मेरो पत्रकारिता र गोकुल दाइ
सन् २०१६ मा छुसकको लामो बिदा थियो । छुसक र सलनालको विदामा नै हो कोरियामा रहेका विभिन्न संघ संस्थाहरुले कार्यक्रमहरु गर्ने । विभिन्न कार्यक्रमहरु मध्ये नेपथ्य ब्याण्डको चर्चा व्यापक थियो । म आएको एक बर्ष पनि पुगेको थिएन । त्यसैले चिने जानेका साथीहरु खासै थिएनन् । संगै आएका एउटै कम्पनीमा काम गर्ने साथी अर्जुन र नेपालमा कोरियन भाषा पढ्दा भेटेका सन्तलाल(यामदास) थियो चिनजानको । दुबैजना अहिले मेरा घनिष्ठ मित्र भएका छन् । तिनै जना भएर नेपथ्यको कन्सर्ट हेर्न जाने भयौं । तत्कालिन तामाङ संघ दक्षिण कोरिया (अहिले नेपाल तामाङ घेदुङ भएको छ) कार्यक्रम राजधानी सउलको यओइदो स्थित के बि एस् एरिना (KBS Arena) हलमा गरेको थियो । नेपालीहरुका लागि कोरियाको असन बजार भनेर चिनिने दोङदेमुनमा थियौं हामी । १ नम्बर लाइनको ट्रेनको बाटो हुँदै हामी त्यतै लाग्यौ ।
स्टेसन झरेर बाहिर निस्किदा नेपालीहरुको लस्कर हल सम्मै थियो । हल कता भनेर कसैलाई सोध्नै परेन । मान्छेको त्यही लाईनलाई पछ्याउदै हल तर्फ लाग्यौँ । हलमा पुग्नै लाग्दा झम्काभेट भयो गोकुल थोकर दाइसँग । त्यतिखेर उहाँ हतारमा हुनुहुन्थ्यो । सामान्य कुराकानी र फोन नम्बर साटासाट पछि उहाँ आफ्नो बाटो लाग्नु भयो । म कन्सर्ट हल तिर ।
कोरियामा पहिलोचोटि भेट भएपनि गोकुल दाइलाई मैले चिनेको नेपालमै हो । खासमा मेरो दाइकाे साथी हुन । त्यसैले दाइ नै भनेर सम्बोधन गर्छु । उक्त भेट पछि यहाँ रहँदा मलाई आड र भरोसा दिने एक अभिभावक तथा मार्गदर्शनकको रुपमा उहाँको साथ र सपोट पाउँदै आएको छु ।
म पत्रकारिताको विद्यार्थी हुँ । हुँ पनि के भन्नु ? थिएँ भन्नु पर्ला । किन कि पत्रकारितामा स्नातक सकेको दशक कटिसक्यो । पत्रकार बन्छु भनेर प्लस टुमा भर्ना हुँदै गर्दा जोस धेरै थियो । त्यो बेला लक्ष्य पनि ठुलै र कुरा पनि ठुलै गरिन्थ्यो । एक ताका दैनिक पत्रिका निकाल्छु भनेर डौड्धुप पनि गरेको थिएँ । त्यो बेला पनि चलेको दैनिक पत्रिका कान्तिपुर दैनिक नै थियो । कलेजको प्रक्टिकल भन्दै कान्तिपुर ग्रुपको मार्केटिङ डिपार्टमा छिरेर बिज्ञापनको दर रेट पनि संकलन गरेको सम्झना छ ।
उक्त समय गोकुल दाइ पत्रकारितामा स्नातक गर्दै हुनुहुन्थ्यो । म उहाँहरु संगै फोटोग्राफी र भिडियो ग्राफि पनि सिक्दै थिएँ । उहाँलाई पनि हाम्रो योजना सुनाएँ । उहाँले हौसला दिनु भएको थियो । सकेको साथ र सहयोग गर्ने पनि भन्नु भएको थियो । यो कुरो कृष्ण ज्वालाले अहिलेको नयाँ पत्रिका दैनिक सुरु गर्नु भन्दा अगाडिको हो ।
