लामा आगी
नेसनल अस्पतालको मुल गेटैमा पहिलो पटक हातमा छोरा बोकेको फोटो छ । आमा (सिमा) छे । पार्वती दिदी छिन् । त्यस्सै कालो मान्छे । झन काम गरि गरि घामले डढेर होला झन कालो छ । फोटो पनि अन्डरएक्पोज खिची दिकी हुन कि फोटो खिच्दिने मिनाले । आँखा झिम्क्याएको बेला परेछ । छोरालाई हातमा लिएको पहिलो समय त्यही थियो ।
भावमा भन्न सक्दिन कस्तो भावमा थिएँ । अलि अलि डर, अलि अलि असहजता, अलि अति जिम्मेवारी बोध सबै एकै चोटी थियो सायद । पहिलो पटक सन्तान जन्माउने सबैले मैले जस्तै अनुभव गर्छन कि गर्दैनन् त्यो पनि थाहा छैन । अनुभव मान्छे अनुसार फरक फरक हुँदो हो । ठाउँ र परिवेशले पनि फरक पार्दो हो ।
कति सानो थियो भने हातमा लिँदा पनि दुख्ला कि भन्ने डर लाग्थ्यो । आँखा ठूलो, टाउको झन्डै लाम्चो जस्तो थियो । चिसो मौसममा जन्मेकोले हामीले सानो सिरक जस्तो कपडा किनेको थियौं । त्यसैमा पोको परेर बोकेका थियौं । सिमा भन्थि पम्पले तानेर टाउको लाम्चो जस्तो भएको हो । ‘ठीक हुन्छ भनेको छ डक्टरले ।’
………………………..
कोरोनाले संसार छपक्कै थियो । चीन पछि कोरियाका मान्छेलाई कोरोनाले च्यापेको थियो । नयाँ रोग । न औषधी छ न उपचार । यस्तो बेलामा कोरियाली सरकारले चीन कै नीति लियो । कतै हिड्न परे माक्स अनिवार्य थियो । अस्पतालमा बस्नका लागि अनिवार्य कोरोना टेष्ट । जरो आएको भए अस्पताल छिर्न पाईदैन थियो । बस्न पाइदैनथ्यो । कोरोना लागे अनिवार्य दुई हप्ता एक्लै बस्नु पर्थ्यो । पुरा हिस्ट्री भन्न पर्थ्यो । घुमेको खाएको, बोलेको सबै म्यासेज मार्फत सम्बन्धित क्षेत्रका मानिसलाई खबर जान्थ्यो । शंका लागे पनि कोरोना टेष्ट अनिवार्य थियो ।
अस्पतालमा जचाउन जाँदा पनि निक्कै सास्ती थियो । माक्स लगाको लगाकै हिड्नु । कतैबाट कोरोना सरि हाल्ला कि भन्ने डर छदै थियो । कतै गएर फर्किदा टाउका दुखे पनि लौ कोरोनाले वितायो जस्तो लाग्ने । सिमा एक्लै घरमा बस्थिन् । काममा जानु विदेशमा बस्ने मान्छेका दैनिकी नै भयो । मेरो पनि उस्तै त हो । डर लाग्थ्यो कतै काममा जाँदा कोरोना सरि हाले !
हामी नियमित जाँचमा भोली जस्तो जानु थियो । बेलुकी अप्ठ्यारो भो भनि ।
‘आमा हुँदै गरेको मान्छेलाई गाह्रो हुने नै भो ।’ जिस्क्याएँ पनि ।
अलि अलि अप्ठ्यारैमा रात वित्यो । भोली पल्ट विहानै रेगुलर चेकअपमा गयौं । डाक्टरले सबै सोधे । नियमित सबै ठीकै जस्तो लाग्दै थियो । दुई हप्ता पछिको ‘डेट’ थियो । डाक्टरलाई केही समस्या भएको कुरा बतायौं । उसले तुरुन्तै कोरोना चेक गर्न भन्यो । त्यो भनेको हामीलाई थाहा थियो अब रेगुलर अस्पतालमै भर्ना गर्छ ।
कोरोना टेष्ट गर्ने पनि कति धेरै ठाउँ । स्वदेश फर्कनकालागि कोरोना टेष्ट । कतै काममा जानको लागि कोरोना टेष्ट । हुँदा हुँदा बच्चा जन्माउन आएको मान्छे पनि कोरोना टेष्ट गर्न हिडेकी छे । नाकमा दुई वटा कान कोट्याउने जस्तो हालेर नमुना संकलन भो । सामान चाहिने ल्याउन भन्यो । ल्याई दिएँ ।
कति समय बस्नु पर्छ ?
बच्चा नजन्मेसम्म ?
कहिले जन्मन सक्छ त बच्चा ?
आज,भोली पर्सि पनि हुन सक्छ ।
लोग्ने बस्न मिल्छ ?
पर्दैन, अस्पतालले सबै ब्यवस्था गर्छ ।
कुरुवा पर्दैन ?
