सेयर एकै दिन १ अर्ब ३० करोडको कारोबार
काठमाडौं-सेयर बजारमा सोमबार एकै दिन १ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भयो । जुन एकै दिनमा भएको हालसम्मकै उच्च कारोबार रकम हो । यसअघि २०७१ साउन ५ मा एकै दिन १ अर्ब २० करोड रुपैयाँको कारोबार भएको थियो । त्यसयता बजारमा उतारचढाव आएर सोमबार कारोबार मापक परिसूचक नेप्स १ हजार ४६ अंकमा पुगेको छ ।
मौद्रिक नीतिमा वित्तीय संस्थाको चुक्ता पुँजी चार गुणा बढाउनुपर्ने निर्णय भएपछि बिहीबारदेखि बजार दुई दिन बढ्यो । दुई दिनमा मात्रै परिसूचक ९० अंकले बढेको थियो । आइतबार आधा घण्टा मात्रै कारोबार हुँदा परिसूचक ५० अंकले बढेको थियो । ‘बजारमा बिस्तारै सुधार आउन थालेको हो,’ सेयर ब्रोकर अनन्त पौडेलले भने ।
बिहीबारअघि सेयर किन्नेहरूले बेच्न थालेपछि बजार घट्न थालेको थियो । १ हजार ५३ अंकसम्म पुगेर परिसूचक घटेको हो । कारोबार बन्द हुँदा परिसूचक १ हजार ४६ अंकमा आइपुगको छ । ब्रोकर पौडेलका अनुसार उच्च नाफा भएपछि पहिले किन्नेहरूले बेच्न थालेकाले बजारमा माग बढेर बजार घट्न थालेको हो । कारोबार रकम र परिसूचक दुवै बढ्नुलाई ‘डबल टप’ भन्ने गरिएको बजार विश्लेषक रविन्द्र भट्टराईले बताए । ‘सामान्यतया नेप्से उच्च विन्दुमा पुगेको बेला कारोबार रकम पनि उच्च हुने गर्छ । सोमबार नेप्से गत आवको उच्च विन्दुमा पुगेर तल ओर्लिएको छ,’ उनले भने, ‘प्राविधिक विश्लेषणमा यसलाई डबल टप अर्थात दोहोरो उचाइ भनिन्छ । प्राविधिक विश्लेषणमा दोहोरो उचाइले बजार करेक्सन हुने संकेत गर्छ ।’
यससँगै पछिल्लो समय बैंक वित्तीय संस्थाका प्रवद्र्धकबाट साधारण सेयरमा परिवर्तन भएका सेयर पनि बिक्रीका लागि बजारमा आउन थालेपछि बजार स्थिर भएको हो । ‘करिब ७० प्रतिशत बैंकका १९ प्रतिशत सेयर परिवर्तन भएका छन्,’ अर्का ब्रोकर नन्दकिशोर मुन्दडाले भने, ‘यसले पनि बजार केही घटाउन मद्दत गर्यो ।’
लगानीकर्ताहरू विवेकपूर्ण लगानी गर्न थालेको अनुभव मुन्दडाको पनि छ । ‘ठूला बैंकहरूको
मात्रै कारोबार भएको छ,’ उनले भने, ‘बोनस र हकप्रद सेयर जारी गर्न सक्ने वित्तीय संस्थामा लगानी गर्ने बढेका छन् ।’
मौद्रिक नीतिले पुँजी बढाउने निर्णय गरेपछि बैंकहरूले बोनस र हकप्रद सेयर जारी गर्ने सम्भावना भएको भन्दै माग बढेर बजारमा उछाल आएको थियो । ‘अब बजारमा सामान्य मात्रै घटबढ हुने जस्तो देखिन्छ,’ पौडेलले भने, ‘ठूलो उतार वा चढाव आउने देखिँदैन ।’