तर यसरी हौसिने मेरो ग्रुपमा वास्तविक पत्रकारिताको पूर्ण ज्ञान भएको शुन्य जस्तै थियो । चार पाँच जना मध्ये एकजना रेडियोमा काम गर्ने साथी थियो । म प्लस टु पढ्दै गरेको । जब कि प्लसटुमा परकारीताको ABC पनि राम्रो सँग पढ्नु पर्दैन । संचार र आम संचारको सैद्धान्तिक बिषयको मात्र पढाई हुन्छ । बाँकी सबैजना अर्कै क्षेत्रको । कुरो चल्दै थियो । यस्तैमा १२ कक्षाको परिक्षा सकेपछि आफ्नै केही कारणले केही समय गाउँ तिरै बसियो । पत्रिकाको कुरा कुरोमै सकियो ।
१२ को रिजेल्ट आयो । पास भइयो । ११ मा लागेको मेजर अंग्रेजीको रिजेल्ट अझै पर्खिनु पर्ने भयो । वास्तवमा म अंग्रेजीमा स्कुल देखी नै कमजोर थिएँ । त्यो बेला आई ए (PCL) खारेज भएर प्लसटु अनिवार्य गरिएको थियो । ललितपुर कुमारी पाटीको ब्लुबर्ड कलेजमा हामी नै प्लसटुको पहिलो ब्याज थियौं । मानविकी संकायमा थोरै विध्यार्थी भए । त्यसैले सबैलाई आम संचार र मेजर अंग्रेजी अनिवार्य गराईयो । म त्यसैको फन्दामा परें भनौं ।
रिजेल्ट पछि स्नातकको लागि आरआर क्याम्पस भर्ना भइयो । तर त्यतिन्जेल सम्ममा पत्रकारिताको भूत लगभग सेलाइसकेको थियो । काठमन्डौंको बसाई । मध्यम बर्गिय परिवार । प्लसटु सम्म जसो तसो बुवा र कहिले दाइलाई मागेर चलाएँ । पछि त खर्च माग्न आँफैलाई लाज लाग्न थाल्यो । त्यसैले केही न केही काम त गर्नै पर्यो । साधारण पत्रकारिताले पेट पाल्न गाह्रो थियो । त्यसैले सहकारीमा जागिर सुरु गरेँ । पढाई पत्रकारिता जागिर सहकारीमा यस्तै त छ हाम्रो नेपालको शिक्षा । सबैको यस्तो नहुन सक्छ । जसो तसो स्नातक सकाए । पढाईसँग सम्बन्धित काम गर्न नसकेपछि थप के पढ्नु भनेर पढाईलाई यतिमै स्थगित गरियो ।
पारिवारिक जिम्मेवारी बढ्दै गएपछि सहकारीको जागिरले धान्न गाह्रो भयो । साथीहरु सँग मिलेर तरकारी खेती तिर लागियो । यसमा पनि अनेक दुःख झेलियो । १० रुपैयाँ किलोमा पनि गोलभेडा बिक्री गर्न नसकेपछि कालिमाटीको सडकमा खन्याउने काम पनि गरियो । समर्थन मूल्य तोक्न माग गर्दै कृषि मन्त्रालयमा डेलिकेसन गइयो । यसबाट पनि केही पार नलाग्ने देखेपछि परदेशीनुको विकल्प देखिएन मैले ।
गोकुल दाइसँग उक्त भेट पछि निरन्तर संपर्कमा रह्यो । नेपालमा उहाँसंगै फोटोग्राफी र भिडियोग्राफी सिकेको म अन्तै रुमलिए । मैले र उहँकै समकालिन साथीहरुले बाइक चढे तर उहँले DSLR क्यामेरा लिनु भयो । स्नातकोत्तर सकाउनु भयो । पत्रकारिताको तीन वटै विधाहरु रेडियो, पत्रिका र टेलिभिनजमा राम्रै अनुभव बटुल्नु भयो । मलाई सहकारीको जागिर र कृषि कर्मले पुगेन उहाँलाई पत्रकारिताले । त्यसैले फेरी झम्काभेट भयो परदेशी भूमिमा ।
