फीनेल हाउस
हरियो साग
फुस्रो जिन्दगी
पटपट फुटेका हात
तप तप झर्दै गरेको पसिना
तातो घामले झन तताएर
आधाउधी उसिनिएको म
यस्तै छ हजुर फीनेल हाउस ।
बेमौसमे हरिया सागपात छन्
गोलभेडा, काँक्रो, खोर्सनी झुप्पै छन्
अझै फूल्दैछन् केही थान बेमौसमे फलहरु
बेमौसमे केही थान सपना बोकेको म
घोप्टिएर साग टिप्दा टिप्दा
टमटरको फूल कलमी गर्दा गर्दा
म घोप्टिएरै मर्छु कि झै भाछु ।
नेन्जाङगोबाट भरखरै झिकेको पानी
भक्भकी उम्लिए झै तातो हुन्छ
तातो पानीले आँत मार्छ र पिउनु ?
बरु हाम्रो निगार जस्तै माकली छ
सुँगुर हाम्रो तिरको जस्तै नपाए पनि पाइन्छ
तेल मकैको रे
नूनको स्वाद पनि अर्कै छ
भकाभक पकाइन्छ पिइन्छ माकली सितान बनाएर
अनि बल्ल मर्छ आँत ।
प्रेमिकालाई भन्नु छैन मेरा कटकट
दुखेको ढाड विर्साउने गरि माकली खाएको कुरा
फिनेल हाउसका कुरा
न भन्नु नै छ कहिले कही पुतली हाउसमा
फन्को मारेको कुरा
धेरै कुरा फिल्टर गरि गरि भन्छु
मानौ म चाल्ना हुँ
फिनेल हाउसको ।