहुन्छ भने, त्यो माया कसरि अरुलाई दिन सक्नुहुन्छ? जब आफ्नो भोक मेटिन्छ तब बाड्न सकिन्छ, हैन र ?
आफुले आफैलाई माया गर्न थाले पछि एउटा आत्माबल आउछ “आफ्नो लागि कोहि नभए पनि म आफै छु ” भन्ने हुन्छ। धेरैले भोग्नु भएको होला कि , अरुको समस्या आफुले समधान गरिदिए पनि जब आफुलाई केहि पर्छ कतै कोहि बाट सहयोग मिल्दैन। येही उदारहण हो कि , आफ्नो साचो हरपलको साहारा आफु एक मात्र हो। अनि तेही आफुलाई ख्याल नगर्ने त ? तेही आफुलाई मार्न खोज्ने ? आफुले आफुलाई नै आन्याय गरेको भएन र ?
अरुले त जे पनि भन्छन नि, आफ्नो मनले के भन्छ त्यो सुन्न जरुरि छ। आफुलाई माया गर्न सिकौ। आफुलाई मृत्युदण्ड हैन न्याय दिन सिकौ।
लेखक :- सम्झना राई, दक्षिण कोरिया
(कोरियामा पहिलो नेपाली महिला प्रहरी )