उहाँ व्यावसायिक पत्रकारिता गरेर आउनु भएको मान्छे जहाँ पुगेपनि आफ्नो कला बिर्सने कुरा भएन । त्यसैले फोनिज कोरिया डट नेटमा नियमित लेखन सुरु गरिसक्नु भएको रहेछ । हरेक हप्ता उहाँको लेख प्रकाशित हुन्थ्यो । नछुटाई पढिन्थ्यो । मलाई पनि लु है अब लेख्नु पर्यो भन्नु हुन्थ्यो । तर मलाई सैद्धान्तिक ज्ञान भएपनि व्यवहारिक ज्ञान खासै थिएन । मैले यही गुनासो पोख्थे । “बानी परेपछि हुन्छ । कोसिस गर्नुपर्छ कोसिस गरेपछि नसकिने के छ र ?” उहाँ भन्नु हुन्थ्यो ।
उहाँकै हौसलामा लेख्न सुरु गरे । सुरुमा अग्रेजी समाचार पोर्टलहरुमा प्रकाशित कोरियाली समाचारहरुलाई आफ्नै तरिकाले लेख्न थाले । राम्रो छ भन्दै हौसला दिनुभयो । नमिलेको ठाउँमा मिलाइदिनु भयो । त्यसपछि विस्तारै आत्मविश्वास बढ्दै आयो । केही फिचर लेखन पनि कोसिस गरे । यसमा पनि उहाँको साथ र मार्गदर्शनले केही सफलता मिल्यो ।
उहाँकै सकृयातामा तामाङ पत्रकार संघको पहिलो र एकमात्र प्रवास शाखा दक्षिण कोरियामा स्थापना भयो । मित्रहरु अमिर योञ्जन, दुध लोप्चन, सुरेश थोकर लगायतसँग संगत गर्न पाइयो । उहाँहरु संगै सहकार्य गर्ने अवसर जुर्यो । फोनिज कोरियामा जोडियो । अनी मेरो अन्तरमनमा विलाइसकेको पत्रकारिताको कर्ममा फेरी जोडिने अवसर पाइयो ।
अहिले पनि म पत्रकारिताको विद्यार्थी हुँ पत्रकार हैन । परदेशमा बसेर काम गरेर बचेको केही समय आफ्नो अध्ययनको बिषयलाई व्यवहारिकतामा ढाल्ने जुन अवसर पाएको छु त्यो गोकुल दाइकै कारणले हो । यसमा उहाँप्रति हार्दिक आभारी छु । मैले अहिले लेखनमा जे जति सिकेको छ वा जानेको छु त्यो उहाँकै देन हो । त्यसैले उहाँ मेरा लागि व्यबहारिक परकारीताको गुरु हो । यद्यपि उहाँले जति सिकाउनु भएको छ त्यति गर्न सकिएको छैन ।
उहाँले प्रवासमा रहेर पनि मूलधारको मिडिया मार्फत यहाँ रहेका नेपालीहरुको वास्तविकतालाई उजागर गर्दै आउनु भएको छ । कोरियामा पत्रकारिताको केही थिति बसाल्ने कोसिस गर्नु भएको छ । पत्रकारिता यसरी गर्ने हो भनेर एउटा उदाहरण स्थापित गर्नु भएको छ जस्तो लाग्छ मलाई । यद्यपि उहाँको यो पदचापलाई कोरियामा रहेर पत्रकारितामा पनि लागिरहनु भएका म लगायत अन्य मित्रहरुले पछ्याउन सकिन्छ कि सकिदैन थाहा छैन ।
अहिले उहाँ करिब ७ बर्षको कोरिया बसाइलाई बिट मार्दै स्वदेशको बटो तय गर्दै हुनुहुन्छ । स्वदेश फिर्ती आँफैमा सुखद पक्ष हो । तर मलाई भने परदेशमा हुँदा आड र भरोसा दिने अभिभावक तथा मार्गदर्शकबाट टाढा हुनु पर्दा थोरै दुःख लागेको छ । हुन त अहिलेको दुनियाँ एक क्लिकमै छ । त्यसैले आगामी दिनहरुमा पनि यसरी नै उहाँको साथ र सहयोग पाउने अपेक्षा राखेको छु । उहाँको कोरिया देखी नेपालसम्मको यात्रा आरामदायी रहोस् शुभयात्रा । आगामी यात्राहरु अर्थपूर्ण र सार्थक रहोस् हार्दिक शुभकामना ।