नेपालमा बसोबास गर्ने ७३ प्रतिशत मानिसहरू स्मार्ट मोबाइल फोनमा पहुँचमा
नेपालमा बसोबास गर्ने ७३ प्रतिशत मानिसहरू स्मार्ट मोबाइल फोनमा पहुँचमा देखिएको छ । शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालमा बसोबास गर्ने मानिसहरूमध्ये ७३ प्रतिशत मानिसहरूसँग स्मार्ट मोबाइल फोनको पहुँच छ ।
साधारण मोबाइल फोनमा भने ७३.२ प्रतिशतको पहुँच छ । जनगणनामा देशका हरेक परिवारमा भएका साधन तथा सेवा सुविधाहरूका विवरण संकलन गर्न रेडियो, टेलिभिजन, ल्यान्डलाइन, मोबाइल फोन, कम्प्युटर, इन्टरनेट, सवारीसाधन लगायत १४ वटा विकल्पसहितको प्रश्न सोधिएको थियो ।
त्यसबाट प्राप्त परिणामकाआधारमा ३.९ प्रतिशत परिवारहरूमा कुनै पनि किसिमको सुविधा छैन भने ९६.१ प्रतिशत परिवारमा कुनै न कुनै किसिमका उपकरणहरूको पहुँच पुगेको छ ।
प्रतिवेदनअनुसार ३४.२ प्रतिशतले नेपालीले रेडियो सुन्छन् भने टेलिभिजन ४९.४ प्रतिशतको मात्रै पहुँचमा छ । १५ प्रतिशत नेपालीसँग कम्प्युटर छ भने ३७.८ प्रतिशत नेपाली इन्टरनेटको पहुँचमा छन् ।