शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
शेर्पा संघ दक्षिण कोरियाद्वारा आगामी फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने भएको छ । दक्षिण कोरियाको राजधानी सोलमा ग्याल्पो लोसार साँझ कार्यक्रम २०२४ आयोजना गर्ने भएको अध्यक्ष दोर्जी शेर्पाले बताएका हुन् ।
दक्षिण कोरियामा नेपालीहरूको धेरै भिडभाड हुने दोङ्गदेमुन नजिकै (गत वर्ष भएकै ठाउँ)झोङ्नो साम्गा स्थित एक हलमा फेब्रुअरी १० २०२४ को बेलुका कार्यक्रम हुने जनाएको छ । चन्द्र पात्रो अनुसार लोसारको तिथि फरक परे पनि दक्षिण कोरियाको प्रमुख चाड सलनालको अवसरमा हुने विदालाई सदुपयोग गरेर मनाउदै आएको छ ।
बर्सेनि १२ लो (बाँदर, चरा, कुकुर, सुँगुर, मुसा, गाई, बाघ, खरायो , ड्र्यागन, सर्प, घोडा, भेडा) वर्ष परिवर्तन भएर नयाँ वर्षको सुरुवात हुन्छ । तिथि परिवर्तन भई १२ महिना सकिएर नयाँ वर्ष लागेसँगै ग्याल्पो लोसार मनाइने गरिन्छ । लोसारमा छेमार र छेयाङफुद सजाउने गर्छन् । नौ प्रकारका खानेकुरा मिसाएर पकाइएका खाना (गुथुक), खप्स र फलफूल खाएर शुभकामना साटासाट गरी विश्वभर एकै समय लोसार मनाउने गरिन्छ ।
साथै अध्यक्ष शेर्पाले दक्षिण कोरिया बासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गरिमामय उपस्थितिका अनुरोध गरेका छन् ।