कोरियामा कामदारलाई वैकल्पिक बिदा
कोरियाली सरकारले देशमा सार्वजानिक बिदा कम भएको भन्दै वैकल्पिक बिदा दिने निर्णय गरेको छ । वर्षको १५ दिन सार्वजनिक बिदा दिँदै आएको सरकारले यस्ता बिदा सप्ताहान्तमा परे वैकल्पिक दिन बिदा दिने निर्णय गरेको छ ।
यसअघि नै केही बिदाहरुको वैकल्पिक बिदा दिने निर्णय गरिसकेको कोरियाली सरकारले यस वर्ष बुद्धजयन्ती र क्रिसमस शनिबार वा आइतबार परेमा सोमबार बिदा हुने गरी नियम संशोधन गरेको हो ।
कोरियाली सरकारले कामदारहरूको लागि पर्याप्त आरामको अधिकार सुनिश्चित गर्न, दैनिक उपभोग बढाउन र घरेलु अर्थतन्त्रमा सुधार गर्न पनि नियम शंसोधन गरिएको जनाएको छ । बुद्धजयन्ती र क्रिसमस कोरियाली कानुन अनुसार नै पर्ने १५ सार्वजनिक बिदाहरूमध्ये पर्छ । अन्य बिदाहरुमा नयाँ वर्षको दिन, सलनाल (कोरियाली नयाँ वर्ष ३ दिन बिदा), मार्च १ आन्दोलन दिवस, बाल दिवस, मेमोरियल डे, छुसक (३ दिन), राष्ट्रिय मुक्ति दिवस, राष्ट्रिय स्थापना दिवस र कोरियाली अक्षर स्थापना दिवस समावेश छन् ।
यहाँको सरकारले सन् २०१३ मा कोरियाली नयाँ वर्ष सलनाल, छुसक, वा वाल दिवस शनिबार वा आइतबार परे कामदारलाई वैकल्पिक दिन बिदा दिने नियम ल्याएको थियो । त्यस्तै २०२१ मा मार्च १ आन्दोलन दिवस, राष्ट्रिय मुक्ति दिवस, राष्ट्रिय स्थापना दिवस र कोरियाली अक्षर स्थापना दिवस पनि शनिबार आइतबार परे वैकल्पिक दिन बिदा दिने नियम ल्याएको थियो ।
सार्वजानिक बिदाको दिन कामदारले काम गरे कोरियाली श्रम नियम अनुसार थप भत्ता सुविधा पाउँछन् । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत आएका ४० हजारभन्दा बढी नेपालीहरू नयाँ सार्वजानिक बिदाको नियमबाट लाभान्वित हुनेछन् । (कान्तिपुर दैनिकबाट साभार)