पर्दैन । जानुस घर फोन नम्बर यहाँ राख्नुस् ।
कोरोना महामरीका कारण नेपालमा जस्तो कुरुवा नराख्ने रहेछ । बच्चा जन्माएको हेर्नका लागि पनि पहिले अस्पतालमा भनेर डाक्टरको सल्लाहमा मात्रै बस्न पाईने रहेछ । भित्र बस्ने मान्छे बाहिर निस्कनै नपाईने । जुन वार्डमा बसेको छ त्यही भित्र मात्रै । सिमासँग सल्लाह भो । मन भारी गरेर हुन्छ जानु न भनि । पार्वती दिदीले पनि अस्पतालमा सबै व्यवस्था राम्रो हुने भएकोले चिन्ता नगरे पनि हुने बताईन् । सिमालाई नेसनल अस्पतालको दोस्रो तल्लाको प्रसुती वार्डमा लगेर म बस्ने ठाउँ फर्किएँ ।
परदेशमा उसलाई पनि लाग्दो हो । बुढोसँगै होस् । केही परे भनि हाल्न मिल्ने । केही चाहिए सोधि हाल्नका लागि । फेरी सोची होली डाक्टर छन् । नर्स छ । सबै हाम्रो जिम्मेवारी भने पछि मलाई हेर्ने मान्छे हुँदो हो ।
सिमासँग बेलुकी तिर कुरा भो ।
‘सबै ठीक छ । म आफै तातो पानी लिन हिडेकी ।’ उसले भनि ।
‘बच्चा जन्माउनु पर्ने होइन ?’ जिस्क्याएँ ।
‘बाउ बन्नका लागि कति हतार छ ।’ उसले फोन काटी ।
भोलिपल्ट विहान अलि अलि ‘बेथा’ लागेको भनि । दिन छिप्पिदै जाँदा गाह्रो भो भन्थि । नेपालमा भए पो फुत्त जानु । यहाँ त भेट्न पनि दिने होइन । आफ्नै सन्तान जन्मेको हेर्न पनि नपाईने । दिउँसो तिर फोन गर्दा फोन लाग्यो । उठेन । मनमा उत्साह जस्तो डर जस्तो चलि रह्यो । कही केही हुने हो कि ? काममा पनि ध्यान थिएन । दिउँसो पाँच बजे तिर भिडियो कल गरि । छोरा देखाई । अनि एक दिन थप अस्पताल बसे पछि घर जाने सल्लाह दिएको बताई ।
सबै ठीक छ । चेक गर्न जाँदा डाक्टर भन्थे । बच्चाको ग्रोथ ठीक छ । आमाको स्वास्थ्य पनि सबै ठीक छ । ‘उन्दोङ हासेयो ।’ डाक्टरहरु भन्थे । बेला बेलामा अंग्रजीमा भन्थे ‘डु एक्सासाइज । वाक रेगुलरल्ली ।’ अलि कति सिमाले तौल बढाए पनि अभ्यास गर्न भनि रहन्थे डाक्टरहरु ।
……………………………
छोराको नाम के राख्ने ?
के राख्ने राख्ने ?
अलि युनिक नाम राखौं ।
के राख्ने ?
सीगो राखौं । आमाको सी आप्पाको गो । दुबै हास्यौं । कि कोराना थोकर राखौं । फेरी दुबै हाँस्यौं । धेरै छलफल गरेर हामीले छोराको नाम नावाङ राख्ने भयौं । नेतृत्व गर्न सक्ने । दुबै सहमत भयौं ।
कुनै जमना थियो । नजन्मिए सम्म छोरा कि छोरी भनेर थाहा नै नहुने । छोरा जन्माउँछु भन्यो छोरी जन्मिने । छोरी जन्माउँछु भन्यो छोरा जन्मिने । पेटमा के छ थाहा नहुने । बुढा बुढी अनेक सल्लाह गरेर छोरीको नाम राख्यो छोरा भए पछि त्यो के काम ?
जमना परिवर्तन भयो । हाम्रो छोरा छ भनेर थाहा पाएको चार महिनाकै पेटमा हुँदा हो । मलाई हाम्रो छोरी नै हुन्छ जस्तो लाग्थ्यो । मनको कुरा न हो । उनी छोरा हुन्छ होला भन्थि । छोरा नै हुने भयो । ग्रोथ कस्तो छ बच्चाको चाल कस्तो छ बच्चाको पेटमै भए पनि सबै हेर्ने रहेछन् ।
कोरियामा अस्पतालमै जन्मने वित्तिकै नाम राख्ने चलन हुने रहेछ । बेथाले च्यापेर हैरान भएको बेला नर्सले के नाम राख्ने सिमालाई सोध्न आएछ । भरखर छोरो जन्माएको मान्छे । शरीर थकानले होला उसले हामीले त्यत्रो मेहनतका साथ राखेको छोराको नाम नै भुलिछे । पारेन फसाद ।
कोरियाली अस्पतालले तुरुन्तै बाआमाले आफ्नो सन्तानको नाम नभने आमाको नामको पछाडीको नाम राखेर बच्चा भन्ने रहेछ । सिमाले नाम नसम्झे पछि हाम्रो छोराको नाम पनि आमाको नामको लामा र कोरियाली भाषामा आगी अर्थात बच्चा । हाम्रो छोराको नाम ‘लामा आगी’ झन्डै एक बर्ष सम्म रह्यो ।
अहिले त लामा आगी जन्मिएको तीन बर्ष पुरा भयो