घेदुङ कोरियाले ‘गोतोजि छोर्तोजि’ शृङ्खला गर्दै, पहिलो शृङ्खला संस्कार सम्बन्धी
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले शनिवारदेखि ‘गोतोजि छोर्तोजि’ (बुझौँ र जागौँ) अन्तरक्रिया शृङ्खला गर्ने भएको छ । अनलाइन जुम ‘भर्चुअल’ माध्यमबाट सेप्टेम्बर २३ देखि सुरु गर्न लागेको पहिलो शृङ्खलामा अनुसन्धानकर्ता तथा लेखक खोजराज गोले अतिथीको रुपमा रहेको छ ।
कार्यक्रमको पहिलो शृङ्खलामा अध्यता खोजराज गोलेसंग तामाङ समुदायको संस्कार सम्बन्धी अन्तर्कृया हुने जनाएको छ । संस्कार सम्बन्धी पनि विशेष गरी विवाह संस्कृति अन्तर्गतका कुटुम्बा, साईनो, चारदामको महत्त्व, ताम्बा र डम्फुरेको भूमिका, चेलीलाई दिने पेवा र तामाङ विवाह संस्कृतिको विकृतिहरू लगायतका अन्य विषयहरुमा छलफल र विमर्श हुने जनाएको हो ।
कार्यक्रम सञ्चालन गर्न घेदुङले केशवमान तामङको संयोजकत्वमा एक समिति समेत गठन गरेको छ । समितिमा निर योञ्जन र एल. बि. रूम्बा रहेका छन् । कार्यक्रम प्रस्तोता घेदुङ कोरियाको सचिव समेत रहेका एल बी रुम्बा रहेको छ ।
“तमाङ भाषा, साहित्य, कला, धर्म संस्कृति, र इतिहास बारे बुझौँ आफ्नो अस्तित्व र पहिचानको निम्ति जागौँ ।” भन्ने मूल नाराको साथ कार्यक्रमको सुरुवात गर्न लागेको संयोजक तामङले बताए । “तमाङ तथा तामाङ समुदाय बारे अध्ययन अनुसन्धान गर्ने र तामाङ समुदायको बारे बुझ्न चाहनेहरुलाई लक्षित गरेर गोतोजि छोर्तोजि कार्यक्रम गर्न लागेको हो ।” उनले फोनिज कोरियालाई बताए ।
कार्यक्रममा तामाङ समुदायको संस्कार, संस्कृति, राजनीतिक ज्ञान, रीतिरिवाज, पहिचान लगायतको विविध विषयमा छलफल र बहस हुनेछ । महिनाको अन्तिम शनिवार बेलुका हुने उक्त कार्यक्रम लगभग १ देखि साढे १ घण्टासम्मको हुने बताएको छ ।
राजनीतिक, सामाजिक, आर्थिक, महिला तथा अन्य लैङ्गिक समूह लगायतका विषयहरूमा पनि कार्यकममा छलफल हुने कार्यक्रम सञ्चालक रुम्बाले बताएका हुन् । “इतिहास, मौलिक खाना परिकार, भेषभूषा लगायत विविध विषयवस्तुमा पनि कार्यक्रममा अन्तर्कृया हुन्छ ।” रुम्बाले थपे ।
प्रत्येक महिनाको अन्तिम शनिबार हुने कार्यक्रमलाई विश्वभर रहेका आम समुदायले घेदुङ कोरियाको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमार्फत सुन्न र हेर्न सकिने छ ।